बालिका अपहरण गर्ने पक्राउ

काठमाडौं । प्रसूतिगृहमा कार्यरत चिकित्सक बबिता साहकी २ वर्षीया छोरी अपहरण गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बालिका अपहरण गर्ने मनिष गुप्तालाई महोत्तरीबाट पक्राउ गरिएको परिसरका एसएसपी वसन्त कुमार लामाले जानकारी दिएका छन् । सोमबार राति महोत्तरीको भित्तामोडमा लुकीछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको हो ।

मंगलबार गुप्तालाई काठमाडौं ल्याइ पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । गुप्ताले यही माघ ११ गते काठमाडौंको कोटेश्वरस्थित घरबाट ती बालिकालाई अपहरण गरेका थिए । गुप्ताका परिवारले जनकपुरमा पैसा बुझेपछि उनले सोही दिन तिलगङ्गास्थित गणेश होटल अगाडि बालिका छाडेर फरार भएका थिए ।

आफ्नो साढे २ लाख रुपैयाँ बबिताको श्रीमान्ले लगेको र पटक–पटक फिर्ता गर्नभन्दा पनि फिर्ता नगरेकाले अपहरण गरेको अपहरणकारीले बताएका थिए । डेढ लाख रुपैयाँ पाएपछि गुप्ता बालिका छाडेर भागेका थिए । उनकी पत्नी अर्चना गुप्ताले पैसा लिएको पाइएपछि प्रहरीले उनलाई सोही दिन पक्राउ गरेर मुद्दा दर्ता गरी अनुसन्धान जारी राखेको छ । उनी हाल पनि परिसरको हिरासतमा रहेको प्रहरीले जनाएको छ । अपहरणमै संलग्न भएको आरोपमा बबलु श्रेष्ठ पनि यसअघि नै जनकपुरबाट पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया