अमेरिकी र टर्किबीच सिरियाबारे छलफल

वासिंगटन । संयुक्तराज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओ र टर्कीका विदेशमन्त्री मेभलत कावुसोग्लु बीच सिरियाको बारेमा टेलिफोनमा कुराकानी भएको छ ।

समाचारमा जनाइएअनुसार अमेरिकी विदेशमन्त्री पोम्पेओ र कावुसोग्लुबीच सिरियामा जारी द्वन्द्वको बारेमा छलफल हुनुको साथै आगामी दिनमा सिरियामा शान्ति स्थापनाका लागि के गर्न सकिन्छ भन्ने बारेमा कुराकानी भएको थियो । सोमबार सो फोनवार्ता भएको अमेरिकी विदेशमन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । सो विज्ञप्तिमा उहाँहरूबीच सिरियाको जारी द्वन्द्वका साथै पछिल्लो समयमा सिरियामा अमेरिकी संलग्नताको विषयमा पनि कुराकानी भएको थियो ।

सिरियामा केही वर्षदेखि अमेरिकी सेना तैनाथ छ । अमेरिकी सेनालाई त्यहाँबाट फिर्ता गर्ने बारेमा पछिल्लो समयमा अमेरिका र विश्वका अरू देशहरूबीच कुराकानी जारी रहेको छ । सिरियामा अमेरिकी सेनाको पक्षमा लड्दै गरेका कुर्दिस लडाकुको संरक्षण र त्यसका साथै सिरिया र टर्कीको सीमा क्षेत्रमा आइएस आतंकवादीहरूको घुसपैठ तथा संलग्नताको विषयमा पनि त्यस वार्ताका क्रममा कुराकानी भएको अमेरिकी विदेशमन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सिरियामा आइएसले कुर्दिस् विद्रोहीहरूलाई तारो बनाउने गरेका छन् । साथै त्यहाँको सत्तापक्षीय सेनाले पनि कुर्दिसका विरुद्धमा काम गरेको बताइन्छ । तर अमेरिकाले सिरियामा सेना पठाएर उनीहरूको समन्वयमा तथा टर्किस सेनासँग मिलेर काम गरिरहेको छ । ती कुर्दिस विद्रोहीहरूको पक्षमा अमेरिकी सेनाले काम गरेको सिरियाली राष्ट्रपति बसर अल असद पक्षले विरोध गर्ने गरेको छ ।

तर ती कुर्दिस विद्रोहीहरूलाई टर्कीको सीमा क्षेत्रमा काम गर्न दिएको र त्यसको संरक्षण अमेरिकी सेनाले गरेकोमा टर्की र अमेरिकाको बीचमा पछिल्लो समयमा असमझदारी बढेको पाइएको छ । तर त्यस विषयमा अमेरिकाले पछिल्लो समयमा सिरिया र टर्कीको सीमा क्षेत्रमा सुरक्षित क्षेत्रको स्थापना गर्ने प्रस्ताव राखेको छ ।

दुवै देशको सीमा क्षेत्रको करिब ३२ किलोमीटर क्षेत्रलाई सुरक्षित क्षेत्रका रूपमा घोषणा गर्ने र त्यस क्षेत्रमा कुनै पनि किसिमको सैन्य गतिविधिहरू हुन नदिने भनी यस्तो प्रस्ताव अमेरिकाले गरेको छ । यसरी अमेरिकाले गरेको प्रस्तावलाई टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दाेगानले स्वीकार गरेका छन् । तर, उनले सो क्षेत्रलाई आतंकवादीहरूबाट पनि सुरक्षित नै राख्न सक्नुपर्ने तर्क राखेका छन् ।

सोमबारको फोनवार्ताका क्रममा उक्त क्षेत्र प्रस्ताव अनुसार नै सुरक्षित हुनुपर्ने र त्यसलाई टर्कीको विरुद्धमा कुनै पनि हालतमा प्रयोग गर्न दिन नहुने प्रस्ताव टर्कीका राष्टपति एर्दाेगानले गरेको बताइएको छ । सिरियामा विगत लामो समयदेखि द्वन्द्व जारी रहेको छ । सो द्वन्द्वका कारण उत्पन्न असहज परिस्थितिको असर टर्कीलाई परेको भन्दै टर्कीले आफ्नो सिमा क्षेत्रको सुरक्षा व्यवस्थामा निकै कडाइ गर्ने गरेको छ ।

तर, पछिल्लो समयमा सिरियामा भित्रिएको अमेरिकी सेनाले कुर्दिस् विद्रोहीहरूलाई साथमा लिएर सिरियाको सरकारका विरुद्धमा काम गरेपछि आफ्नो देशको सीमा क्षेत्रमा सुरक्षा खतरा झन् बढ्दै गएको टर्कीको भनाइ छ ।

सिरियामा कैयौँ वर्षअघिदेखि जारी द्वन्द्वको समाधान शान्तिपूर्ण रूपमा गर्ने प्रयासहरू गरिएको भए पनि त्यो सम्भव हुन सकेको छैन । सिरियाका बारेमा संयुक्त राष्टसंघले थालेका विगतका केही शान्ति प्रयासहरू पनि सफल हुन सकेनन् ।

यहाँ गएको सात वर्षभन्दा लामो समयदेखि जारी हिंसाका क्रममा चार लाख ३० हजारभन्दा बढी नागरिकको ज्यान गएको छ । अरू लाखौँ नागरिक घाइते छन् भने लाखौँ जना शरणार्थीका रूपमा देश र विदेशका शरण लिन बाध्य रहेका छन् ।

पछिल्लो समयमाा त्यहाँ अमेरिकी सेना भित्रिएको भए पनि त्यहाँको हिंसा भने रोकिएको छैन ।

प्रतिक्रिया