काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ उच्च अधिकारीको निधन भएको छ । प्रसिद्ध पाथिभरा मन्दिर परिसरबाट उडेको एयर डाइनेस्टिकको एएस थ्री फाइव जिरो हेलिकोप्टर पाथिभरास्थित सिस्ने–खोला क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।
गृह मन्त्रालयका अनुसार बुधबार दिउँसो करिब १ बजेर ४० मिनेटमा पाथिभरा मन्दिरको पश्चिमतर्फ फुङलिङ नगरपालिका–१० मा पर्ने फुरुम्बु दरिढुंगा सिस्नेभिर क्षेत्रमा दुर्घटनामा परेको हो । खराव मौषमकाबीच उडान भरेको सो हेलिकोप्टर केही समयभित्रै पहाडमा ठोकिएर दुर्घटनामा परेको थियो ।
हेलिकोप्टरमा पर्यटनमन्त्री अधिकारीसहित यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्रीका अंगरक्षक अर्जुनकुमार घिमिरे र प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभया सवार थिए । उनीहरू सातै जनाको दुर्घटनास्थलमै मृत्यु भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।
सुकेटार विमानस्थल टावरले हेलिकोप्टर पौने १ बजेसम्म सम्पर्कमा रहेको जनाएको छ । त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार क्याप्टेन प्रभाकर केसीले सुकेटार टावरलाई पौने १२ बजे आफू पाथीभरा क्षेत्रमा रहेको जानकारी गराएका थिए । त्यसको १ घण्टापछि क्याप्टेन केसीले सुकेटार टावरलाई आफू रहेको क्षेत्रमा ‘हेभ्भी स्नोफल’ भएको बताएका थिए । प्रवक्ता तिवारीले सुकेटार टावरको भनाइ उद्धृत गर्दै भने, ‘यता मौसम खराब छ । हेभ्भी स्नोफल भइरहेको छ । म उड्न सक्दिनँ ।’
गृह मन्त्रालयका अनुसार हेलिकोप्टर दुर्घटना खराब मौसमका कारण भएको हो । मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भने, ‘खराब मौसमका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’ मन्त्री अधिकारी बिहीबार जर्मनी जाने तयारीमा थिए ।
१२ वर्षअघि ताप्लेजुङमा भएको अर्को हेलिकोप्टर दुर्घटनाको कारण पनि खराब मौसम नै थियो । सदरमुकाम फुङलिङबाट अढाइ दिनको पैदल दूरीमा टाढाको घुन्सा दुर्घटनाबारे छानबिन गर्न पुरावेदन अदालत पाटनका तात्कालीन मुख्य न्यायाधीश जनकेशरीराज पण्डितको संयोजकत्वमा गठित सात सदस्यीय कार्यदलले मौसमी खराबले हेलिकोप्टर दुर्घटना भएको निष्कर्ष निकालेको थियो ।
सो दुर्घटनामा तत्कालीन वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राईसहित २४ जनाको ज्यान गएको थियो । मृतकमध्ये १६ जना नेपाली र आठजना विदेशी नागरिक थिए । हेलिकोप्टरमा मन्त्री राईकी श्रीमती मीना राई, भूगोलविद डा. हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान मास्के, वन तथा भूसंरक्षण मन्त्रालयका सचिव डा. दामोदरप्रसाद पराजुली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेल सवार थिए ।
प्रतिक्रिया