निसानका पूर्वअध्यक्ष अदालतमा

एजेन्सी, टोकियो । भ्रष्टाचार आरोपमा थुनामा रहेका निसान कम्पनीका पूर्वअध्यक्ष कार्लोस गोउन पहिलोपटक मंगलबार टोकियो अदालतमा उपस्थित भएका थिए । अदालतमा बयानका क्रममा उनले आफू निर्दोष रहेको र कुनै अपराध नगरेको दाबी गरेको अदालतले जनाएको छ । गोउनलाई कम्पनीको गलत वित्तीय रिपोर्टिङको आरोपमा गत नोभेम्बर १९ मा पक्राउ गरिएको थियो ।

‘मेरा विरुद्ध लगाइएका आरोपहरू असत्य हुन्, म निर्दोष छु,’ गोउनले न्यायाधीशसमक्ष भने । न्यायाधीशसमक्ष आफ्नो वक्तव्य पढेर सुनाउँदा उनी दृढ र शान्त देखिएका थिए । ‘मलाई अन्यायपूर्वक आरोपित गरिएको छ ।’  सरकारी वकिलहरूले गोउनमाथि कम्पनीको झुटो वित्तीय प्रतिवेदन तयार गरेको आरोप लगाएका छन् । उनीमाथि खासगरी सन् २०१५ देखियता पाँच वर्षको अवधिमा तलब बापत लिएको करिब ४ करोड ४० लाख अमेरिकी डलरलाई कम्पनीको वित्तीय विवरणमा समावेश नगरेको आरोप छ ।

वकिलहरूले वित्तीय संकटका कारण निसानमा गरेको लगानीमा हुने जोखिमलाई विचार गरेर गोउनले आफूलाई सुरक्षित बनाएको आशंका पनि गरेका छन् । कालो सुट र प्लास्टिक चप्पल लगाएर अदालतमा उपस्थित भएका गोउनले आरोप लगाइएका प्रत्येक बुँदाको जवाफ दिएका थिए । उनले आरोपहरूमाथि प्रतिवाद गर्दै भने, ‘म निसान बीचमै छाड्न पनि सक्दथेँ, तर, कम्पनी छाड्न चाहिनँ ।’

‘आँधी आएका वेला जहाजको कप्तानले जहाज छाड्दैन,’ उनले अदालतमा भने । विश्वकै अटो उद्योगमा चर्चित व्यक्तित्व कार्लोस गोउन विश्व आर्थिक मञ्चदेखि अरू ठूला एवं विशिष्ट मञ्चहरूमा वक्ताका रूपमा रहने गर्थेे । तर, तिनै विशिष्ट व्यक्तित्व गोउनलाई अदालतमा उपस्थित गराउँदा जापान प्रहरीले हतकडी लगाएको थियो । अदालतभित्रको इजलासमा भने उनको हतकडी फुकालिएको थियो ।

न्यायाधीश युची ताडाले इजलासमा गोउनमाथि लागेको आरोप पत्र पढेर सुनाइएको थियो । न्यायाधीश ताडाले गोउनमाथि जापानबाट भाग्न खोजेको पनि बताएका थिए । जापानी सरकारी वकीलहरूले गोउनले प्रमाणहरू लुकाउने वा नष्ट गर्ने सम्भावना पनि रहेको आरोप लगाएका छन् । गोउन निजी जेट लिएर टोकियोमा ओर्लनासाथ प्रहरीले गिरफ्तार गरेको थियो । कार्लोस गोउन फ्रान्सेली नागरिक हुन् । जापानमा शंकास्पद व्यक्तिहरूलाई प्रमाण नष्ट गर्ने वा तोडमोड गर्ने भन्दै जमानत नदिई थुनामा राख्ने प्रचलन छ ।  मंगलबारको सुनुवाइका क्रममा गोउनका एकजना वकिल गो कोन्डोले गोउन विदेशतर्फ भाग्ने खतरा नरहेको दाबी गरे । ‘गोउन चिरपरिचित व्यक्ति हुन्, त्यसैले भाग्ने सम्भावना नै छैन । उनले प्रमाण नष्ट गर्ने कुनै जोखिम नै छैन ।’

गोउनले अदालतसमक्ष आफ्नो कार्यकालमा निसान कम्पनीले गरेका उपलब्धिहरूको व्याख्या गरेका थिए । उनले कम्पनीका उत्पादनलाई चीन, रुस, ब्राजिल र भारतसम्म विस्तार गरेको तथा विद्युतीय कार र स्वचालित ड्राइभिङजस्ता नवीन प्रविधिको प्रयोगमा ल्याएको बताए । उनले भने, ‘मलाई निसानमाथि साँच्चिकै प्रेम छ ।’

केही वर्षयता निसान कम्पनीमा फ्रान्सेली कार उत्पादक रेनल्टले पनि सेयर लगानी गरेको छ । हाल निसानमा रेनल्टको ४३ प्रतिशत हिस्सा छ भने रेनल्टमा निसानको १५ प्रतिशत सेयर छ । गोउन अझै पनि रेनल्टका प्रमुख तथा निसानको सञ्चालक समितिका सदस्य छन् ।
गोउनको थुना अवधि अझै आगामी शुक्रबारसम्मका लागि कायम छ । जापानको कानुनबमोजिम गलत वित्तीय रिपोर्टिङ गरिएको अवस्थामा १० वर्षसम्म जेल सजाय, ८९ हजार अमेरिकी डलर वा दुवै सजाय हुन सक्दछ ।

प्रतिक्रिया