देउवाको अधिनायकवादी यात्रा

सत्ता निरंकुश बन्नु अर्थात् सत्ताको दुरूपयोग बढ्नुमा सरकार मात्रै दोषी हुँदैन । प्रमुख प्रतिपक्षको खवरदारी नपुगेको पनि हुन सक्छ । नेपाली कांग्रेसले कुन कुन मुद्दामा सरकारलाई खबरदारी गरेन ? सरकारलाई खवरदारी गर्ने संयन्त्र निर्माणमा नेपाली कांग्रेस किन चुक्यो ? एक वर्षको यो अवधिमा नेपाली कांग्रेस किन आन्तरिक विवादमा मात्रै अल्झियो ? भन्ने प्रश्न नागरिक समाज तथा मिडियाहरूद्वारा खासै उठेको देखिएन 

सरकारको एक वर्षे कार्यकालको मूल्यांकन गर्दै नेपाली कांग्रेसले लामो प्रेस विज्ञप्ति सार्वजनिक ग¥यो । विज्ञप्तिमा सरकारले गरेका कमी कमजोरीहरूलाई सूक्ष्म रूपमा औंल्याइएको छ । सरकारका गल्ती कमी कमजोरीलाई सूक्ष्म रूपले औंल्याउँदै जनता समक्ष ल्याउनु प्रमुख प्रतिपक्षीदलको संवैधानिक दायित्व समेत हो । प्रमुख प्रतिपक्षीदलका नेता , सचेतक तथा सांसदहरूलाई राज्यकोषबाट सुविधा उपलब्ध गराइनुको मुख्य कारण भनेकै सरकारका कमीकमजोरी औंल्याउनका लागि हो ।

सरकारका कमीकमजोरी औंल्याएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्नो धर्म निर्वाह गरेको छ । तर, सरकारका कमीकमजोरीबारे प्रमुख प्रतिपक्षी तथा अन्य प्रतिपक्षीहरूले मात्रै बोलेका छैनन् । मिडिया तथा नागरिक समाजले पनि कमीकमजोरी औंल्याउँदै सरकारलाई खबरदारी गरिरहेका छन् । संसदीय व्यवस्थामा प्रमुख प्रतिपक्षलाई छायाँ सरकार पनि भनिन्छ ।

छाँया सरकारका रूपमा यो एक वर्ष नेपाली कांग्रेसले कसरी बितायो ? अर्थात् नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका के कसरी निर्वाह ग¥यो ? भन्ने मूल्यांकन तथा विश्लेषण पनि हुनु जरुरी छ । सत्ता निरंकुश बन्नु अर्थात् सत्ताको दुरूपयोग बढ्नुमा सरकार मात्रै दोषी हुँदैन । प्रमुख प्रतिपक्षको खवरदारी नपुगेको पनि हुनसक्छ । नेपाली कांग्रेसले कुन कुन मुद्दामा सरकारलाई खवरदारी गरेन ? सरकारलाई खवरदारी गर्ने संयन्त्र निर्माणमा नेपाली कांग्रेस किन चुक्यो ? एक वर्षको यो अवधिमा नेपाली कांग्रेस किन आन्तरिक बिवादमा मात्रै अल्झियो ? भन्ने प्रश्न नागरिक समाज तथा मिडियाहरूद्वारा खासै उठेको देखिएन ।

जसरी संसद्मा सत्तापक्ष र प्रतिपक्ष हुन्छ, आन्तरिक लोकतन्त्रको अभ्यासका क्रममा राजनीतिक पार्टी भित्र पनि सत्ता र प्रतिपक्ष हुन्छ । चुनाव जित्ने पक्षले पार्टीको नेतृत्व संहाल्छ पराजित हुने पक्षले नेतृत्वलाई गलत दिशामा जान नदिन खवरदारी गरिरहन्छ । तर नेपाली कांग्रेस भित्र पनि पराजित पक्षले नेतृत्वलाई गलत दिशामा जान नदिन खवरदारी गरेको देखिएन । उदाहरणका लागि पार्टीको महाधिवेशन भएको तीन वर्ष नाघिसक्यो तर सभापति शेरबहादुर देउवाले पार्टीका विभागहरू गठन र केन्द्रीय समितिलाई पूर्णता दिन सकेका छैनन् ।

