नेपालको रबाफिलो जित

काठमाडौं । आरती बिडारीको उत्कृष्ट बलिङप्रेरित नेपालले थाइल्यान्डमा जारी वुमन ट्वान्टी–२० स्म्यास प्रतियोगितामा लगातार चौथो जित हात पार्दै समूहविजेता बनेको छ । यसअघि लगातार तीन खेलमा सुखद नतिजा हात पार्दै सेमिफाइनलमा स्थान पक्का गरेको नेपालले बुधबार समूह ‘ए’ को अन्तिम खेलमा थाइल्यान्ड ‘ए’ लाई ९ विकेटले पराजित गरेको हो ।

थाइल्यान्ड ‘ए’ ले प्रस्तुत गरेको २० रनको झीनो लक्ष्य नेपालले ३.३ ओभरमा १ विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि ओपनर नेरी थापाले अविजित ५ र डोली भट्टले अविजित २ रन जोडे । नेपालले ११ रन जोड्दा ओपनर ममताकुमारी चौधरीलाई पहिलो विकेटका रूपमा गुमाएको थियो । ९ बलमा १ चौका प्रहार गरेकी ममताले ८ रनको योगदान गरिन् ।

यसअघि टस जित्दै ब्याटिङ रोजेको थाइल्यान्ड ‘ए’ ले १५.४ ओभरमा सबै विकेट गुमाउँदै १९ रनको झीनो योगफल तयार पारेको थियो । थाइल्यान्डका कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन् । यस क्रममा पाँच खेलाडीले रन खातासमेत खोल्न सकेनन् । थाइल्यान्डले ७ रन अतिरिक्तका रूपमा पाएको थियो ।

थाइल्यान्डलाई सस्तोमा समेट्ने क्रममा नेपालकी वुमन अफ दी म्याच आरतीले ४ ओभरमा १ मेडनसहित ५ रन खर्चंदै ३ विकेट लिएकी थिइन् भने इन्दु बर्माले २ ओभरमा २ रन खर्चंदै र सरिता मगरले ३ ओभरमा ४ रन खर्चंदै समान २ तथा कप्तान रुबिना क्षेत्री, सीता रानामगर र सोनु खड्काले समान १ विकेट लिए ।

प्रतिक्रिया