बहस – पशुपतिको गीत र नेपाली समाज

काठमाडौं । लोकगायक पशुपति शर्माले गाएको व्यंग्यात्मक गीत ‘लुट्न सके लुट नेपालमै हो छुट’ विवादमा परेसँगै युट्युबबाट हटाएका छन् । राजनीतिक वृत्त तथा सामाजिक सञ्जालमा पक्ष र विपक्षमा बहस चर्किएको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारको वार्षिक समीक्षाको सन्दर्भ पारेर गरेर पत्रकार भेटघाटमा समेत उक्त गीतबाट सरकार तर्सिएको आरोप लगाउन भ्याएको छ ।

नेपालमा मौलाएको राजनीतिक बेथितिबारे शर्माले व्यंग्यात्मक शैलीमा गीत प्रस्तुत गरेका थिए । यो गीत व्यंग्यात्मक रूपमा आएकाले यसका शब्दका गेडा केलाउनुको कुनै तुक नै देखिँदैन । यसै विषयमा सामाजिक सञ्जालमा कतिले सरकारको आलोचना गरेका छन् भनेको कतिले गायकको शब्द चयनप्रति आक्रोश पोखेका छन् । राष्ट्रपतिलाई हेलिकोप्टरको विषयसँग जोडेको र ‘कार्यकर्ता कुकुरजस्तै भुक्छन्’, यमराज भन्ने शब्दबाहेक गीतमा खासै आपत्ति जनाउनुपर्ने केही छैन ।

गीतका बारेमा कवि बलराम तिमल्सिना सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, ‘अरिंगालको चिलाई खप्न नसकेपछि पशुपति शर्माले आफ्नो गीतलाई आफैँले सहिद बनाउन बाध्य भए ! तर, गीत रक्तबीज बन्यो । किनकि गीतले उठाएका कुरा जन जनका मन मनका साझा कुरा थिए ।’ उनले यसले भ्रष्ट सत्ताको मुटुमै झ्वाम्मै झिर रोपेको उल्लेख गरेका छन् ।
आख्यानकार नयनराज पाण्डे लेख्छन्, ‘यथार्थ पो लेख्न नपाउने होला ? विकृति र विसंगतिको गीत पो गाउन नपाउने होला ! चिन्ता किन प्रिय स्रष्टाहरू ? भजन गाउन हामीलाई कसले रोक्छ ? लालीगुराँस, हिमाल र रून्चे पिरिमको गीत, कविता लेख्न र गाउन हामीलाई कौना माइका लालले रोक्छ ? यति भन्दै मेरो दुई शब्द यहीँ टुंग्याउँछु । जय जय नेपाल । सेन्सरसिप ।’

त्यस्तै, फेसबुकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता कज्र्याङ शेर्पाले पशुपतिलाई कारबाही र गीत बन्द होइन, भ्रष्ट हाकिम र भ्रष्ट कर्मचारीलाई कारबाही र भ्रष्ट प्रणालीलाई बन्द गर्नुपर्ने लेखेका छन् । सामाजिक सञ्जालमा सरकारका काम कारबाहीप्रति तीब्र आक्रोश पोख्नेको संख्या बढिरहेको छ ।

यस्तै राजनीतिक विश्लेषक तथा नयाँ शक्ति पार्टीका नेता डम्बर खतिवडा भन्छन्, ‘पशुपति शर्माको गीत ‘लुट्न सके लुट’ युट्युबबाट हटाउन सरकारी मान्छेहरूले चर्काे मनोवैज्ञानिक दबाब र धम्की दिएको बुझियो । यो अभिव्यक्ति स्वतन्त्रताविरोधी भिजिलान्ते संस्कृतिको सर्वत्र प्रतिरोध गरौँ ।’

यसैबीच नेकपा संसदीय दलका सचेतक शान्ता चौधरीले राष्ट्रप्रेमी नेतालाई यमराज शासक भन्ने गीत गाउँदा ताली बजाउन नसकिने फेसबुकमा उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, ‘अरू देशमाथि विदेशीले उपनिवेश कायम गर्दा हाम्रो देशलाई पुर्खाले बचाए, घुँडा टेकेनौं कहिल्यै, झुकेन हाम्रो स्वाभिमान, लुकेन हाम्रो वीरता ।

