मधेसमा शिक्षकको सम्मान, स्वाभिमान र शिक्षाको गुणस्तर

सञ्जय मित्र

मधेसको शिक्षा निकै कमजोर छ । शिक्षाको स्तर कमजोर हुनुमा शिक्षक नै दोषी हुन् भन्ने आरोप सबैतिरबाट आइरहेको छ । सामान्यरूपमा हेर्दा विद्यालयमा पढाउने शिक्षकले नपढाउँदा शिक्षाको गुणस्तर कमजोर भएको देखिन्छ । सामुदायिक विद्यालयको गुणस्तर कमजोर हुनुमा सबैभन्दा बढी जिम्मेवारी शिक्षकको हो भन्ने कुरामा सामान्यरूपमा शंका छैन तर शिक्षक मात्र गुणस्तरका जिम्मेवार हुन भन्ने आरोपमा सबै पक्षले पुनर्विचार गर्नुपर्ने देखिन्छ ।

विद्यालयमा एकै किसिमका शिक्षक छैनन् । विद्यालयमा शिक्षक भर्ना हुने विधि र प्रक्रिया पनि फरक फरक छ । शिक्षक सेवा आयोगबाट नियुक्ति सिफारिश भएका शिक्षकहरू स्थायी हुन् । विद्यालय व्यवस्थापन समितिबाट नियुक्ति पाएका शिक्षकहरू अस्थायी, करार, राहत, पिसिएफ, बालविकास र निजी स्रोतका छन् । स्थानीय तहले पनि शिक्षक नियुक्ति गरेको देखिएको छ करारमा । अस्थायी शिक्षकलाई स्थायी गर्न विभिन्न समयमा शिक्षक सेवा आयोगले परीक्षा लिएर केहीलाई स्थायी बनाएको छ भने केही स्थायी हुने प्रक्रियामा छन् तथा अझै पनि केही अस्थायी नै छन् । अस्थायीले आन्दोलन गर्दै आएका छन् । करारले पनि आन्दोलनमा निरन्तर सक्रियता देखाउँदै आएको छ । अन्य प्रकृतिका शिक्षकहरूको मनसाय पनि आयोगले सामान्य प्रक्रिया पु¥याएर स्थायी गरिदेओस् भन्ने नै हो ।

माविको प्रथम श्रेणीको शिक्षक भनेको निजामतीको सहसचिवसरह तलब र भत्ता पाउने हुन् । तर, अन्य सुविधा नगरपालिकाको खरिदार वा नासुसरह पनि हुँदैन । सामान्यतया मधेसी समाजमा कुनै माध्यमिक विद्यालयको प्रधानाध्यापकको भन्दा निजामती वा स्थानीय तहको खरिदार वा नासुको सामाजिक सम्मान उनीहरूले पाउने सेवा–सुविधाकै कारण बढी छ । यी सबै कारणले मनोविज्ञानमा प्रभाव पारेको हुन्छ ।

स्थायी भएका शिक्षकमध्ये केही यस्ता पनि जो २०४८ मा एक वर्ष अस्थायी सेवा पु¥याएवापत स्वतः स्थायीयोग्य भएका थिए । यसबाहेक करिब सबै शिक्षक कुनै न कुनै रूपमा प्रतिस्पर्धाबाट स्थायी भएका हुन् । स्थायी शिक्षकहरूमध्ये केही एकै विद्यालयमा कार्यरत छन् भने अधिकांश शिक्षक अनेक विद्यालयमा सरुवा हुँदै यताउतिबाट आएका हुन् । अस्थायी शिक्षकहरू भने अधिकांशतः नियुक्ति पाएकै विद्यालयमा कार्यरत छन् ।

