मोदी अरुणाञ्चल जाँदा चीन रिसायो

दिल्ली । भारतकाका प्रधानमन्त्री नरेन्द्र मोदी चुनावी अभियानका क्रममा शनिबार अरुणाञ्चल प्रदेशमा गएको कुरालाई लिएर चीनले गम्भीर आपत्ति जनाएको छ । चीनले शनिबार तात्तातै टिप्पणी गर्दै भन्यो, ‘यो विवादित क्षेत्र हो र त्यहाँ कुनै पनि प्रकारका गतिविधिले सीमाको विषय झन् जटिल बन्न सक्छ ।’

चीनले यसप्रकारको कुनै पनि गतिविधिमा संलग्न नरहन भारतलाई आग्रह गरेको छ । भारतीय प्रधानमन्त्री मोदी शनिबार त्यहाँ पुगेर ४ हजार करोड रूपैयाँको एक परियोजनाको शिलान्यास गरेका थिए । उनले सो अवसरमा सीमावर्ती राज्यहरूलाई आफूले प्राथमिकतामा राखेको समेत बताएका थिए । मोदीले सम्बोधनका क्रममा आफ्नो सरकारले सो क्षेत्रमा हाइवे, रेलवे र हवाई मार्गलाई दुरुस्त राख्नका लागि विशेष ध्यान दिएको बताएका थिए । अरुणाञ्चल प्रदेशमा यस्ता गतिविधिका लागि आफू नेतृत्वको केन्द्रीय सरकार सक्रिय भएको उनको भनाइ थियो । उनले पहिलाका भारतका सरकारहरूले सो क्षेत्रको उपेक्षा गरेको समेत आरोप लगाएका थिए ।

अरुणाञ्चल प्रदेशका आफ्ना प्रधानमन्त्री जाँदा चीनले आपत्ति जनाएकोमा भारतको विदेश मन्त्रालयले भने शनिबार नै त्यस्तो आपत्तिलाई अस्वीकार गरेको छ । भारतीय विदेश मन्त्रालयले अरुणाञ्चल प्रदेश भारतको अभिन्न अंग भएको जनाउँदै भनेको छ, ‘भारतीय नेता समय समयमा अरुणाञ्चल गइरहन्छन् र यो प्रदेशपनि भारतका बाँकी प्रदेश जस्तै हो ।’ भारतमा जम्मा २९ वटा प्रदेश छन् र चुनाव नजिकिँदै गएकोले प्रधानमन्त्री मोदी सबै प्रदेश पुग्नेगरी चुनावी दौडमा छन् ।

शनिबार नै चीनका विदेश प्रवक्ता हु चुन्यिंगले बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा भारतका प्रधानमन्त्री मोदीले अरुणाञ्चल प्रदेशको भ्रमण गरेको प्रसंगमा राखिएको जिज्ञासामा भनेकी छन्, ‘चीन र भारतको सीमा विवादका बारेमा हाम्रो अडान पहिलाको जस्तै हो । यसमा कुनै पनि कुरा परिवर्तन भएको छैन । चीनको सरकारले तथाकथित अरुणाञ्चल प्रदेशको कहिले पनि मान्यता दिएको छैन । भारतीय नेताको अरुणाञ्चल क्षेत्रमा भइरहेको दौडधुपको हामी दृढताका साथ विरोध गर्दछौँ ।’

चीनको विदेश मन्त्रालयका प्रवक्ताले अगाडि भनिन्, ‘चीन भारतलाई आग्रह गर्न चाहन्छ कि, उसले दुवै देशको पारस्परिक हित, दुई पक्षीय सम्बन्ध तथा सीमामा भएको विवादबाट बच्नको लागि हाम्रो चिन्ताको ख्याल गरोस् ।’

चीनले अरुणाञ्चल प्रदेशलाई दक्षिणी तिब्बत मान्दै आएको छ । भारत र चीनबीच सीमा विवादलाई लिएर पटक–पटक वार्ता भए पनि निष्कर्ष निस्कन सकेको छैन । दुवै देशबीच ३ हजार ५ सय किमी (२ हजार १ सय ७४ माइल) लामो सीमा रहेको छ । सीमा विवादका कारण दुई देशबीच सन् १९६२ मा युद्धसमेत भएको थियो । तथापि, अहिले पनि सीमामा विवाद छ र त्यो विवाद वेलावेलामा चर्किने गरेको छ । भारतका प्रधानमन्त्री मोदी शनिबार त्यहाँ पुगेपछि नयाँ विवाद सिर्जना भएको हो ।

प्रतिक्रिया