अर्थमन्त्रीले पुनः झुठो तथ्यांक दिएर आफ्नो पालामा नेपाली अर्थतन्त्र राम्रो भएको देखाउन खोजेका छन् । बेलायत भ्रमणमा रहेका अर्थमन्त्री खतिवडाले भनेका छन्, ‘अहिले ७ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि हासिल भइरहेको छ । इतिहासमा पहिलोपटक त्यति आर्थिक वृद्धि हासिल भएको हो ।’ तर, विश्व बैंकको तथ्यांकले अर्थमन्त्रीका दाबीहरू झुठा सावित हुन्छन् ।
विश्व बैंकको तथ्यांकअनुसार सन् २०१७ मा अर्थात् गत आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धि भए पनि योभन्दा अगाडि पञ्चायत कालमा पनि विभिन्न समयमा ७ प्रतिशतभन्दा वढी दरले आर्थिक वृद्धि भएको देखिन्छ । सन् १९६४ मा ७ दशमलव ५ प्रतिशत, सन् १९६६ मा ७ प्रतिशत, सन् १९८१ मा ८ दशमलव ३ प्रतिशत, सन् १९८४ मा ९ दशमलव ६ प्रतिशत, सन् १९८८ मा ७ दशमलव ६ प्रतिशत आर्थिक वृद्धि भएको विश्व वैंकको तथ्यांकले देखाउँछ ।
तसर्थ, सन् २०१७ मा भएको ७ प्रतिशतको आर्थिक वृद्धिदर नेपालको इतिहासमा पहिलोपटक त्यति ठूलो परिमाणमा भएको होइन । अर्थमन्त्रीले देश र जनतालाई झुठो तथ्यांकको सहाराले यसपटक पनि झुक्याउन खोजेका छन् ।
दोस्रो कुरा, सन् २०१७ मा ७ प्रतिशतले आर्थिक वृद्धि भए पनि यो भनेको देउवा प्रचण्ड गठबन्धन सरकारको वेलामा भएको हो । अहिले ओली सरकारको वेलामा अर्थात् सन् २०१८ को आर्थिक वृद्धिदर करिब ६ प्रतिशत हुने अनुमान एसियाली विकास बैंकले गरेको छ । अर्को वर्ष ५ दशमलव ५ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने अनुमान एसियाली विकास बैंकले गरेको छ ।
अर्थमन्त्रीले आर्थिक वृद्धिदर ६ वा ७ प्रतिशत हुने कुरालाई नै खतिवडा कार्यकालमा नेपाली अर्थतन्त्र राम्रो भएको भनेर बेलायतमा भाषण गरेका छन् । के आर्थिक वृद्धि दरले मात्रै कुनै पनि देशको अर्थतन्त्र राम्रो वा नराम्रो भनेर निष्कर्ष निकाल्न सकिन्छ ? अर्थशास्त्रका सामान्य
विद्यार्थीलाई पनि थाहा भएको कुरा हो कि आर्थिक वृद्धिदरले मात्रै अर्थतन्त्र कस्तो छ भनेर निष्कर्ष निकाल्न सकिन्न । किनभने, अमेरिकाको आर्थिक वृद्धिदर कहिले २ प्रतिशत, कहिले ४ प्रतिशत भइरहेको छ । तर पनि अमेरिकाको अर्थतन्त्र नेपालको भन्दा धेरै राम्रो छ । अर्थमन्त्रीलाई यति जाबो कुरा पनि थाहा नभएको हो र ? अर्थमन्त्रीले डाइरेक्ट गरेको के काम लाग्यो ? के जनता झुक्याउने मात्र हो ?
अहिलेको गणतन्त्रभन्दा पञ्चायत कालमा अझ बढी आर्थिक वृद्धिदर रहेको विश्व बैंकको तथ्यांकले नै देखाएको छ । अहिले ६ वा ७ प्रतिशत आर्थिक वृद्धि भएकोमा पञ्चायत कालको सन् १९८४ मा ९ दशमलव ६ प्रतिशत आर्थिक वृद्धि भएको देखाएको छ । तर, के त्यसो भन्दैमा फासिस्ट पञ्चायती मण्डले राजतन्त्र नै अहिलेको गणतन्त्रभन्दा राम्रो भन्ने निष्कर्ष निकाल्ने हुन्छ ? आर्थिक वृद्धिदरलाई मात्रै देखाएर अर्थतन्त्रका अरू सूचकहरूबारे विश्लेषण नगर्नु गैरमाक्र्सवादी तरिका हो । यो तरिका भनेको दलाल पुँजीवादी अर्थशास्त्रको तरिका मात्रै हो ।
खतिवडा कार्यकालमा शोधनान्तर स्थिति, व्यापार घाटा, वैदेशिक लगानी, डलर सञ्चिति, रोजगारी स्थिति आदि सबै सूचक गम्भीर स्थितिमा रहेको स्वयं सरकारी तथ्यांकले देखाएको छ । सरकारी ढुकुटी देउवाकालभन्दा पनि रित्तो हुँदै गएको छ । विकास खर्च ६ महिनामा २२ प्रतिशत पनि गर्न सकेको छैन । रवीन्द्र श्रेष्ठको फेसबुकबाट उनी पूर्वमन्त्री हुन् ।
प्रतिक्रिया