अस्थायी, राहत र करार सेवामा रहेका शिक्षकहरूको नियुक्ति व्यवस्थापन समिति(विव्यस)हरूले गरेका छन् । अहिलेसम्मको प्रवृत्ति के रहेको छ भने विव्यसकै निकटका उम्मेदवारहरूले सफलता पाउने गरेका छन् । आक्कलझुक्कल कहिलेकाहीँ स्वतन्त्र र निष्पक्ष सम्पन्न भएर सोर्स नभएका र विव्यसका आफन्त नभएका योग्य व्यक्तिले नियुक्ति पाउने गरेका छन् । राज्यले तलब उपलब्ध गराउने तर विव्यसले आफन्त नियुक्ति गराउने चलनले मधेसको शिक्षालाई तहसनहस पारेको छ । विव्यसका आफन्तहरूलाई विद्यालयमा आउने र जाने समयमा प्रअहरूको नियन्त्रण निकै कम छ । विद्यालयमा नियमित उपस्थित हुने तथा नियमानुसार निरन्तर काम गर्दा पनि विव्यसका आफन्त शिक्षकहरूलाई मन परेको हुँदैन । यसप्रकारका शिक्षकहरूलाई कसैले केही गर्न वा भन्न सक्दैनन् । यसप्रकारको व्यवहारले गुणस्तर प्रभावित भइरहेको देखिन्छ । शिक्षण पेसामा विव्यसका आफन्त प्रवेश गर्ने बाटोलाई नरोकेसम्म यसको गुणस्तरको लागि सबै शिक्षकभन्दा विव्यसलाई पनि जिम्मेवार बनाइनु पर्छ ।

मधेसकै संस्थागत विद्यालयमा गुणस्तर तुलनात्मकरूपले राम्रो हुनुमा शिक्षकको योग्यता र दक्षताको कदर गर्नु मात्र कारक होइन । कक्षाको व्यवस्थापन पनि हो । विद्यालयमा शिक्षक र विद्यार्थीको पहुँच हुने गरी अंग्रेजी र नेपालीको एउटा एउटा शब्दकोश, ह्वाइट बोर्ड हरेक दिन सफा हुने, ह्वाइट बोर्डमा लेख्ने मार्कर र यसको मसीको नियमित सहज आपूर्ति, साना–तिना नियमित आन्तरिक प्रतिस्पर्धाहरूका लागि प्रोत्साहन, उत्कृष्टलाई पुरस्कृत गर्नेजस्ता सामान्य लाग्ने कार्यहरूमा सामुदायिक र संस्थागत विद्यालयमा अकल्पनीय भिन्नता छ । समयमा विद्यालयमा भर्ना, समयमा पाठ्यपुस्तकको उपलब्धता, सबै विद्यार्थीले हरेक विषयको लागि छुट्टाछुट्टै रफ र फेयर कापी, कलम र इरेजर नियमितरूपले लिएर आउनु तथा अभिभावकको नियमित अनुगमनले पनि पढाइको गुणस्तरमा प्रभाव पारेको हुन्छ ।

शिक्षकहरू कति पढेका छन् भन्ने कुरोले विव्यस सदस्यका अगाडि कुनै मूल्य राख्दैन । माध्यमिक तहको विद्यालयको प्रअ स्नातकोत्तर हुनुपर्ने तर विव्यस अध्यक्ष तथा सदस्यहरूको कुनै शैक्षिक योग्यता नतोकिएको हुनाले विव्यसको शासन मान्न कतिपय प्रअलाई राम्रो लाग्दैन । विव्यसको गठनमा राजनैतिक प्रभाव स्पष्ट हुने तथा कतिपय अवस्थामा स्थानीय राजनीतिक दलले भागबन्डा गरेर विव्यस गठन गर्ने, कतिपय अवस्थामा विव्यसको गठन गर्न लाखौं खर्च गर्ने हुनाले प्रअलाई अनेक दबाब दिने हुन्छन् । यस अवस्थमा प्रअ तथा शिक्षकको मानसम्मानको ख्याल नगरिन पनि सक्छ ।

माध्यमिक विद्यालयको शिक्षक शाखा अधिकृतसरह हुन्छ । प्रहरी निरीक्षकसरह हुन्छ । हरेक वडामा विद्यालय रहेझैँ वडा कार्यालय रहेको छ । स्थानीय तहको खरिदार र नायब सुब्बासरहको कर्मचारीले नगरपालिका कार्यालयबाट सेतो प्लेटको मोटरसाइल पाएका हुन्छन् । पेट्रोल पनि नपाले दिन्छ । वडा तथा नगर कर्मचारी कतिखेर कार्यालय जानुपर्छ र कति समय कार्यालयमा बस्नुपर्छ भन्ने विषयमा सबैलाई थाहा छ । तर, सबैले यो पनि देखेका छन् कि नगर कर्मचारीहरूले सबै आफन्त, नातागोता, आफ्नो र छिमेकीहरूको समेतको सामाजिक, पारिवारिक तथा सामाजिक कार्यमा भाग लिन पाइरहेका हुन्छन् ।