परिवर्तनलाई स्विकार गरेबापत, नेपाली जनताले आफ्नो संविधान आफै लेखेबापत भोग्नपरेको नाकाबन्दीविरुद्ध शानदार ढंगले परास्त गर्ने र बिस्तारै समृद्धिको आभास दिन खोज्ने तिनै होनहार राष्ट्रप्रेमी नेतालाई यमराज शासक भन्ने गीत गाउँदा ताली बजाउन सकिँदैन । प्रहार गर्नुको पनि सीमा हुन्छ । एउटा कलाकार जसले आफ्नो स्वाभिमान झुकाएर गीत गाउँछन्, अरू देशमा लुट्न पाइँदैन हाम्रो देशमा मात्रै पाइन्छ भनेर विश्वसामु आफ्नो देशको गरिमालाई कमजोर बनाउँछन्, जनतालाई उत्साह दिने गरिभएका काममा पर्दा लगाउँछन् र निराशा बाँड्ने गीत गाउँछन । तिनै कलाकार देशका गहना कसरी हुन सक्छन् ?’

यत्तिको गीतलाई पचाउने आलोचनात्मक चेतको कमी बिडम्बनाको विषय बन्न गएको छ । गीतमा शब्दको चयनमा थोरै कमजोरी रहे पनि त्यसको अर्थ नेपालमा पछिल्लो समय मौलाएको विकृति तथा विसंगतिलाई कडैरूपमा प्रहार गरेको छ । सकारात्मक दृष्टिले हेरियो भने गीतले राजनीति गर्ने मानिसलाई सचेत बनाउँदै थप जिम्मेदार बनाउने विश्वास लिन सकिन्छ ।

त्यस्तै, कलाकार केदार घिमिरे (माग्नेबुढा) ले व्यांग्यात्मक रूपमा लेखेका छन्–
‘लुट्न सके लुट् कान्छा लुट्न सके लुट् ।
लुट्या कुरा थापाउनेलाई भेट्नासाथै कुट् ।।
कलियुग लागेपछि उल्टो बग्छ खोलो ।
पस्पतिमा ओइरिएछ अरिंगालको गोलो ।।’

गीत व्यंग्यात्मक शैलीमा बनाइएकाले खासै आपत्ति जनाउनुपर्ने नदेखिए पनि सरकारका कारण पशुपतिले गीत युट्युबबाट हटाएको विज्ञप्तिमार्फत जनाएका थिए । उनले आफ्नै युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरेका थिए । गीतको बारेमा शनिबार दिउँसो प्रधानमन्त्री कार्यालयमा समेत परिचर्चा भएको समाचार बाहिरिएको थियो ।

आइतबार राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको आकस्मिक बसेको बैठकले पशुपतिको विवादमा तानिएको उक्त गीतलाई पुनः जस्ताको तस्तै युट्युबमा राख्न आग्रह गर्ने निर्णय गरेको छ । प्रतिष्ठानका उपाध्यक्षसमेत रहेका गायक पशुपति पनि उक्त बैठकमा उपस्थित थिए । बैठकपछि जारी विज्ञप्तिमा शर्माले गाएको उक्त गीत जस्ताको तस्तै सुन्न पाउनु दर्शक, श्रोताको अधिकार भएको भन्दै पुनः अपलोड गर्न गायक शर्मालाई आग्रह गरिएको छ ।

बैठकमा पशुपतिले गीत हटाउनुको कारणबारे अवगत गराएका थिए । प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीका अनुसार पशुपतिलाई एक दुईवटा फोन आएपछि हटाएका थिए । पंगेनीले भने, ‘राष्ट्रपतिको विषयमा किन यस्तो लेखेको भन्ने कुराहरू आए । म एक्लै पनि थिएँ । त्यसैले आत्तिएर हटाएँ ।’

गायक पशुपतिले आफूले व्यक्ति विशेषलाई नभई प्रवृत्तिको विरोध गर्ने गरी गीत गाएको प्रष्टिकरण दिएका थिए । उनले आफू कुनै पार्टीमा आबद्ध नभएको बताए । उनले भने, ‘कसैप्रति पूर्वाग्राही भएर गीत लेखेको थिइनँ । विवाद आउँला भन्ने कल्पनासमेत गरेको थिइन् ।’ साथै गीतका केही शब्दहरू आफूलाई अनुपयुक्त लागेको उनले बताए ।

