पशुपति शर्माको गीत र सरकारको असफलता

एउटा कलाकारले आफ्नो सिर्जना फिर्ता लिने अवस्था आउनु भनेको दुर्भाग्यपूर्ण कुरा हो । यसले लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भएको छ । वाक् तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित तुल्याएको छ । सरकार, राजनीतिक दलका नेता र सार्वजनिक पदाधिकारीको व्यंग्यात्मक आलोचना गर्न लोकतन्त्रमा पाइन्छ ।

सरकारले आफनो एक वर्षे कार्यकाल पूरा गरेको छ । सरकारको पूरा कार्यकाल पाँच वर्षको हो । अबको चारवर्षे कार्यकालमा सरकारले मुलुकमा विकास, समृद्धि र सुशासन कायमगर्न सक्छ कि सक्दैन भन्ने प्रश्न यति वेला उठ्ने गरेका छन् । सरकारको कार्यशैलीबाट सत्तारुढ दलकै नेताहरू असन्तुष्ट देखिँदै आएका छन् ।

जनतासँग गरेका बाचा र नारा अहिलेसम्म पूरा गर्न सकेको अवस्था देखिँदैन । सुख, समृद्धि र सुशासनको कुनै सुरसार नै देखिदैन । विकास र समृद्धि एक्लै सम्भव छैन । विकास र समृद्धिका लागि विभिन्न दलहरूबीच सहमति र सहकार्य गर्नु पर्ने जरुरी देखिन्छ । भुकम्पका कारण अझैसम्म मुलुक जर्जर छ । पुनर्निर्माणका काम अझै पूरा हुन सकेका छैनन् । भ्रष्टाचारले मुलुक आक्रान्त छ ।

स्थानीयतह पुरै लगाम विनाका घोडा बनेका छन् । विकास रकम अराजक ढंगले मास्ने काम भइरहेको छ । जनतालाई कर बढाएर सास्ती भएको छ । प्रधानमन्त्रीले म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्दै भाषण गदै हिँडिरहनुभएको छ । तर, एक वर्षमा भ्रष्टाचारका काण्ड छताछुल्ल भएका छन् । वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचार लुकाउने काम गरियो । कारबाही गर्न सुझाव दिएको संसदीय प्रतिवेदनलाई लत्याएर संसदको विशेषाधिकार खोसीयो । यो सरकारबाट अब अरू के आश गर्ने ? ३३ किलो सुन काण्डको आजसम्म अत्तो पत्तो छैन । ठूला भ्रष्टचारीहरू कारबाहीमा परेको देखिदैन । देशमा भ्रष्टाचारका कारण मुलुक कमजोर र जर्जर छ । तस्कर कालो बजारीयाहरू हावी भएका छन् । कृत्रिम महंगी चर्काएर सर्वसाधारणलाई बाँच्न नसक्ने अवस्थामा पु¥याइएको छ ।

संघीयताको मर्म र भावनाविपरीत स्रोत, साधन र शक्ति केन्द्रिकृत र भ्रष्टाचार गाउँसम्म विकेन्द्रित भएको छ । यतिवेला आम जनता करको भारले थिचिएका छन् । सरकारका गलत काम र कार्यशैलीबारे बोल्न र लेख्नसमेत विचार गर्नुपर्ने अवस्था सिर्जना भएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको घाँटी निमोठ्ने काम हुन थालेको छ । लोकतन्त्रको मूल्य, मान्यता र मर्म विपरित काम हुन थालेको भान भइरहेको छ । आमजनता खानेपानीको संकट भोग्न बाध्य छन् । काठमाडौंमा खानेपानी सहज रूपमा उपलब्ध हुन सकेको छैन । तरकारी किसानहरूले आफनो उत्पादनको न्यायोचित मूल्य नपाएर तरकारी नष्ट गरेको समाचार आइरहेको छ । उखु किसानको त्यस्तै अवस्था छ । उनिहरू पनि न्यायोचित मूल्य नपाएर समस्यामा परेका छन् ।

हत्या, बलात्कार, अपराध र लुटको शृंखला बढदो छ । जसले गर्दा आमनागरिक निराश छन् । सरकारको भ्रष्ट कार्यशैलीले मुलुक थप संकटमा फस्दै छ । मधेसका समस्या अहिलेसम्म सरकारले पूरा गर्न सकेको छैन । मधेस केन्द्रित दलको समर्थनमा बनेको वर्तमान सरकारले अहिलेसम्म उनिहरूका माग सम्बोधन गरेको छैन । सरकारले आफना माग सम्बोधन नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने धम्की राजपा नेपालले दिँदै आएको छ । सम्झौता गरे पछि त्यसको कार्यान्वयन गर्नुपर्छ । अहिलेसम्म त्यो देखिएन । डा. गोविन्द केसीसँग गरिएका सम्झौता पनि सरकारले कार्यान्वयन गरेन ।

लोकतन्त्रमा जनताका आवाज सुन्ने बानी सरकारले बसाल्नुपर्छ । एउटा कलाकारको गीतबाट सरकार तर्सिएको समेत देखियो । गायक पशुपति शर्माको ‘लुट्न सके लुट् कान्छा’ बोलको गीत यतिवेला झन् चर्चामा छ । युवासंघको धम्कीपछि गायक पशुपति शर्माले आफ्नो गीत युट्युबबाट हटाए । त्यसपछि यो गीतले थप चर्चा पायो । एउटा कलाकारले आफनो सिर्जना फिर्ता लिने अवस्था आउनु भनेको दुर्भाग्यपूर्ण कुरा हो । यसले लोकतान्त्रिक गणतन्त्र माथि प्रहार भएको छ । वाक् तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित तुल्याएको छ । सरकार, राजनीतिक दलका नेता र सार्वजनिक पदाधिकारीको व्यंग्यात्मक आलोचना गर्न लोकतन्त्रमा पाईन्छ ।

