संसारकै धनी व्यक्तिको ट्वीटरबाटै छोडपत्र

एजेन्सी, वासिंगटन । विश्वकै धनी व्यक्तिका रूपमा चिनिएका अमेजन कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जेफ बेजोज र उनकी पत्नी म्याककेन्जी बीच २५ वर्षपछि बुधबार डिभोर्स भएको छ । बुधबार पश्चिमा सञ्चार माध्यममा त्यो डिभोर्स ‘हट केक’ समाचार भएको थियो ।
जेफको सम्पति १ सय ३७ बिलियन डलर (नेपाली १५ सय ४५ खर्ब, २९ अर्ब, १५ करोड रुपैयाँ) रहेको मानिन्छ । अझ कतिपयले त पछिल्लो समयमा उनी १ सय ६० बिलियन डलरका मालिक भएको समेत जनाएका छन् । उनी वासिंगटन पोस्ट पत्रिकाका पनि मालिक हुन् ।  उनीहरूले बुधबार ट्वीटरमा वक्तव्य नै दिएर डिभोर्सको घोषणा गरेका हुन् । उनीहरूले के कसरी सम्पत्ति बाँडफाँड गरे भन्ने कुरा खुलाइएको छैन ।

जेफ सन् १९९७ मा खर्बपति भएका हुन् । त्यसको चार वर्षपछि उनीहरूबीच विवाह भएको थियो । उनीहरूबीचको डिभोर्स सेटलमेन्ट गर्ने काम आर्थ डिलरका एलेक विल्डेस्टेन र न्युयोर्कका जोसेलिन विल्डेस्टेनले गरेका हुन् ।  जेफले आफ्नी पत्नीलाई सबैभन्दा पहिला न्युयोर्कमा भेटेका थिए । हेड्ज फन्डको अनुसन्धानको कामका लागि अन्तर्वार्ता लिने क्रममा पहिलोपटक उनीहरूको भेट भएको थियो । जहाँ उनी उपाध्यक्षका रूपमा काम गर्थे ।

म्याककेन्जीले सन् २०१३ मा भोग म्यागेजिनसँगको कुराकानीमा सो कुरा उल्लेख गरेकी छन् । उनले त्यसमा भनेकी छन्, ‘मेरो अफिस उनको भन्दा पछाडिको ढोकाको छेउमा थियो । र, दिनैभरि मैले उनको गजबको हाँसो सुन्थेँ । त्यस्तो हाँसोमा म कसरी प्रेममा नपरी रहन सक्थँे र ?’ उनीहरू तीन महिनासम्मको डेटिङपछि ‘इन्गेज’ भएका थिए । त्यसपछि १९९३ मा विवाह बन्धनमा बाँधिए ।

उनले विवाह गरेपछि वाल स्ट्रिटको उनले जागिर छाडेका थिए । त्यसपछि उनी सियाटलमा बस्न थाले । सियाटलमा उनीहरू एक बेडरुम भएको फ्ल्याटमा भाडामा बस्ने गरेका थिए । तर, अमेजनको स्थापनापछि उनको जीवनले काँचुली फेरेको थियो । अहिले अमेरिकाका विभिन्न स्थानमा उनका ५ वटा घर छन् । प्रारम्भमा अमेजन एउटा अनलाइन बुकस्टोर मात्रै थियो ।  उनीहरू चारजना छोराछोरीका आमाबाबु पनि भइसकेका थिए । तीनवटा छोरा थिए र एक छोरी थिइन् । छोरीलाई चीनबाट ‘एडप्ट’ गरिएको थियो ।

जेफ ५४ वर्षीय छन् भने उनकी पत्नी म्याककेन्जी ४८ वर्षीया हुन् । द ब्लुमबर्ग बिलियनियर इन्डेक्सका अनुसार उनी विश्वकै सबैभन्दा धनी व्यक्ति हुन् । म्याककेन्जी उपन्यासकार पनि हुन् । उनले सन् २००५ मा द टेस्टिङ अफ लुथर अब्रलाइट र सन् २०१३ मा ट्रयाप्स उपन्यास लेखेकी थिइन् ।

‘हामीले एकदमै भाग्यमानी महसुस गरेका थियौँ । र, हामी एक अर्काप्रति आभारी पनि थियौँ’ उनीहरूको वक्तव्यमा भनिएको छ । ‘हामीबीच वैवाहिक जोडीको रूपमा महान् जीवन थियो । र, हामीले महत्वपूर्ण भविष्य पनि देखेका थियौँ,’ उनीहरूले भनेका छन् ।  अमेजन विश्वकै महत्वपूर्ण कम्पनीका रूपमा अहिले स्थापित भएको छ । यसको मूल्य झण्डै ८ सय १० बिलियन डलर रहेको बताइन्छ । अहिले यसको मूल्य माइक्रोसफ्टको भन्दा २० बिलियन डलर बढी भएको मानिन्छ ।

प्रतिक्रिया