‘जो अलप भए तर सम्झनामा हराएनन्’

काठमाडौं । विसं २०५२ पुसको एक दिन चैतमा जुम्ला फर्कन्छु भनी हिँडेका उनी फेरि फर्केनन् । कसैले धनगढीमा देखेको भने । कसैले उनी हरिद्वारमा जोगी भएर बसेका भने । परिवारले पनि निकै खोजी ग¥यो । आमाको निधनमा बुवा आउनुहुन्छ कि भनी छोराछोरीले निकै प्रचारप्रसार गरे, अहँ उनी आएनन् ।

तैपनि परिवारले उनको सम्झनामा हरेक वर्ष चैत्य बनाएर त्यहाँ उहाँका निजी वस्तु राखेर आजको दिन केही न केही कार्यक्रम गर्छ । नेपाली मानवशास्त्रका पिता डोरबहादुर विष्ट हराएको २३ वर्ष भयो । बाँचेका भए आज ९३ वर्ष पुगेका हुन्छन् । नेपालमा मानवशास्त्र एवं समाजशास्त्रको अध्ययनअध्यापन र अनुसन्धान गराउने प्रथम व्यक्तित्व विष्टको ‘फेटलिज्म एण्ड डेभलपेण्ट’(भाग्यवाद र विकास) पुस्तक निकै चर्चित भयो । भाग्यमा विश्वास राख्ने कारण र ब्राह्मणवादले नेपाली समाजको विकास नभएको भन्ने निष्कर्ष त्यसमा थियो । कृतिमा नेपाली समाजको तत्कालीन स्थिति, मानसिक अवस्था आधुनिकतामा पुस्तकले निकै विवाद पनि ल्यायो । उनले विसं २०४८ मा कर्णाली इन्स्टिच्यूट खोली कर्णालीका जनतालाई शिक्षा, विद्युत् आदि पूर्वाधार पु¥याएका थिए ।

उनका ‘सबै जातको फूलबारी’, ‘पिपल अफ नेपाल’, ‘एन्थ्रोपोलोजी इन नेपाल’लगायत मानवशास्त्र र समाजशास्त्रसँग सम्बन्धित पुस्तकका साथै ‘सोताला’(तिब्बतमा नेपाली पति र तिब्बती पत्नीबाट जन्मेका सन्तानको कथा) शीर्षक उपन्यास र केही कथा प्रकाशित छन् । भाग्यवाद र विकास कृति नेपाली पनि अनुवाद भइसकेको छ जसको प्रकाशन हुन मात्र बाँकी रहेको अनुवादक वसन्त थापाले जानकारी दिए ।

डोरबहादुरका पुत्र पूर्वमन्त्री केशरबहादुर विष्टले माओवादीले बुवाले कर्णालीमाथि आठ वर्ष लगाएर अनुसन्धान गरेका कागजपत्र जलाएर भयङ्कर गल्ती गरेको बताउँदै इन्स्टिच्यूट मर्मतका लागि त्यहाँको स्थानीय तहले रु आठ लाख छुट्याएको र अनुसन्धान गर्न चाहनेका लागि दुई कोठा उपलब्ध गराइएको जानकारी दिए । उनले बुवाले ३०–४० वर्ष लगाएर खिंचेका हजारौँ तस्वीर भने घरमा सुरक्षित रहेको बताए ।  त्रिवि मानवशास्त्र विभागमा प्रमुख डम्बर चेम्जोङले विभागले उनका योगदानलाई संस्थागत एवं व्यवस्थित गर्ने तथा मानवशास्त्र र समाजशास्त्र विषयको पाठ्यक्रममा उनको जीवनी र योगदान पनि समावेश गरिने जानकारी दिए  ।

विष्टका शिष्य प्रा डा विन्दु पोखरेल र राम क्षेत्रीले विष्टले कक्षामा नेपाली संस्कृति र समाजलाई रोचक ढङ्गले व्याख्या गर्ने तथा आफ्ना भोगाइहरु पनि प्रस्तुत गरेर समाज चिनाउन अझ बढी मेहनत गर्ने बताउँदै सहाना प्रधान र मीना आचार्य आदि तथा अहिलेका पहिचान, अन्तरजातीय विवाह र वैदेशिक रोजगारी विषयमा अध्ययनअनुसन्धान हुनुपर्नेमा जोड दिए ।

सो अवसरमा विष्टको जीवनी र योगदानमा आधारित सचिन घिमिरे र गौरव केसीद्वारा तयार गरिएको ‘डिसएपरियरिङ इन मिस्ट’(कुहिरोमा हराउँदा)विषयको छ वर्ष लगाएर बनाइएको ९२ मिनेटको वृत्तचित्र प्रदर्शन गरिएको थियो । वृत्तचित्रमा विष्टकी छोरीले बुवाले आफू बित्दा सन्तान वा परिवारले संस्कार गर्न नपर्ने गरी अलप हुने भनेर धेरैचोटि बताएको कुरा थाहा पाउन सकिन्छ । हाल मूर्तिकार रामकृष्ण भण्डारीले विष्टको मूर्ति बनाउँदै गरेको थाहा भएको छ ।

प्रतिक्रिया