हतारको बोलीः फूर्सदको पछुतो

रक्षा मन्त्रालयको कार्यभार सम्हालेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले गत शुक्रबार एक सार्वजनिक समारोहमा भने, ‘निर्मला पन्तको बलात्कारी तथा हत्यारा पत्ता लागिसकेको छ, सार्वजनिक गर्ने तयारी हुँदैछ, अब एक दुई दिनमा सार्वजनिक होला ।’ उपप्रधानमन्त्री पोखरेलको यो भनाइले केही आशा जगायो । सरकारले सार्वजनिक गर्ने दिनको प्रतिक्षामा सर्वसाधारण अधैर्यका साथ बसे । पछिल्लो समयमा प्रहरीले १७ वर्षीय प्रदीप रावल र १४ वर्षीय विशाल चौधरीलाई पक्राउ गरी बयान लिएको थियो । उनीहरूले बलात्कार तथा हत्या स्वीकारिसकेकोले डिएनए परीक्षण सुरु गरिएको समाचार प्रहरीस्रोतको हवाला दिएर मिडियाले प्रवाह गरेका थिए । यसैको सेरोफेरोमा उपप्रधानमन्त्री पोखरेलले अपराधी पत्ता लागिसकेको सार्वजनिक गरेका थिए । तर, प्रहरीले अपराधी किटान गर्दै किशोरद्वय रावल र चौधरीलाई सार्वजनिक गर्नुअघि नै गत शनिबार अर्को सनसनी पूर्ण समाचार आयो । उक्त समाचारअनुसार जुन दिन निर्मला पन्तको बलात्कार र हत्या गरिएको थियो त्यो दिन ती दुई जना किशोर महेन्द्रनगर वडा प्रहरी कार्यालयको हिरासतमा थिए । कुखुरा चोरेको अभियोगमा उनीहरूलाई त्यस दिन हिरासतमा राखिएको वडाप्रहरी कार्यालयको रेकर्डमा भेटिएको भन्दै पत्रकार खेम भण्डारीले समाचार ब्रेक गरेका थिए । यो समाचारलाई सम्बन्धित वडा प्रहरीले नै पुष्टि गरेको छ । वडा प्रहरी कार्यालयका अनुसार साउन १० गते बिहान १० बजे १७ वर्षीय रावललाई र अपरान्ह ४ बजे १४ वर्षीय चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई भोलिपल्ट छाडेको थियो । निर्मला पन्तको हत्या त्यही दिन दिउँसो २ देखि ३ बजे भित्रमा भएको छानबिन समितिले यसअघि नै जनाइसकेको छ ।

प्रहरी हिरासतमा भएको मान्छेले बाहिर आएर बलात्कार तथा हत्या गर्ने सम्भावना रहन्न । तर, ति किशोरहरूले बलात्कार तथा हत्या स्वीकार गरेको भिडियो रेकर्ड प्रहरीले सरकारलाई उपलब्ध गराइसकेको छ । त्यही भिडियो रेकर्डका आधारमा उपप्रधानमन्त्री पोखरेलले कन्फिडेन्टका साथ ‘अपराधी पत्ता लाग्यो’ भनेर सार्वजनिक रूपमा बोलेको हुनुपर्छ । यसअघि एकजना मानसिक सन्तुलन बिग्रेका व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरी साविती बयान लिएको थियो । उनले हत्या स्वीकार गरेको भिडियो प्रहरीले मिडियाका केही सम्पादकहरूलाई बोलाएर देखाएको थियो । साथै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि प्रहरीले उक्त भिडियो देखाएको हुनुपर्छ । प्रमाण नष्ट गर्ने काममा संलग्न हुनेहरू निर्दोष भएको भन्दै प्रधानमन्त्री ओलीले गत भदौ २० गते नेपाल टेलिभिजनामा प्रसारित ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा अभिव्यक्ति दिएका थिए । त्यो कार्यक्रम हेर्दा लाग्थ्यो ‘वास्तविक अपराधी त मानसिक सन्तुलन बिग्रेका ती व्यक्ति नै रहेछन्, प्रमाण नष्ट गर्नेहरूलाई बेकारमा शंका गरिएको रहेछ ।’ तर, प्रधानमन्त्री ओलीको कन्फिडेन्ट धेरै दिन टिकेन । डिएनए परीक्षणको रिपोर्ट मिलेन ।

त्यतिवेला प्रधानमन्त्री ओलीलाई प्रमाण नष्ट गर्नेहरूको पक्षमा बोल्न लगाउनेहरूले यतिवेला उपप्रधानमन्त्री पोखरेललाई पनि दुरूपयोग गरे । बोल्न हतार गर्नु प्रधानमन्त्री ओली तथा उपप्रधानमन्त्री पोखरेलको कमजोरी त हुँदै हो तर मुलुकको नेतृत्व तहमा रहेका व्यक्तिहरूलाई यस्तो झुटो कुरा बोल्न लगाउनेहरू मुख्य दोषी हुन् । यो घटनाले प्रधानमन्त्री ओलीको छवि ज्यादै नराम्रोसँग बिग्रेको छ । घटनाको प्रकृति हेर्दा अपराधी उम्कन सक्ने ठाउँ छ जस्तो देखिँदैन । जिल्ला प्रहरी कार्यालयको नेतृत्व सम्हालेका तत्कालीन एसपी दिलिप विष्ट प्रमाण नष्ट गर्ने कुकर्ममा संलग्न भएको पुष्टि भइसकेको छ । निर्मला पन्त त्यस दिन बम दिदी बहिनीको घरमा गएको पनि पुष्टि भइसकेको छ । घटनाको अनुसनधान यसैको सेरोफेरमा अघि बढाउन सरकार किन चाहँदैन ? प्रहरी किन एक पछि अर्को नक्कली अपराधीको खोजीमा रहन्छ ? भन्ने प्रश्न यतिवेला निकै पेचिलो बनेको छ । एसपी विष्टको नेतृत्वमा कसलाई जोगाउन प्रमाण नष्ट गरियो ? भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने होइन र ? यसरी एकपछि अर्को नक्कली अपराधी खडा गरी साविती बयान दिन लगाउँदा प्रहरीको विश्वसनियता गुम्दैन र ? प्रहरीले जबरजस्ती गरेर निर्दोषलाई साविती बयान दिन लगाउँदो रहेछ भन्ने कुरा समाजमा स्थापित भयो भने मुलुकको हालत के होला ?

प्रतिक्रिया