चित्रमा प्रकृति र जनावर

काठमाडौं । मानवीय कारणले वन्यजन्तुमा परेको प्रभावका विषयमा केन्द्रित रही तयार पारिएका कलाको प्रदर्शनी भएको छ । चौथो अन्तर्राष्ट्रिय प्रदर्शनी ‘आर्ट फर नेचर’ शीर्षकमा नेपाल आर्ट काउन्सिलमा भएको प्रदर्शनीमा एक दर्जन कलाकारका कलाकृति राखिएको छ ।
आर्ट क्लब नेपालको संयोजनमा ‘रिलिफ फण्ड फर वाइल्डलाइफ भिक्टिम’ ले प्रदर्शनीको आयोजना गरेका हुन् । कलाकारले मानवीय तथा प्राकृतिक कारणले वन्यजन्तु र प्रकृतिमा पारेको प्रभावका विषयमा केन्द्रित रहेर चित्र बनाएको आयोजकले जनाएको छ ।

गत पुसमा पर्सा राष्ट्रिय निकुञ्जमा भएको कार्यशालामा तयार भएका २५ कलाकृति प्रदर्शनीमा राखिएको छ । प्रकृति विनाश, प्रदूषण र पर्यावरणमा आएको असन्तुलनले जीवजन्तु र प्रकृतिमा प्रभाव पर्दै गइरहेको विषयलाई कलाकारले कलामार्फत अभिव्यक्त गरेको कलाकार सुदर्शनविक्रम राणाले बताए । उनले भने, ‘कलामार्फत सामाजिक चेतना फैलाउन कलाकारले काम गरिरहेका छन् । प्रदर्शनी राखिएका कलाकृतिमा समेत वन्यजन्तु र प्रकृतिमा परेको प्रभावलाई कलात्मक रूपमा देखाइएको छ ।’

प्रकृतिको संरक्षणविना मानव तथा वन्यजन्तुको अस्तित्व संकटमा पर्ने प्रदर्शनीमा सहभागी कलाकार राजन पन्तले बताए । उनले भने, ‘कलामार्फत गरिएको यो प्रयासले प्रकृति संरक्षणमा राज्य र नागरिकलाई घच्घचाउने विश्वास लिएका छौं ।’  सो क्रममा उत्कृष्ट छनोट भएकी कलाकार सविता डङ्गोललाई ‘बेस्ट आर्टिस्ट अवार्ड’ प्रदान गरिएको थियो । कार्यक्रममा विश्व वन्यजन्तु कोषका लागि नेपाल प्रतिनिधि डा घनश्याम गुरुङ र रिलिफ फण्ड फर वाइल्डलाइफ भिक्टिमका अध्यक्ष डा प्रभु बुढाथोकीले प्रकृति र वन्जयजन्तुको संरक्षणमा कलाकारको योगदान महत्वपूर्ण रहेको बताए ।

चित्रकला प्रदर्शनी तीन दिनसम्म चल्ने जनाइएको छ । प्रदर्शनीमा रागिनी उपाध्याय, सुदर्शनविक्रम राणा, सुनिता राणा, राजन पन्त, जस्मिन राजभण्डारी, सुरेम देशार, इशान परियार, सविता डङ्गोल, सङ्गीता घिमिरे लगायतका केही विदेशी चित्रकारका चित्र समावेश छ ।

प्रतिक्रिया