वडा, पालिका , निर्वाचन क्षेत्र , जिल्ला र प्रदेशमा संगठन निर्माण गर्न सकेका छैनन् । भातृ संगठनहरू मृत प्रायः छन् । एउटा शसक्त र पार्टीको आधार स्तम्भको रूपमा रहेको ने.वि.संघ पनि अध्यक्षको राजिनामा पछि निस्कृय बनेको छ । चोक चोकमा चिया गफ बाहेक कुनै प्रभावकारी कार्यक्रम हुन सकेको छैन । देउवाले संसदीयदलको नेता निर्वाचित भएको पाँच मिनेटमै विजय गच्छदारलाई उपनेता मनोनित गरेर सकारात्मक सन्देश दिए तर संसदीयदलको कार्य समिति गठन गर्न थप १० महिना लगाए । अहिलेसम्म छायाँ सरकार गठन गर्न सकेका छैनन् ।

संसदीय व्यवस्थाका अधिकांश समय सत्तामा रहेको नेपाली कांग्रेसले ०५१, २०५४, ०६५, ०६८ र ०७२ सालमा गरी ५ पटक प्रमुख प्रतिपक्षको भूमीका निर्वाह गरेको छ । यी पाँचै पटक नेपाली कांग्रेसले आफू एक ढिक्का भई सत्तालाई थरथरी कपाँएर प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गरेको थियो । प्रतिपक्षको भूमिकालाई लिएर सर्वसाधारण जनताले नेपाली कांग्रेस प्रति सहानुभूति दर्शाएका थिए । तर, यसपटक जनताले नेपाली कांग्रेसलाई खुच्चिङ भन्न थालेका छन् ।

ओली सरकार यो हदसम्म असफल हुँदा तथा सत्तारुढ पार्टीको एकीकरण भ्यागुताको धार्नीजस्तो भइरहेको बेला जनताले बैकल्पिक शक्तिका रूपमा नेपाली कांग्रेसको खोजी गर्नुपर्ने थियो । नेपाली कांग्रेसलाई चुनाव हराएकोमा जनताले पछुताउनुपर्ने थियो । जनताले न नेपाली कांग्रेसको खोजी गरिरहेको देखिन्छ, न पछुताई रहेको देखिन्छ । सरकार त निकम्मा भयो भयो, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस झन् निकम्मा भयो, भन्ने जनबोली सुनिएको छ ।

सत्तारुढ पार्टीको लोकप्रयिताको पारो जुन रफ्तारमा घट्दै जान्छ, प्रमुख प्रतिपक्षको लोकप्रियताको पारो त्यही रफ्तारमा बढ्दै जानु संसदीय लोकतन्त्रको नियम नै हो भनेर राजनीतिक शास्त्रीहरूले परिभाषा गरेका छन् । नेपालमा यतिवेला सत्तारुढ पार्टी र प्रमुख प्रतिपक्षी पार्टीको लोकप्रियताको पारो एउटै रफ्तारमा घट्दै गइरहेको छ । राजनीतिक व्यवस्थाकै लागि अत्यन्त खतरनाक संकेत हो यो । तर, सभापति देउवाको कमीकमजोरी औंल्याउने र उनका गलत कदमलाई खबरदारी गर्नेहरू नेपाली कांग्रेसमा निकै कमजोर देखिए । केही दिन अघि वीरगञ्जमा पार्टीको एक कार्यक्रममा केन्द्रिय सदस्य डा. शेखर कोइरालाले सभापति देउवाको कमी कमजोरीको विषयमा बोले । डा. शेखर कोइरालाले यथार्थ कुरा बोलेकै हुन् ।

अझ बढी यस विषयमा प्रभावकारी ढंगबाट प्रस्तुत हुनै पर्छ । जनता र कार्यकर्ताले त्यही खोजेका छन् । त्यसको दुई दिन पछि पार्टी सभापति देउवाले वीरगञ्जकै एक सार्वजनिक कार्यक्रममा केन्द्रीय सदस्य डा. शेखर कोइरालालाई ‘बढी नबोल्न’ चेतावनी दिए । सभापति देउवा डा. कोइराला विरुद्ध निकै भद्दा रूपमा प्रस्तुत भएको अनुभव कार्यकर्ताहरूले गरे । नेपाली कांग्रेसभित्र अधिनायकबाद हावी भएको आरोप डा. कोइरालाले लगाएका थिए, सभापति देउवाले त्यसको पुष्टि नै गरिदिए ।

घटनाक्रमले नै देखाइसकेको छ कि, नेपाली कांग्रेसको विद्यमान नेतृत्व सर्वत्र आलोचित छ । यो नेतृत्वप्रति नेपाली जनताको आशा मरेको प्रमाणित भइसकेको छ । कार्यकर्ता निराश छन् । निराश कार्यकर्ता बोकेर अधिनायकबादी नेतृत्वले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न सक्दैन ।

