झम्सिखेल र टुसालको विजयी सुरुआत

काठमाडौं । झम्सिखेल युवा क्लब र टुसाल युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा विजयी सुरुआत गरेका छन् । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ(एन्फा) मुख्यालयको मैदानमा शुक्रबारदेखि सुरु भएको रेलिगेसन र बढुवाबिनाको ‘बी’ डिभिजनमा झम्सिखेलले ब्वाइज युनियनलाई र टुसालले श्री भगवती क्लबलाई समान १–० ले स्तब्ध बनाएको हो । झम्सिखेलका लागि एलिस लुंगेलीले गरेको एक मात्र गोल नै जितका लागि निर्णायक बन्यो ।

३९औं मिनेटमा एलिसले गोल गर्दै झम्सिखेललाई अग्रता दिलाए । झम्सिखेलले पहिलो हाफसम्म त्यो अग्रता जोगाइराख्यो । दोस्रो हाफमा ब्वाइज युनियनले खेलमा फर्किने अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन । ७०औं सुसन लामाको प्रहार झम्सिखेलका युवा गोलकिपर सुवास मगरले बचाउँदै आफ्नो टोलीको अग्रता जोगाइ राखे ।

त्यसपछिको बाँकी समयमा आक्रामक बन्दै ब्वाइज युनियन खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन । पहिलो हाफको अग्रता नै झम्सिखेलका लागि प्रर्याप्त बन्यो । दोस्रो खेलमा पनि टुसाल युवा क्लबले श्री भगवती क्लबलाई १–० कै गोलअन्तरले हरायो । २२औं मिनेटमा टुसालका एलोन राइले गरेको गोल नै जितका लागि निर्णायक बन्यो ।

ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले उद्घाटन गरेकोको लिगमा सहभागी १२ टोलीलाई एन्फाले दुई समूहमा विभाजन गरी लिग प्रणालीमा सञ्चालन गरेको छ । फाल्गुन २१ गतेसम्म सञ्चालन हुने लिगको विजेताले नगद ८ लाख, उपविजेताले ५ लाख, तेस्रो हुनेले ३ लाख र चौथो हुने टिमले २ लाख रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताको तयारीका लागि प्रत्येक टोलीलाई ७÷७ लाख रुपैयाँ प्रदान गर्नेछ । लिगको अन्तिममा रहने टिमको १÷१ अंक घटाइनेछ भने तयारीबापत दिइएको रकमबाट ५० हजार कटाउने लिग निर्देशक सञ्जिव मिश्रले बताएका छन् । विधागततर्फका गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया