हदैसम्मको हेपाइ

गत आइतबार प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको बैठकमा खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले अबको ६० दिनभित्र मेलम्चीको पानी राजधानी काठमाडौं आउने दाबी गरे । यस्ता दाबी यसअघि दर्जनौँपटक आइसकेकोले सांसदहरूले विस्वास गरेनन् । उनीहरूले सोधे तपाईं बोल्नका लागि बोल्दै हुनुहुन्छ कि, यथार्थ हो ? सचिव ठाकुरले भने, ‘म ठोकुवा गरेर भन्छु ६० दिनमा मेलम्चीको सबै काम सकिन्छ । ढुक्क हुनुस्, दुई महिनामा मेलम्चीको पानी आउँछ ।’ भोलिपल्ट सोमबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार समितिका सदस्यहरूको टोली मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गर्न सुन्दरीजल पुग्यो । टोलीलाई ब्रिफिङ गर्दै आयोजना प्रमुख सूर्यराज कँडेलले फटाफट काम भएको अवस्थामा समेत अबको चार महिनाअघि कुनै पनि हालतमा मेलम्चीको पानी राजधानी काठमाडौं उपत्यकामा आउन नसक्ने बताए । कुन–कुन संरचना पूर्ण हुन बाँकी छ र ती संरचनाको काम कति दिनभित्र सम्पन्न हुन सक्छ ? भन्ने आँकडासहित आयोजना प्रमुख कँडेलले कम्तीमा एक सय २० दिनको समयसीमा बताए । खानेपानी मन्त्रालयका सचिव ठाकुरले भनेजस्तो कहाँ को बढिमा दुई महिना ?, आयोजना प्रमुख कँडेलले भनेजस्तो कहाँको घटिमा चार महिना ? १५–२० प्रतिशत समयसीमा फरक परेको भए त स्वभाविक हुन्थ्यो, तर दोब्बरभन्दा बढी समयसीमा फरक पर्यो । खानेपानी मन्त्रालयका सचिव र सोही मन्त्रालयको मातहतमा रहेको आयोजनाका प्रमुखले दिएको समय अन्तर दोब्बरभन्दा बढी देखिनु भनेको सामान्य कुरा होइन । त्यो पनि सार्वभौम संसद्का सदस्यहरूसँग । यस्तो ढाँट तथा छललाई सामान्य रूपमा दिनुहुन्न । सार्वभौम संसद्लाई सचिवले ढाँटेका हुन् कि, आयोजना प्रमुखले ? सकेसम्म छिटो छानबिन समिति बनाएर जे मन लाग्छ त्यही बोल्ने कर्मचारीलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने हुन्छ ।

पाँच वर्षभित्र काम सक्ने लक्ष्यका साथ मेलम्ची खानेपानी आयोजनाको निर्माण सुरु भएको १८ वर्ष पूरा भई १९ वर्ष लागिसकेको छ । यो अवधिमा मेलम्ची खानेपानीको जिम्मेवारी सम्हाल्ने प्रायः सबै मन्त्रीहरू झुटो बोल्न बाध्य भएका छन् । भ्रष्ट कर्मचारीहरूले झुठो ब्रिफिङ गरेर झुठो बोल्न बाध्य बनाई मन्त्रीहरूलाई डिमोरलाइज बनाएका हुन् । प्राविधिक काम भएकोले मन्त्रीलाई खासै मेसो हुँदैन, कर्मचारीहरूले जे ब्रिफिङ् गर्छन् त्यसैलाई आधार बनाएर मन्त्रीले जनसमक्ष बोल्ने हो । यो क्रममा प्रायः सबैजसो मन्त्रीहरूलाई कर्मचारीहरूले पत्रु बनाएका छन् । अब ६ महिनाभित्र मेलम्चीको पानी काठमाडौं आइपुग्छ भनेर सर्वप्रथम बोल्न लगाइएको ०७१ सालमा तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री डा. नारायण खड्कालाई हो । उनले ०७२ सालको दसैंमा मेलम्चीको पानी राजधानीवासीलाई खुवाउने प्रतिबद्धता व्यक्त गरेका थिए तर सोही वर्षको वैशाखमा विनासकारी भूकम्पपछि केही महिना काम रोकियो । त्यसपछिका केही महिना भारतले लगाएको नाकाबन्दीका कारण काम रोकियो । यसरी काम रोकिएपछि यो भाका स्वतः सरेर ०७३ को दसैंसम्म पुग्यो । यो भाका निरन्तर ६–६ महिना थपिएको छ । अन्तिम ६ महिनाको भाका गत चैतमा खानेपानी मन्त्री विना मगरले दिएकी थिइन् । चैतमा मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग खन्ने काम पूरा भएको दिन खानेपानी मन्त्री विना मगरले निकै उत्साहित हुँदै दसैं अगाडि नै काठमाडौंवासीले मेलम्चीको पानी पिउन पाउने दाबी गरेकी थिइन् । मन्त्री भए देखि नै मन्त्री मगरले अधिकांश सार्वजनिक कार्यक्रमहरूमा दसैंअघि काठमाडौंमा पानी ल्याएर छोड्ने दाबी गर्थिन् । दसैं आयो र गयो, तर काठमाडौंमा मेलम्चीको पानी आएन । आजकल उनले सार्वजनिक कार्यक्रममा यस्तो दाबी गर्न छाडेकी छिन् ।

मेलम्ची खानेपानी आयोजनामा काम गर्ने प्राविधिकहरूसँग अनौपचारिक रूपमा कुरा गर्दा उनीहरू निकै डरलाग्दा आँकडाहरू प्रस्तुत गर्छन् । धेरै काम सम्पन्न हुन बाँकी रहेको उनीहरू बताउँछन् । यो कुरा हाम्रा मन्त्री तथा संसद्हरूलाई पक्कै पनि थाहा छ । तर, उनीहरू देखावटी रूपमा नक्कली अनुमान गरिरहेका छन् । काकाकुलको नियति भोग्न बाध्य राजधानीवासीका लागि यहाँभन्दा ठूलो हेपाइ अरू हुन सक्दैन ।

प्रतिक्रिया