यो सर्जकको अधिकार हो । कलाकारको धर्म नै विकृति, विसंगति, र भ्रष्टाचारविरुद्ध कलामार्फत व्यंग्य गर्नु हो । यसले जनतामा चेतना जगाउछ । शर्माले पनि मुलुकमा मौलाएको भ्रष्टाचार विरुद्ध गीत गाउँदै आएका हुन् । के गल्ति गरे शर्माले भ्रष्टाचारविरुद्ध आवाज उठाउँदा ? यो घटनाले गायक शर्मा माथि मात्र होइन, आम कलाकारमाथि प्रहार भएको छ । सरकारले आम नागरिकलाई संवैधानिकहकको प्रत्याभूति दिलाउनुपर्छ । संसद्मा समेत यो गीतको बहस भयो ।

सत्य र यथार्थ कसैले रोकेर रोकिन्न, छेकेर छेकिन्न । देश, विदेशमा समेत शर्माको गीतले गुञ्जिएको छ । यतिवेला गीतको पक्ष र विपक्षमा बहस भइरहेको छ । यसले शर्मालाई ठूलो सफलता मिलेको छ । जनताले महसुस गरेका विषयलाई गीतको माध्यमबाट व्यक्त गर्नु गायकको धर्म हो । यसलाई विवादको विषय बनाइनु राम्रो होइन । गरिब देशको राष्टपतिलाई अनावश्यक डेढ अर्बको हेलिकप्टर किनेर राज्यकोष दुरूपयोग गरेकोलगायत भ्रष्टाचार जस्ता विसंगतिलाई गीत मार्फत उजागर गरिएको छ । जुन कुरा आम नागरिकले अनुभूत गरेकै विषयवस्तु हुन् । कलाकार, गायक, लेखक, र पत्रकार समाजका ऐना हुन् । सरकारले बाटो बिराउँदा बाटो देखाइदिने भनेका नै यिनै हुन् । यो मुलुकमा जुनसुकै परिवर्तन भएका छन्, त्यसमा यिनीहरूको महत्वपूर्ण भूमिका रहँदै आएको छ । त्यसैले सरकार यो बारेमा गम्भीर बन्न जरुरी छ ।

सानातिना कुरामा समय खर्च गरेर सरकार बस्नु उचित कुरा होइन, देशका अगाडि महत्वपूर्ण कार्यभार पूरा गर्ने दायित्व सरकारमाथि छ । त्यो दिशातर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्छ । जनताले सरकारबाट धेरै कुराको अपेक्षा गरेर बसेका छन् । सरकारले जनताको अपेक्षा पूरा गर्न नसकेको यथार्थ हाम्रो सामु घामजस्तै छर्लंग छ । देशमा व्याप्त वेथिति र विसंगतिको भण्डाफोर गर्नु जनताको अधिकार हो । सरकारले सामाजिक सञ्जालसम्मलाई प्रतिबन्ध लगाउने कुरा बाहिर आएको छ, यो साँचो होकि हल्ला मात्र हो, त्यो भने बुझ्न सकिएको छैन । लोकतन्त्रमा जनताको स्वतन्त्रतालाई कुण्ठित गर्ने काम कुनै अर्थमा राम्रो मानिदैन ।

सरकारले राम्रा राम्रा योजना र कार्यक्रम ल्याएको छ , ति योजना र कार्यक्रम कार्यान्वयन गर्ने बाटो तर्फ सरकार अघि बढनुपर्छ । देशमा भएका विकृति विसंति हटाउने काममा सरकारको ध्यान जानुपर्छ । संसारभर लोकतन्त्रका सफलता र असफलतामाथि विमर्श भइरहेका छन् । राजनीतिक विचारको गति रोकिनु हुँदैन । समाजको गतिलाई राजनीतिले समाउदै अघि बढ्नुपर्छ । आमनागरिकका सपनाहरूको सन्तुलित ब्यवस्थापन सरकारले गर्नु पर्छ । विगत १० वर्षदेखि हामीले लोकतन्त्रलाई कस्तो बनाउदै छौँ । लोकतन्त्र भनेको सुन्दर पक्ष हो । लोकतन्त्रमा सवै कुराको रक्षा र संरक्षण हुनुपर्छ ।

कलाकारले गीत गाउन पाउनुपर्छ, लेखकले लेख्न पाउनुपर्छ, पत्रकारले सत्य, तथ्य र निष्पक्ष समाचार लेख्न पाउनुपर्छ । यो नै लोकतन्त्रको मर्म हो । जनताले आफना कुरा निर्धक्क रूपमा राख्न पाउनुपर्छ । सरकार अनाववश्यक कुरामा अल्झेर विवादमा आउनु उचित हँुदैन । देशमा गरीवीको अन्त्य हुन सकेको छैन । बेरोजगारी समस्या झन् बढ्दै छ । जनताका आवश्यकता झन् बढ्दै छन् । देशमा कुनै अवसर नपाएर युवाहरू विदेश पलायन छन् । गरिबका छोराछोरीले राम्रो शिक्षा पाउन सकिरहेका छैनन् । यस्ता समस्याका बारेमा जनताका कलाकार, लेखक, पत्रकारहरूले बोल्न, लेख्न, गाउन निर्धक्क रूपमा पाउनुपर्छ ।

प्रतिक्रिया