अन्य कर्मचारीहरूले आफूलाई काम परेको समय आवश्यक दिनको लागि घरविदा लिन पाउँछन् तर शिक्षक भएपछि यस प्रकारको सुविधालाई तिलाञ्जलि दिनुपर्छ भन्ने कुरो बुझेका हुन्छन् । माविको प्रथम श्रेणीको शिक्षक भनेको निजामतीको सहसचिवसरह तलब र भत्ता पाउने हुन् । तर, अन्य सुविधा नगरपालिकाको खरिदार वा नासुसरह पनि हुँदैन । सम्भवतः यस्तै कारणले प्रथम श्रेणीमा स्नातक तथा स्नातकोत्तर उत्तीर्ण गर्नेले सकेसम्म शिक्षक बन्न चाहँदैनन् । शिक्षक हुन पहिले शैक्षिक योग्यताको परीक्षा पूरा गर्नुपर्छ, त्यसपछि अध्यापन अनुमतिपत्र लिनुपर्छ अनि शिक्षक सेवा आयोगले लिखित र मौखिक परीक्षा उत्तीर्ण गर्नुपर्छ ।

सामान्यतया मधेसी समाजमा कुनै माध्यमिक विद्यालयको प्रधानाध्यापकको भन्दा निजामती वा स्थानीय तहको खरिदार वा नासुको सामाजिक सम्मान उनीहरूले पाउने सेवा–सुविधाकै कारण बढी छ । यी सबै कारणले मनोविज्ञानमा प्रभाव पारेको हुन्छ ।

शिक्षण पेसा कक्षाकोठादेखि समाजसम्म जोडिएको हुन्छ । समाजमा आर्थिक तथा सामाजिक सम्मान कमजोर हुने तथा समाजले पनि शिक्षाको गुणस्तरको सम्पूर्ण जिम्मेवारी शिक्षकको मात्र हो भनेर बताउँदा एकोहोरो आरोपित गरेको शिक्षक समुदायले ठानेका हुन्छन् । यसै कारणले पनि शिक्षक समुदाय आफ्नो पेसाबाट सन्तुष्ट हुँदैन । शिक्षकले आफ्नो सन्तान शिक्षक नबनून् भन्ने चाहना राख्दछन् । कतिपय शिक्षकले त कक्षाकोठामा नै भन्दछन् पनि “अरु जुनसुकै सरकारी सेवामा प्रवेश गर्नू, तर शिक्षक नबन्नू ।” विद्यार्थीले शिक्षकलाई आदर्श मान्दछन् । तर, कुनै पनि कक्षाकोठाको विद्यार्थीलाई तपाईँ भविष्यमा के बन्न चाहनुहुन्छ भन्ने प्रश्न गर्दा उत्तरमा पाँच प्रतिशतले पनि शिक्षक हुन्छु भन्ने जवाफ दिँदैनन् ।

मधेसको अधिकांश विद्यालयमा शिक्षकको तुलनामा विद्यार्थीको अनुपात धेरै बढी छ । दश वर्षदेखि माध्यमिक तह सञ्चालित विद्यालयमा पनि माध्यमिक शिक्षकको दरबन्दी पूरा छैन । एउटै कक्षाकोठामा सयभन्दा बढी विद्यार्थीलाई राखेर पढाउनुपर्ने अवस्था छ । मिहिनेत गर्ने इमानदार शिक्षकले पनि सम्मान पाउन सकेका छैनन् । आत्मसम्मान तथा स्वाभिमानले पनि गुणस्तरमा प्रभाव पारेको हुन्छ । शिक्षाको गुणस्तरमा शिक्षक महत्वपूर्ण पक्ष हो भन्ने कुरा यथार्थ हो तर अन्य पक्षलाई पनि पूर्णरूपमा नजर अन्दाज गर्न सकिन्न । शिक्षाको गुणस्तरमा प्रभाव पार्ने अन्य तत्वहरूमाथि पनि ध्यान पु¥याउनु आवश्यक छ ।

प्रतिक्रिया