नेपाली कांग्रेस आजसम्म बाँचेको भनेको गौरवशाली इतिहासले हो । देउवालाई अपवादमा छाडेर नेपाली कांग्रेसका अहिलेसम्मका सबै सभापतिहरूले मुलुकका लागि गौरवशाली योगदान दिएका छन् । उदाहरणका लागि बिपी कोइरालाले कांग्रेसको जन्म दिए, सिद्धान्त दिए २००७ सालको जनक्रान्ति मार्फत मुलुकमा प्रजातन्त्र ल्याए । सुवर्णशमशेर राणाले प्रथम आमनिर्वाचन गराए, नेपाली कांग्रेसलाई समाजवादी बाटोमा लगे ।

कृष्णप्रसाद भट्टराईको नेतृत्वमा पञ्चायत ढल्यो । नेपाल अधिराज्यको संविधान ०४७ निर्माण भयो । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा मुलुकमा गणतन्त्र स्थापना भयो । सुशील कोइरालाको नेतृत्वमा संघीय लोकतान्त्रिक नेपालको संविधान निर्माण सम्पन्न भयो । सके देउवाले आफ्ना अग्रज सभापतिहरूको पादचिन्हमा हिँड्न सक्नुपर्छ, हिँड्न नसके पनि उनीहरूको सम्मान गर्नुपर्छ । जसले कांग्रेसको गौरव बढाएको छ, जनअधिकार बहालीका लागि इमान्दारी पूर्वक खटेर सफलता हासिल गरेको छ उनीहरू विरुद्ध खनिनु देउवाको ठूलो कमजोरी हो ।

नेपाली कांग्रेसको अधोगतिको रफ्तार अझै बढ्ने संकेत हो यो । देउवाले कोइराला परिवारविरुद्ध जसरी अभिव्यक्ति दिए त्यसले नेपाली कांग्रेसलाई अझै ठूलो क्षति पु¥याउने निश्चित जस्तै छ । नामै किटेर जथाभावी पू्र्खा र पुस्ता लाई लकार्दै कारबाही गर्छु भन्ने हैसियतचाहिँ नेपाली कांग्रेस को कुन विधान र जिम्मेवारीले प्रदान गरेको छ ? कार्यकर्ताहरूले प्रश्न गर्न थालेका छन् ।

मलुक अधिनायकवादी यात्रामा प्रवेश गर्दै गर्दा खबरदारी गर्ने शक्ति भनेको नेपाली कांग्रेस मात्रै हो । अरू शक्तिलाई पहिलो कुरा त जनताले विश्वास गर्दैनन्, दोस्रो कुरा उनीहरूको सामथ्र्य तथा संगठन पनि छैन । नेपाली कांग्रेससँग राणा शासन फालेको, पञ्चायती शासनलाई घँुडा टेकाएको र राजतन्त्रलाई विस्थापित गरेको गौरवशाली इतिहास पनि छ ।

सामथ्र्यशाली संगठन पनि छ । तर, यतिवेला नेपाली कांग्रेस मुलुकले तय गर्दै गरेको कम्युनिस्ट अधिनायकवादको यात्रालाई टुलुटुलु हेरेर बसिरहेको छ । यही मौकामा पार्टीलाई सधैँका लागि कब्जा गर्ने रणनीतिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छन् कि ? भन्ने आशंका कांग्रेस कार्यकर्ता पंक्तिमा सुरु भएको छ ।

कम्युनिस्ट अधिनायकवादविरुद्ध लड्नुपर्ने वर्तमान अवस्थामा आफ्नै पार्टी देउवाको अधिनयाकवादको सिकार हुन लागेको महसुस कार्यकर्ताहरूले गर्न थालेका छन् । आफूले चाहँदा महासमितिको बैठकले गरेको निर्णयसमेत उल्ट्याउन सभापति देउवाले सक्दा रहेछन् भन्ने कुरा गत आइतवार प्रमाणित भएको छ । मसी सुक्न नपाउँदै महासमितिको निर्णय उल्ट्याउन सक्ने सामाथ्र्य बोकेका देउवाले नियतवस् नै पार्टीलाई संगठन विहीन तथा भ्रातृसंस्थाहरूलाई निकम्मा बनाएका हुन् भन्ने आशंका प्रमाणित हुँदै गएको छ ।

प्रतिक्रिया