बोल्टको पाँच विकेटप्रेरित न्युजिल्यान्डको जित

एजेन्सी, ह्यामिल्टन । बलर ट्रेन्ट बोल्टको घातक बलिङप्रेरित न्युजिल्यान्डले पाहुना टोली भारतलाई चौथो एकदिवसीय खेलमा लज्जापूर्ण हार चखाएको छ ।  यसअघि नै लगातार तीन खेल जित्दै शृंखला आफ्नो बनाएको भारतले ह्याटिल्टनमा भएको चौथो खेलमा भने ८ विकेटको लज्जापूर्ण हार बेहोरेको हो । यससँगै युवा खेलाडी शुबमन गिल र खलिल अहमेदलाई अवसर दिने भारतको निर्णय प्रयोगसिद्द बन्न सकेन । नियमित कप्तान विराट कोहलीलाई आराम दिँदा रोहित शर्माको नेतृत्वमा रहेको भारत बिर्सनलायक ब्याटिङ गर्दै ३० दशमलव ५ ओभरमा ९२ रनमै समेटियो ।

भारतको इनिङ ध्वस्त पार्न ट्रेन्ट बोल्ट एक्लैले ५ विकेट लिए । भारतले प्रस्तुत गरेको झीनो लक्ष्य न्युजिल्यान्डले १४.४ ओभरमा २ विकेट मात्र गुमाएर पूरा ग¥यो । न्युजिल्यान्डको जितमा रोस टेलरले अविजित ३७ तथा हेनरी निकोल्सले अविजित ३० रन जोडे । भारतका भुवनेश्वर कुमारले २ विकेट लिए । भारतका अन्य बलरले भने विकेट लिन सकेनन् ।

यसअघि टस हारेर ब्याटिङ गरेको भारतले ३० ओभर ५ बलमा अलआउट हुँदै ९२ रनमा समेटिएको थियो । न्युजिल्यान्डका बलर बोल्ट चम्किँएपछि भारत सस्तैमा समेटिएको थियो । उनको घातक बलिङसँगै भारतका ७ ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतका लागि युजभेन्द्र चाहलले अविजित १८ रन जोडे । हार्दिक पांड्याले १६, कुलदीप यादवले १५ र शिखर धवनले १३ रन बनाएर आउट भएका थिए ।

भारतका लागि डेब्यू गरेका सुबमन गिल बोल्टकै बलमा आउट भए । बोल्टले भारतका ओपनर एवं कप्तान रोहित शर्मालाई ७ रनमै पवेलियनको बाटो देखाउँदै पाहुना टोलीलाई झड्का दिएका थिए । बोल्टले नै भारतका आक्रामक ब्याट्सम्यान धवन, केदार जादव र हार्दिक पांड्याले आउट गर्दै घरेलु टिमका लागि पहिलो सफलताको बाटो कोरेका थिए ।

बोल्टले १० ओभर बलिङ गर्दै ४ मेडनसहित २१ रन खर्चेर ५ विकेट लिए । कोलिन डी ग्रान्डहोमेले ३ विकेट लिए । टोड एस्टले र जेम्स निसमले समान एक विकेट लिँदै भारतको पारी सस्तैमा समेट्न मद्दत गरे । चौथो खेलमा पराजित भए पनि भारत शृंखलामा ३–१ ले अगाडि छ । दुईबीचको अन्तिम एकदिवसीय खेल शनिबार हुनेछ ।

प्रतिक्रिया