छोरी बचाउ अभियान

विराटनगरको एक अस्पतालले छोरी जन्माउने महिलालाई निःशुल्क प्रसुति सेवा प्रदान गर्ने निर्णय सुरु गरेको छ । यो निर्णय गत बुधबारदेखि लागू भएको अस्पतालको दाबी छ । प्रसुति गराउन उक्त अस्पताल पुग्ने महिलाले छोरी जन्मेको अवस्थामा अब कुनै शुल्क तिर्नुपर्ने छैन । नर्मल डेलिभरी तथा शल्यक्रियाबापत लाग्ने सम्पूर्ण खर्च मिनाहा गरिएको अस्पतालका अध्यक्ष शत्रुघन यादवले बताएका छन् । अस्पतालले यो निर्णयलाई ‘छोरी बचाउ अभियान’ भनेको छ । छोरी बचाउनका लागि यसरी अभियान नै सञ्चालन गर्नुपर्ने अवस्थामा नेपाली समाज पुग्नु भनेको ज्यादै नै संवेदनशील पक्ष हो ।

खासगरी पहिलोपटक छोरी जन्मेपछी दोस्रोपटक लिंग पहिचानका लागि गर्भ परीक्षण गर्न जाने र गर्भमा छोरी रहेछ भने पतन गराउने प्रचलन नेपालमा बढेर गएको छ । गर्भमा छोरा नआएसम्म भ्रूण हत्या गराई रहने प्रचलन नै सुरु भएको छ । अनिच्छित गर्भ रहेको अवस्थामा र धेरै नै अस्वस्थ बच्चा जन्मने अवस्थामा १२ सातासम्मको गर्भ पतन गराउने सकिने कानुनी प्रावधान केही वर्षअघि बनाइएको छ ।

कानुनको यही प्रावधानको दुरुपयोग गर्दै गर्भपतन गराउने प्रवृति बढेका कारण नेपाली समाजमा ठूलो समस्या उत्पन्न भएको हो । यो क्रम समयमै नियन्त्रणमा ल्याइएन भने मुलुकमा पुरुषको तुलनामा महिलाको संख्या अत्यन्त न्यून हुन पुग्छ । लैंगिक असन्तुलनका कारण अपराधका घटनाहरू बढ्छन् र मुलुकमा थेगिनसक्नु समस्या उत्पन्न हुन्छ ।

मानिसमा मात्रै होइनकै सबै जैविक सृष्टिमा प्राकृतिकले नै लैंगिक सन्तुलन मिलाइदिएको हुन्छ । महिला र पुरुष करिब करिब बराबर जन्मनु सृष्टिको नियम नै हो । सृष्टिको यो नियमको विरुद्धमा जानु भनेको विनास निम्त्याउनु हो । लिंगको पहिचानपछि गरिने गर्भपतन कुनै पनि हालतमा जायज छैन । कानुनले यसलाई दण्डनीय अपराध मानेको छ । धार्मिक रूपमा पनि यस्तो गर्नु बर्जित मानिन्छ । तर, पनि यस्तो अपराध भइरहेको छ । यो अपराध नियन्त्रणका लागि कानुन ल्याएर मात्रै पुग्दोरहेनछ भन्ने कुरा बुझेर नै सरकारी तथा निजी क्षेत्रमा विभिन्न प्रयास हु“दै आएका छन् । छोरीलाई छात्रवृत्तिको व्यवस्था राज्यले नै गरेको छ । निजी क्षेत्रका संघ संस्थाहरूले पनि यो प्रयास गरिरहेका छन् भन्ने कुरा विराटनगरको अस्पतालले गरेको यो निर्णयबाट पनि पुष्टि हुन्छ । तर, यस्ता प्रयास अझै अपुग छन् ।

घरनजिकै फोहरको डंगुर रहेसम्म लामखुट्टे मार्ने प्रयासले सार्थकता पाउदैन । जति मारे पनि लामखुट्टे सकि“दैनन् । फोहरको डंगुरलाई नै हटाउनुपर्छ । छोरीलाई गर्भमै हत्या गर्ने प्रचलन सुरु हुनुको सामाजिक कारणलाई जबसम्म नियन्त्रण गर्न सकिन्न तबसम्म ‘छोरी बचाउ’ अभियानले प्रभावकारी रूपमा सार्थकता पाउने सम्भावना कम हुन्छ । पहिलो कुरा त मुलुक संयुक्त पारिवारक अवधारणाबाट एकल पारिवारिक अवधारणामा गइसकेको छ । यो अवस्थामा धेरै छोराछोरी जन्माउन सम्भव छैन । कृषिको युगबाट व्यवसायको युगमा मुलुक प्रवेश गरेको छ । व्यवसायको युगमा धेरै छोराछोरी जन्माउन र हुर्काउनका लागि समय पुग्दैन । मान्छेले जन्माउने भनेको बढिमा दुई वटा सन्तान हो । पहिलोपटक छोरा भए परिवार नियोजनको साधन अपनाइहाल्छन्, छोरी भए फेरी अर्को गर्भधारण गर्छन् र लिंग पहिचानको चक्करमा लाग्छन् ।

छोरीलाई भन्दा छोरालाई महत्व दिनुको मुख्य कारण भनेकै हाम्रो धार्मिक तथा सांस्कृतिक परम्परा हो । हाम्रा धर्मग्रन्थहरू नै त्यहीअनुसार बनेका छन् । हाम्रा धार्मिक ग्रन्थहरूले छोरीलाई सन्तान मान्दैनन् । मुख्य समस्या यही हो । यस्ता धार्मिक ग्रन्थहरू जबसम्म संशोधन गरि“दैन तबसम्म समस्या समाधान गर्न सजिलो छैन ।

तर, धार्मिक ग्रन्थहरूको संशोधन एकैचोटी गर्न सकिन्न । समाजको चेतनाको स्तरअनुसार क्रमशः संशोधन गर्दै लैजानुपर्छ । यो समस्या समाधान लागि तत्कालीन उपाय भनेको छोरी मात्रै हुने दम्पत्तिलाई राज्यद्वारा प्रोत्साहन गर्नु हो । छोराले भन्दा छोरीले सजिलोस“ग रोजगारी पाउने, अंशमा मात्रै होइन वंशमा पनि छोरीको अधिकार कायम हुने, छोरी मात्रै हुने दम्पत्तिलाई बुढेसकालमा राज्यले विशेष सुविधा दिने लगायतका प्रावधानहरू अपनाउने हो भने यो समस्याको तत्कालीन समाधान सम्भव हुन्छ ।

प्रतिक्रिया