योगी भ्रमणको सन्देश

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको स्वागतका लागि प्रदेश–२ को सरकार र जनकपुर उपमहानगरपालिका अधैर्यताका साथ प्रतिक्षामा छन् । मंसिर २६ गते विवाह पञ्चमीका अवसरमा हुन गइरहेको योगी आदित्यनाथको जनकपुर भ्रमणलाई अहिलेसम्मकै सबै मिथिला क्षेत्रको अहिलेसम्मकै सबैभन्दा ठूलो उत्सवका रूपमा मनाउने तयारीमा प्रदेश सरकार र जनकपुर उपमहानगरपालिका छन् । उनको स्वागतका लागि हात्ती, घोडा तथा हेलिकप्टरको व्यवस्था गरिएको छ । तीनवटा हात्ती, ५ वटा उँट तथा ९ वटा घोडाको बग्गीमा राखेर योगी आदित्यनाथको स्वागत गरिने छ भने जनकपुर क्षेत्रमा हेलिकप्टरमार्फत पुष्पवृष्टि गराइने छ । जनकपुरको सरसफाइ तथा मञ्च सजावट भव्य बनाइएको छ । योगी आदित्यनाथ संयोगले भारतको सबैभन्दा ठूलो प्रान्त उत्तर प्रदेशका मुख्यमन्त्री बनेका हुन् । मुलतः उनी धार्मिक नेता हुन् । उनको जनकपुर भ्रमण पनि धार्मिक तथा सांस्कृतिक अगुवाकै रूपमै हुन लागेको हो । हरेक वर्ष मार्ग शुक्ल पञ्चमीका दिन राम जन्मभूमि अयोध्याबाट सीता जन्मभूमि जनकपुरमा जन्ती आउने परम्परा छ । त्यो परम्परामा यसपटक मुख्यमन्त्री योगी आदित्यनाथ सामेल हुन लागेका हुन् । भगवान राम र भगवती सीताको विवाह यही तिथिमा भएकोले मार्ग शुक्ल पञ्चमीलाई विवाह पञ्चमी भनिन्छ । विवाह पञ्चमी मिथिला क्षेत्रको निकै ठूलो पर्व हो । यस पर्वका दिन रामजानकी मन्दिरमा लाखौ“ भक्तजनको घुइ“चो लाग्ने गर्छ । जसमा अधिकांश भारतीय हुन्छन् । योगी आदित्यनाथको यो भ्रमणले जनकपुरको धार्मिक तथा सांस्कृतिक महत्वलाई थप उजागर गर्ने विश्वास गरिएको छ ।

गत वैशाखमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि जनकपुर भ्रमण गरेका थिए । उनको यो भ्रमणपछि जनकपुर क्षेत्रमा भारतीय पर्यटकहरूको संख्या उल्लेख्य वृद्धि भएको छ । करिब डेढ अर्ब जनसंख्या रहेको भारतबाट धार्मिक पर्यटक भित्र्याउने प्रसस्त सम्भावना नेपालले बोकेको छ । नेपाल भारतबीच धार्मिक तथा सांस्कृतिक एक रूपता मात्रै होइन कि दुवैदेशका धार्मिक तथा सांस्कृतिक सम्पदाहरू एक अर्काका पूरक मानिन्छन् । गत वैशाखमा जनकपुर भ्रमणका वेला भारतका प्रधानमन्त्री मोदीले भनेका थिए, ‘जनकपुरविना अयोध्या अधुरो, लुम्बिनीविना बोधगया अधुरो, नेपाल विना भारत अधुरो ।’ मोदीको यो भनाइ धरातलीय यर्थाथता हो ।

धरातलीय यर्थाथता जे हो त्यो अनुसारको व्यवहार अपनाउन सकिएन भने समस्या पर्छ । भारतले यदाकदा धरातलीय यर्थाथता अनुसारको व्यवहार नेपालप्रति नगरेको देखिएको छ । उदाहरणका लागि ०७२ सालमा संविधान निर्माणपछि भारतले लगाइदिएको नाकाबन्दीका कारण पुशपतिनाथको मात्रै होइन रामजानकी मन्दिर तथा मुक्तिनाथको नियमित पूजामा पनि समस्या उत्पन्न भयो । ९५ प्रतिशत जनप्रतिनिधिले संविधान पारित गरे । ५ प्रतिशतले त्यसविरुद्धमा आन्दोलन गरे, तर विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भएको भारतले ५ प्रतिशतलाई साथ दिँदै नाकाबन्दी लगायो । त्यसक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि जनकपुरमा निकै ठूलो अपमान गरियो । ०७२ सालको विवाह पञ्चमीका अवसरमा अयोध्याबाट आएका जन्तीलाई स्वागत गर्न राष्ट्रपति भण्डारी जनकपुर पुगिन् । जन्तीलाई राष्ट्रप्रमुखबाटै स्वागत गर्ने परम्परा सुरु हुन लाग्नु भनेको जनकपुर क्षेत्रका लागि ठूलो गौरवको विषय हुनुपर्ने हो । तर, राष्ट्रपति भण्डारीमाथि हदैसम्मको निकृष्ट दुव्र्यवहार गरियो । उनको प्रवेशले रामजानकी मन्दिर नै अपवित्र भएको भन्दै गंगाजलले पखाल्ने कर्तुत मधेसवादी राजनीतिक दलको ब्यानरमा गरियो । तर, भारतका प्रधानमन्त्री मोदीले जनकपुर भ्रमण गर्दा मधेसीदलहरूको सरकारले तामझामका साथ स्वागत गर्यो । विदेशी अतिथिलाई स्वागतका लागि कुनै कसर बाँकी नराख्नु नेपालीहरूको धर्म नै हो । तर, त्यतिवेला नेपालको राष्ट्रिय झण्डालाई समेत विकृत बनाएर प्रदर्शन गरियो । जनकपुरमा आफ्नो देशको राष्ट्रपति जा“दा के भयो ? र भारतीय प्रधानमन्त्री आउँदा के भयो ? भन्ने कुरा अहिले पनि चर्चाको विषय बनेको छ । यस विषयमा मधेसी दलहरूले उत्तर दिनु जरुरी छ । यो टिप्पणीको अर्थ योगी आदित्यनाथको जनकपुर भ्रमण सान्दर्भिक छ भन्ने पटक्कै होइन । जनकपुरको महत्व अन्तर्राष्ट्रिय स्तरमा अझै उजागर गर्न यस्ता भ्रमण फलदायी हुन्छन् ।

प्रतिक्रिया