मदुरोले गरे सिमाना बन्द

एजेन्सी, भेनेजुएला । राष्ट्रपति निकोलास मदुरोले बिहीबार राति ब्राजिलसँगको सिमाना बन्द गरिदिएको बताएका छन् । त्यहाँको एक टेलिभिजनमा त्यस्तो घोषणा गरिरहँदा उनले कोलम्बियासँगको सीमा बन्द गर्नेबारे समेत सोचिरहेको बताएका थिए । देशका लागि आइरहेको मानवीय सहायता सामग्री बाँड्ने विपक्षीको प्रयास रोक्न मदुरोले त्यस्तो कदम चालेका हुन् ।

यसअघि नै उसले आफ्तो उत्तरी तटतर्फको समुद्री र हवाई सीमा बन्द गरिसकेको थियो । त्यसतर्फ रहेको एउटा डच टापु कुरासोले अमेरिकाले दिने राहत भित्र्याउन सघाउने भनेपछि त्यसो गरिएको थियो । मदुरोले मानवीय सहायता सामग्री वितरण गर्ने नाममा अमेरिकाले उनको देशमा सैनिक हस्तक्षेप गर्न खोजेको आरोप लगाउँदै आएका छन् । कोलम्बियासँगको सिमानामा रहेको नगर कुकुटामा गत साता अमेरिकी सेनाका जहाज राहत सामग्री बोकेर ओर्लिएपछि मदुरोले उनको भनाइ दोहो¥याए ।

ब्राजिलको सरकार विपक्षी नेता ग्वाइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिने मध्येको एक हो । उसले समेत भेनेजुएलासँगको आफ्नो सिमानामा सहायता सामग्री पठाएर सघाउने बताएको थियो । अहिले विपक्षी नेता ह्वान ग्वाइदो भने स्वयंसेवक एवं समर्थकले भरिएका गाडीका लस्करको नेतृत्व गर्दै राजधानी क्याराकसबाट कोलम्बियासँगको सीमातर्फ लागिसकेका छन् । त्यसक्रममा उनीहरूले सुरक्षाकर्मीबाट छिटफुट रूपमा अवरोध सामना गरिरहेका छन् ।

तर, उनीहरू अघि बढ्नेक्रम भने रोकिएको छैन । क्याराकसमा रहेकी बिबिसी संवाददाता केटी वाट्सन भन्छिन्, ‘प्रहरीले राजमार्गको एक ठाउँमा बाटो अवरुद्ध गर्न खोजेको थियो र उसले सञ्चार माध्यममाथि मानव लस्करको दृश्य खिच्नसमेत रोकिरहेको छ । बाटोमा झडपका घटनासमेत भएका थिए ।’

क्याराकसबाट सीमामा पुग्न लाग्ने झण्डै १३ घण्टा लामो मोटर यात्रामा उनीहरूले अन्य थुप्रै प्रहरी चेकपोष्टहरूको सामना गर्नुपर्नेछ । कोलम्बियाको सीमा सहर कुकुटा क्याराकसबाट झण्डै ९ सय किलोमिटर टाढा छ । सन् २०१३ यता त्यहाँको सत्तामा रहेको मदुरोले देशमा संकट रहेको कुरालाई अस्वीकार गर्दै आएका छन् । उनी त्यसलाई अमेरिकी योजनाको एउटा पाटो भन्छन् ।तर, यसैसाता उनले आफ्नो साझेदार रुसबाट ३ सय टन सहायता सामग्री भेनेजुएला भित्र्याउने घोषणा गरेका थिए । भेनेजुएलाका खाद्यमन्त्रीले एउटा ट्विट गर्दै आफ्नो सरकारले कोलम्बियासँगको सीमा क्षेत्रमै झण्डै २० हजार राहतका सामग्री रहेको बाकस बाँड्नेसमेत बताएका छन् । ट्विटमा राखिएको भिडिओमा ती राहत भरिएका भनिएका ट्रकको लस्कर देखाइएको छ ।

शुक्रबार नै कोलम्बियामा ग्वाइदोकै आग्रहमा झण्डै २ लाख ५० हजार मानिस जुट्ने अपेक्षा गरिएको एक सांगितिक कन्सर्ट ‘भेनेजुएला एड लाइभ’ आयोजना हुँदै छ । एकजना चर्चित ब्रिटिस उद्यमी सर रिचर्ड ब्रान्सनले आयोजना गर्न लागेको त्यस परोपकारी कन्सर्टबाट भेनेजुएलामा राहतका लागि १० करोड डलर उठाउने अपेक्षा गरिएको छ । तर, त्यसको झण्डै ३ सय मिटरको दुरीमा भेनेजुएलापट्टि मदुरोको सरकारले समेत त्यस्तै कन्सर्टका लागि स्टेज खडा गरेको छ । भेनेजुएलामा संकट चुलिएसँगै अहिले ३० लाखभन्दा बढी नागरिकले खाद्यान्न र औषधिको खोजीमा देश छाडेका छन् ।

प्रतिक्रिया