लप्सीबाट उद्यमी बन्दै महिला

काठमाडौं । करिब सात वर्ष अघि २५ जना महिलाको समूह बनाएर स्थापना गरिएको गोदावरी नगरपालिका–७ देवीचौर, ललितपुरमा सारंगी डाँडाको महिला कृषि सहकारी संस्थामा  अहिले २ सय १५ जना महिला आबद्ध छन् । सहकारीले स्थापना कालमा तरकारीको बिउ विजनसम्बन्धी काम गर्दै गएकोमा ०७२ सालमा महाभूकम्प आएपछि सहकारी थला परेको सञ्चालकहरू बताउँछन् । यसबाट हुँदै आएका काम रोकिने अबस्थामा पुगे । सहकारीले के गर्ने भनेर सञ्चालकबीच अलमलको अवस्था आएको थियो । उही अन्योलताका बीच सहकारीसँग स्वच्छ व्यवसायी समूह नेपाल (एफटिजिएन) को भेट भयो । त्यस भेटपछि समूहले अन्योलतामा परेका महिलाहरूलाई लप्सीका परिकार बनाउने पद्धतिका विषयमा आधारभूत र पुनर्ताजगी तालिम दियो ।

तालिम सकिएपछि केही थान मेसिन दिएपछि सहकारीलाई खुट्टा टेक्न सजिलो भयो । ‘लप्सी व्यवसाय कसरी अगाडि बढाउने भन्नेमा हामीलाई अन्योलता थियो,’ सहकारीकी अध्यक्ष गीता तिमिल्सिनाले भनिन्, ‘एफटिजी नेपालले लेदो बनाउने पल्भ मेसिन, प्याकिङ गर्ने मेसिन र प्याकिङकै लागि हाते मेसिन सहयोग गरेपछि, तालिम पछिको दुई महिनाभित्र करिब डेढ लाख रुपैयाँको व्यापार गर्न सफल भयौँ ।’ एफटिजी नेपालले सहकारीलाई धुलो बनाउने मेसिनसहित १० किलोसम्म तौल गर्न मिल्ने डिजिटल मेसिन पनि उपलब्ध गराएको थियो । अहिले सहकारीमा देवीचौर र वरपर उत्पादन हुने करिब २ सय किलोग्राम लप्सी दैनिक संकलन हुँदै आइरहेको छ । त्यसरी संकलन हुने लप्सीबाट उत्पादन हुने सामग्रीमा धुलो टाँसिने समस्या हुने भएकाले धुलो नछिर्ने फाइबरको घर बनाउन सके व्यापारमा वृद्धि हुने अपेक्षा सहकारीले गरेको छ ।

यसले प्रतिष्पर्धी बजारमा गुणस्तरीय उत्पादनलाई व्यवस्थित रूपमा पु¥याउन पनि सजिलो हुने छ । सहकारीले अहिले लप्सीबाट उत्पादन गर्दै आइरहेको खाली माडा, चिनी क्यान्डी, सेतो क्यान्डी, रातो क्यान्डी, सुकुटी लगायतका सामग्री काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानका बजारबाट बिक्री प्रबन्ध मिलाएको छ । सहकारी सक्रिय हुनुअघि लप्सी भुइँमा झरेर कुहिने गरेको स्थानीय बताउँछन् । पछिल्लो समय भने यसको सदुपयोगमा जौँडाँडा वरपरका महिलाहरू अहिले अग्रसर भएका छन् । इन्द्रावती गाउँपालिका–२ र ३ लाई लक्षित गरेर जौँडाँडा महिला विकास बहुउद्देश्यीय सहकारी संस्था गठन गरिएको छ । यसमा ४ सय ७० जना महिला सदस्य आबद्ध छन् । अहिले लप्सीबाट उत्पादित सामानको बजारीकरणका लागि समूह सक्रिय बनेको छ । समूहमा आबद्ध रहेका मध्ये २ सय भन्दा बढी महिलाहरूले लप्सी खेतीसमेत गर्दै आएका छन् । यसको आधार स्वच्छ व्यवसायी समूह नेपाल (एफटिजीएन) ले तयार पारिदिएको हो ।

महिलाहरूलाई भेला गराएर तालिम र उत्पादन सामग्री दिएपछि महिलाहरू त्यसतर्फ आकर्षित भएका हुन् । ‘लप्सीको सदुपयोग गर्न नजान्दा यसभन्दा पहिले झरेर कुहिने अवस्था थियो, बिक्री भइहाल्यो भने पनि ८०÷९० रुपैयाँ किलोको दरले व्यापारीले लान्थे’ समूहकी अध्यक्ष रतिमाया थापा मगरले भनिन्, ‘एफटिजीले तालिम र सामग्री सहयोग गरेपछि अहिले माइत जाँदा पनि पतिसँग पैसा माग्नुपर्ने बाध्यता हटेको छ ।’

समूहले लप्सीबाट अहिले माडा, चकलेट, खट्टलगायतका सामग्री उत्पादन गरेर सिन्धुपाल्चोकसहित काभ्रेको साँगासम्मका बजारमा पु¥याउने गरेको छ । समूहमा आबद्ध भएर काम गर्न थालेपछि लप्सीको परिकार बेचेरै सहकारीले ३ लाख रुपैयाँसम्मको व्यापार गर्न थालेको छ । लप्सीको परिकार बनाएर उद्यमी बन्न सक्ने बाटो भेटेपछि सहकारीका सदस्यहरू लप्सीका परिकार बनाउने विशिष्ट खालको तालिमको खोजीमा पुगेका छन् । भविष्यमा जौँडाँडालाई लप्सीको पकेट क्षेत्र बनाएर अगाडि बढ्ने रणनीति तय गरेको सहकारीको उक्त विकासको जग स्वच्छ व्यवसायी समूह नेपाल बनेको छ । सहकारीका सेयर सदस्य भन्छन् ‘हामीलाई थप तालिम दिए हामी आर्थिक रूपमा अझैँ समृद्ध बन्न सक्छौँ ।’

प्रतिक्रिया