राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको पक्ष राष्ट्रको २४औँ सम्मेलन (कोप २४)मा सहभागी भई स्वदेश फर्किएकी छन् ।

राष्ट्रपति भण्डारीलाई बिहिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए । सो अवसरमा उपप्रधानमन्त्री, मन्त्रीहरु, उच्च सरकारी अधिकारी, सुरक्षा प्रमुखलगायत विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागतका लागि पुगेका थिए ।

राष्ट्रपति भण्डारीको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामी अर्पण गरेको थियो ।

राष्ट्रपति भण्डारीले पोल्याण्डको क्याटविस शहरमा यही मंसिर १६ गतेदेखि सुरु भई २८ गतेसम्म चल्ने सम्मेलनको उद्घाट्न सत्रमा विशेष सम्बोधन गरेकी थिइन् । भ्रमण दलमा सहभागी वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति भण्डारीको भ्रमणका बारेमा जानकारी दिएका थिए ।

राष्ट्रपति भण्डारीले सम्मेलनको उद्घाटनमा नेपाल पृथ्वीको तापक्रम नियन्त्रण गर्न ठूलो योगदान दिने मुलुक भए पनि नेपाली जनताले आफूले कहिल्यै नगरेको गल्तीका कारण सजाय भोग्नुपरेको बताएको मन्त्री बस्नेतले उल्लेख गरे ।

प्रतिक्रिया