वार्षिक साढे ५ लाख राहदानी वितरण

काठमाडौं । पछिल्लो तथ्यांकमा वैदेशिक रोजगारमा जानेको संख्यामा कमी आएको छ । विदेश जाँदा बनाउने पासपोर्ट अर्थात् राहदानी बनाउनेको संख्या पनि कमी आएको देखिएको छ ।

वैदेशिक रोजगारीमा जाने, विदेशमा पढ्न जाने र घुम्न तथा कार्यालयको कामका सिलसिलामा बाहिर जाने राहदानी बनाउने गरेका छन् । परराष्ट्र मन्त्रालय राहदानी विभागका अनुसार पछिल्लो तीन वर्षमा सरदर वार्षिक साढे पाँच लाखले राहदानी लैजाने गरेका छन् । विभागले सन् २०१६ मा ६ लाख ९९ हजार ६ सय २० जना नागरिकलाई राहदानी जारी गरेको छ । त्यस्तै, सन् २०१७ मा यो सख्यामा उल्लेख्य कमि आएको छ । सो वर्ष ५ लाख १९ हजार ४ सय १२ जना र २०१८ मा ५ लाख ३१ हजार ५ सय ४३ जना नेपालीलाई राहदानी जारी गरेको विभागको तथ्यांकमा उल्लेख छ ।

राहदानी लिने अधिकांश वैदेशिक रोजगारीमा जाने गरेको पाइएको छ । त्यसमा पनि खाडी मुलुक जानेको सख्या अत्याधिक रहेको छ । मलेसिया, कतार, युएई, कुवेत लगायतका मुलुकमा नेपालीको सख्या उच्च रहेको छ । त्यसपछि उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थी धेरै रहेको विभागले जनाएको छ । नेपाली विद्यार्थीहरुको पछिल्लो समयको रोजाई अष्टे«लिया रहने गरेको छ । त्यसपछि अमेरिका, बेलायत, क्यानडालगायत युरोपेली मुलुक पर्ने गरेका छन् ।

राहदानी लिनेमध्ये ४० हजार वैदेशिक रोजगारीको खोजीमा जाने गर्दछन् । उनीहरुले संस्थागत र व्यक्तिगत श्रम स्वीकृति लिएर विदेश जाने गरेको पाइएको छ । त्यस्तै ३ हजारभन्दा बढी उच्च शिक्षा अध्ययनका लागि नो अब्जेक्सन लेटर लिन जाने गरेको शिक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन शाखाले जनाएको छ । राहदानी विभागका अनुसार पछिल्लो ९ वर्षको अवधिमा ५७ लाख ४० हजार ९ सय ७१ नेपालीले एमआरपी लिएका छन् । जसमा पुरुषको संख्या ४६ लाख ३३ हजार ९ सय ६५ र ११ लाख ६९ हजार ८० जना महिला रहेका छन् ।

सरकारले सन् २०१० डिसेम्बरदेखि हस्तलिखित राहदानीका ठाउँमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गदै आएको छ । २०७३ साल जेठ महिनादेखि द्रुतसेवामार्फत विवरण गरिन थालिएको राहदानीको राजस्व दस्तुर भने फरकफरक छ । एकै दिनमा राहदानी लिन चाहनेले १५ हजार रुपैयाँ दस्तुर बुझाउनुपर्छ भने, २ दिनमा राहदानी निकाल्न १२ हजार रुपैयाँ तिरे पुग्छ । त्यस्तै १० हजार रुपैयाँ तिरेपछि ३ दिनमा राहदानी निकाल्न सकिने विभागले जनाएको छ ।

विभागका अनुसार ५ देखि १५ दिनमा जिल्लाबाट पनि सेवाग्राहीले राहदानी प्राप्त गर्न सक्नेछन् । जिल्लाबाट फाराम प्राप्त भएपछि २४ घन्टाभित्रै विभागले राहदानी बनाउने गरेको छ । यसअघि विभागले १० हजार रुपैयाँ दस्तुर लिएर एक सातामा राहदानी वितरण गर्दै आएको थियो । सरकारले पछिल्लो समय विदेशमा रहेका कुटनीतिक नियोगबाट विवतरण संकलन गरी राहदानी वितरण गर्दै आएको छ । विशेषतः वैदेशिक रोजगारीमा रहेका नेपालीको राहदानी नवीकरणका लागि कूटनीतिक नियोगमा विवरण संकलन गरी राहदानी वितरण गर्दै आएको विभागले जनाएको छ ।

एमआरपी वितरण थालिएपछि हराएको दाबी गर्दै राहदानी लिन आउनेको संख्या पनि बढेको छ । अहिलेसम्म २ लाख ८० हजार व्यक्तिले राहदानी हराएको भन्दै दिएको निवेदनका आधारमा नयाँ राहदानी बितरण गरिएको छ । यस्तै विदेशको कूटनीतिक नियोगमार्फत वार्षिक २ लाख राहदानी जारी गर्न गरेको विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया