राष्ट्रपति मदुरोविरुद्ध प्रदर्शन तीव्र

काराकास । भेनेजुएलाका विपक्षी आन्दोलनकारीले राष्ट्रपति निकोलस मदुरोविरुद्ध बृहद प्रदर्शन गरेका छन् । अमेरिका लगायतका देशहरूको समर्थन पाएका विपक्षी नेता हुँवा गुएइदोको नेतृत्वमा विपक्षीहरूले शुक्रबार व्यापक प्रदर्शन गरेका हुन् ।

उनीहरूले राष्ट्रपति मदुरोलाई तत्काल निष्पक्ष निर्वाचनको वातावरण बनाउन माग गरेको समाचारमा जनाइएको छ । युरोपेली संघमा आबद्ध प्रमुख देशहरूले पनि एक हप्ता भित्रमा नयाँ निर्वाचनको वातावरण बनाउन मदुरोलाई गत हप्ता अल्टीमेटम दिएका थिए ।

उनीहरूले तत्काल निर्वाचनको वातावरण नबनाएमा मदुरोलाई सहयोग गर्न नसक्ने र आफँैले आफँैलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका गुएइदोलाई समर्थन गर्ने बताएका थिए ।

भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष गुएइदोले राष्ट्रपति मदुरोलाई अवैध दावी गर्दै केही दिन अगाडि आफँैले आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए । राजनीतिक संघर्ष चुलिदै गएपछि कतिपयलाई देश निकाला गरिएको छ भने कतिपय आफैँ विस्थापित भएका छन् ।

देश निकाला गरिएकाहरूले अमेरिकाको मियामीमा आयोजना गरेको ¥यालीमा बोल्दै अमेरिकी उपराष्ट्रपति माइक पेन्सले भेनेजुएलाका राष्ट्रपति मदुरोले अमेरिकाले भनेअनुसार नै गर्ने विश्वास व्यक्त गरे ।

राष्ट्रपति मदुरो र सेनाबीच छलफल

यसैबीच राष्ट्रपति मदुरोले सुरक्षा अधिकारीहरूसँग छलफल गरेका छन् । उनले आन्दोलनलाई नियन्त्रण गर्ने र त्यसका लागि आवश्यक तयारी तथा व्यवस्थापनका बारेमा छलफल गरेको बताइएको छ ।

‘गुप्तचरसम्बन्धी कार्यलाई अझ सशक्त बनाउन आवश्यक छ, यसको क्षेत्र विस्तार गर्दै निरोधक बनाउनु पर्ने भएको छ,’ मदुरोले भने । आफ्ना सुरक्षा अंगहरूले आतंक मच्चाउनेहरूलाई निस्तेज पार्न र अपराध नियन्त्रण गर्न सक्ने बताए ।

विपक्षी नेता गुएइदोले आफँैलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि विभाजित भेनेजुएलाका निकायहरूमध्ये सुरक्षाकर्मीहरूले राष्ट्रपति मदुरोलाई नै समर्थन गरेका छन् । विशेषगरी भेनेजुएलाको शक्तिशाली सेनाले गुएइदोलाई नचिन्ने स्पष्ट पार्दै मदुरोकै साथमा रहेको जनाएको छ ।

अमेरिकासहित युरोपेली संघका देशहरूको समर्थन प्राप्त गरेका ३५ वर्षीय नेता गुएइदोले यसअघि आफूलाई देशकै सुरक्षाकर्मीबाट सुरक्षा चुनौती रहेको बताएका थिए । उनलाई देश छाड्न प्रतिबन्ध लगाउँदै सम्पत्ति रोक्का पनि गरिएको छ ।

विपक्षीहरूले बहिस्कार गरेको निर्वाचनलाई नै वैध मानेर मदुरोले राष्ट्रपतिको दोस्रो कार्यकाल सुरु गरेपछि अहिले भेनेजुएलामा राजनीतिक संघर्ष चर्किदै गएको छ ।

प्रतिक्रिया