बुलन्द सहरमा गाईको कंकाल

गोरखपुर । गएको आइतबार भारतको उत्तरप्रदेश राज्यअन्तर्गतको बुलन्द सहरमा एक दर्जन गाईको कंकाल भेटिएपछि त्यस क्षेत्रमा तनाव उत्पन्न भएको छ । सो घटनापछि एकजना प्रहरी अधिकारी र एक स्थानीय व्यक्तिको मृत्यु भइसकेको छ ।

तीन जनालाई प्रहरीले पक्राउ गरे पनि कसले सो घटना गरायो भन्ने बारेमा भने वास्तविकता खुलेको छैन । २० जनाभन्दा बढी मानिसहरू घाइते भएका छन् । सो स्थानमा कसैका पनि गाई हराएका छैनन् । तर, कंकाल भेटिनुले योगी आदित्यनाथ मुख्यमन्त्री रहेको उत्तरप्रदेशमा तनावपूर्ण वातावरण सिर्जना भएको हो ।

मुख्यमन्त्रीले गाई काट्ने घटनामा संलग्नलाई कारबाही गर्न प्रशासनलाई निर्देशन दिएका छन् । तर, सो घटनामा मारिएका प्रहरी अधिकारीको बारेमा भने उनी नबोलेको भन्दै सामाजिक सञ्जालमा तीव्र विरोध भएको छ । गाई काट्ने काम मुस्लिम समुदायले गरेको भन्ने आरोपमा उनीहरूलाई आक्षेप लगाउन थालिएपछि थुप्रै मुस्लिम समुदायका व्यक्तिहरू घरको ढोका थुनेर त्यहाँबाट भागेका छन् ।

प्रहरीले स्थानीय बासिन्दालाई सोध्दा राति कसले आएर गाई काट्यो र कंकाल छोडर गयो भन्ने बारेमा आफूहरूलाई जानकारी नरहेको बताएका छन् । आइतबार रातिको सो घटनापछि सोमबारदेखि नै सो स्थानको आसपासमा तनावको वातावरण सिर्जना भएको हो ।

योगी आदित्यनाथले गाईको हत्यामा संलग्न सबैलाई पक्रेर कारबाही गर्न भनेका छन् । उनी अहिले भारतको विधानसभा निर्वाचनका क्रममा विभिन्न क्षेत्रमा गएर चुनावी भाषणमा व्यस्त रहेकै समयमा आफ्नो प्रदेशमा यस्तो घटना भएपछि विवादमा आएका हुन् ।

प्रतिक्रिया