विप्लवनिकट नेपाल कम्युनिस्ट पार्टीको सांस्कृतिक संगठनले प्रेस विज्ञप्तिमार्फत उक्त गीतमा सरकारको रवैयाप्रति खेद प्रकट गरेको छ । अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष माइला लामाद्वारा जारी विज्ञप्तिमा कलाकारले गीतका माध्यमबाट आफ्ना भावना व्यक्त गर्न रोक लगाउनु सरासर फाँसिवादी चिन्तनको उपज भएको उल्लेख छ । जनताका मौलिक हक–अधिकारका खिलाफ स्वयं सरकार उभिएपछि यतिबेला तिनका विरुद्ध सशक्त प्रतिवाद गर्नु, प्रतिरोध गर्नु जनताको नैसर्गिक अधिकार बन्न पुगेको जनाइएको छ ।

विज्ञप्तिमा ‘राष्ट्रियता, जनतन्त्र र जनजीविकाको प्रश्न गम्भीर मोडमा पुगेको त छँदै छ, सरकार जनताका लेखक, साहित्यकार तथा कलाकारलाई खतरनाक दुश्मन ठान्दै तिनका विरुद्ध व्यापक दमनमा उत्रिएको छ । पशुपति शर्मा र उहाँको उक्त गीतमाथिको प्रतिबन्धलाई हामीले फासिवादी प्रकरणको निरन्तरताको नयाँ परिघटनाका रूपमा लिएको,’ उल्लेख छ ।

नेपाली कांग्रेसनिकट नेपाल सांस्कृतिक संघले पनि विज्ञप्तिमार्फत खेद प्रकट गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘जुनसुकै राष्ट्रको प्रतिष्ठा र गौरव झल्काउने विषय सांस्कृतिक पहिचान हो । नेपाल वहुभाषी, बहुजाति, बहुसांस्कृतिक र बहुधर्म भएको ‘सांस्कृतिक एकता’ बोकेको विश्वमै उदाहरणीय समृद्ध राष्ट्र हो । तसर्थ संस्कृतिको संंरक्षण र सम्बद्र्धनबाट मात्र मुलुकको समृद्धि स्पष्ट हुन्छ । तर, सांस्कृतिक क्षेत्रको स्वतन्त्रता र लगानीमाथि सरकार र सम्बन्धित निकाय उदासीन हुनु स्वयंमा खेदपूर्ण कार्य हो ।’

देशमा व्याप्त व्याप्त भ्रष्टाचार, हत्या, हिंसा, बलात्कार जस्ता विसंगति र विकृतिका विरुद्ध सम्पूर्ण नेपाली जनताको जनचाहनाअनुरुप पशुपति शर्माद्वारा गायनबाट सार्वजनकि भएको व्यंग्यात्मक नेपाली गीतलाई दुई तिहाइको दम्भ बोकेर देखा परेको तथाकथित नेपाल कम्युनिस्ट पार्टीको सरकारले प्रतिबन्ध लगाउने कार्य घोर निन्दनीय रहेको सभापति तीर्थ थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गीतले नेपालमा मौलाएको भ्रष्टाचार संस्कृतिलाई चोटिलो प्रहार गरेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा नै घुस आतंक मच्चिनु, मातपोत, भन्सार लगायतका जनताले दैनिक सेवा लिने सरकारी निकायमा हुने घुस र भ्रष्टाचार आतंक फैलनु जस्ता विषयसँग शर्माको गीतको भाव मेल खान्छ । त्यस्तै, भ्रष्टाचारको आशंका गरिएको वाइडवडी काण्ड, ३३ किलो सुन काण्ड लगायतका विषयलाई समेत गीतले प्रश्नात्मक शैली सरकारसँग जवाफ मागेको छ । जाबो एउटा कलाकारले गाएको गीत पचाउन नसक्ने सरकारबाट कसरी समृद्ध नेपालको अपेक्षा गर्न सकिन्छ ?

नेपाली राजनीतिका केही पात्रका कारण मौलाएको विकृत संस्कृतिका चाङको भारीमाथि बसेर सरकारले समृद्ध नेपाल बनाउन सक्दैन । गुन्डा, दलाल, तस्कर, भ्रष्टाचारी, ठेकेदारसँगको हिमचिममा निर्लिप्त राजनीतिलाई शुद्धीकरण गर्नका लागि यो गीतले बहस अगाडि सारेको छ । साथै सरकार तथा यसको स्तुतिगान रम्ने सबैले आलोचनात्मक चेतबाट गीतलाई हेर्दा त्यसले नेपाली समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास लिन सकिन्छ ।

प्रतिक्रिया