साउदी युवराजलाई लिन मोदी विमानस्थलमै

एजेन्सी, नयाँदिल्ली । साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमान दुई दिने भ्रमणका लागि मंगलबार भारत पुगेका छन् । उनलाई स्वागत गर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विमानस्थलमा नै पुगेका थिए । उनी यसअघि पाकिस्तानको भ्रमण गरेर आएका हुन् । काश्मीरको पुलवामा आक्रमणका कारण भारत र पाकिस्तानबीच तनाव उत्पन्न भइरहेको वेलामा पहिलो विदेशी उच्च अधिकारीको रूपमा साउदी युवराजले यी दुवै देशको भ्रमण गरेका हुन् ।

साउदी युवराज विश्वमै सबैभन्दा तीव्र गतिमा आर्थिक विकास गर्न लागिरहेको भारतलाई आफ्नो देशको तेल बढी भन्दा बढी बेच्न चाहन्छन् ।  आज भारतीय प्रधानमन्त्री मोदी र साउदी युवराजबीच दुई पक्षीय वार्ता हुँदै छ । सो वार्तामा हालैको पुलवामा आक्रमणको बारेमा पनि चर्चा हुन सक्नेछ । साउदी युवराजलाई पाकिस्तानका प्रधानमन्त्री इमरान खान पनि आफैं विमानस्थलमा गएर आफ्नो निवासमा लगेका थिए ।  साउदी युवराजले पाकिस्तानलाई २० अर्ब डलर लगानीको सम्झौता पनि गरेका थिए । साउदी जेलमा रहेका पाकिस्तानीलाई रिहाइको आदेश समेत उनले दिएका थिए । विश्वकै सबैभन्दा ठूलो लोकतन्त्र मानिने भारतले साउदी अरेबियाका युवराजलाई विशेष महत्व दिएको वैचारिक हिसाबले नभइ व्यापारिक हिसाबले भएको बताइएको छ ।

भारतमा सामान्य अवस्थामा प्रधानमन्त्री तहका व्यक्ति नै विमानस्थलमा गएर स्वागत गर्ने चलन छैन । तर, मोदी भने विमानस्थलमै गएका छन् । यसअघि २०६२–६३को जनआन्दोलनको सफलतापछि भारत भ्रमणमा गएका नेपालका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई विमानस्थलमा लिन तत्कालीन भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह आफैं गएका थिए । कोइराला त्यतिवेला लोकतान्त्रिक आन्दोलनको कमान्डर भएकाले भारतले महत्व दिएको अर्थ लगाइएको थियो । तर, साउदी युवराज भने पत्रकार जमाल खसोग्जी हत्याको आरोपमा विवादमा रहेका छन् ।

प्रतिक्रिया