‘साझा समस्या समाधानका लागि एकता’

काठमाडौं । ‘एशिया प्रशान्त शिखर सम्मेलन –२०१८’ शनिबारदेखि सुरु भएको छ । सम्मेलनको उद्घाटन शत्रमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले २१औँ शताब्दी अनुकूल न्याय, शान्ति, समानता र समृद्धिका लागि साझा प्रयास आवश्यक भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले विज्ञान, प्रविधि, सञ्चारका क्षेत्रमा प्रगति भए पनि गरिबी, अशिक्षा, जलवायु परिवर्तन र स्वास्थ्य क्षेत्रका चुनौतीहरूको सामना गरिरहनुपरेको बताए । अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन, संस्कृति आदिका माध्यमबाट एशियाली मूल्य र मान्यताका साथ सहकार्य बढाउन प्रधानमन्त्री ओलीले आह्वान गरे ।

जलवायु परिवर्तन विकास र मानवीय अस्तित्वकै लागि चुनौती भएकाले हिमालहरूको पग्लने क्रम रोक्ने उपायहरूबारे सोच्नुपर्नेमा पनि उनले जोड दिए । प्रधानमन्त्री ओलीले नेपालको शान्ति प्रक्रियाको मूलभूत सफलता, संविधान निर्माण र निर्वाचनहरूको चरणपछि मुलुक विकास र समृद्धिको चरणमा रहेको पनि जानकारी गराए ।

प्रधानमन्त्री ओलीले विज्ञान, प्रविधि, सञ्चारका क्षेत्रमा प्रगति भए पनि गरिबी, अशिक्षा, जलवायु परिवर्तन र स्वास्थ्य क्षेत्रका चुनौतीहरूको सामना गरिरहनुपरेको बताए ।

शिखर सम्मेलनमा बोल्ने अधिकांश मुलुकका नेताले विश्वले हाल सामना गर्नु परिरहेको विभिन्न चुनौतीको सबै मुलुक मिलेर सामना गर्नुपर्नेमा जोड दिएका थिए । युनिभर्सल पिस फेडेरेसनद्वारा आयोजित उक्त सम्मेलनको उद्घाटन शत्रमा पूर्वप्रधानमन्त्री एवं सम्मेलन आयोजक समितिका संयोजक माधवकुमार नेपालले यस क्षेत्रका मुलुक आतंकवाद, चरमपन्थ, रोग र भोकबाट पीडित हुँदै आएको बताउँदै यी समस्याबाट मुक्ति पाउन यस सम्मेलनले निष्कर्ष निकाल्ने विश्वास व्यक्त गरे ।

उनले यस क्षेत्रका राष्ट्र जलवायु परिवर्तनबाट उत्पन्न समस्याबाट समेत पीडित भएकाले आपसी सहकार्यबाट चुनौतीको सामना गर्नुपर्ने बताए । नेपालले आधुनिक विश्वले सामना गर्नुपरेको समस्या समाधान गर्न शन्ति स्थापना गर्न राष्ट्रबीच आपसी सम्पर्क सञ्जाल स्थापना गरेर स्थिर र समुन्नत भविष्यका लागि मिलेर कार्य गर्नुपर्ने पनि उनले बताए ।

उनले कम्बोडियाका प्रधानमन्त्री हुन सेनले विश्वले अहिले व्यापार युद्ध, गरीबी, आतंकवाद, जलवायु परिवर्तन, खाद्य असुरक्षा, नैतिकतामा ह्रास, प्राकृतिक विपद्, हतियारको होडबाजीजस्ता समस्याको सामना गरिहेको उल्लेख गरे । उनले उक्त समस्या र चुनौती विकास सुरक्षा र विश्वका लागि हानिकारक भएको बताए ।

प्रधानमन्त्री सेनले यस सन्दर्भमा युनिभर्सल पिस फेडेरेसनले विश्वका समसामयिक चुनौतीमाथिको बहस गर्न एशिया प्रशान्त सम्मेलनको आयोजना गरेकामा प्रशंसा गर्दै विश्वमा शान्ति, स्थायित्व, सुरक्षालगायत विषयमा सबैको चासो रहेको बताए । विश्व र हाम्रो क्षेत्र (एशिया प्रशान्त)ले निरन्तर व्यापार युद्ध र आधारभूत आरक्षणमा आर्थिक प्रतिस्पर्धाजस्ता चुनौतीको सामना गरिरहेको सेनले उल्लेख गरे ।

उनले मुख्य अन्तर्राष्ट्रिय सम्झौताबाट विश्व महाशक्ति देश पछि हटेकामा कम्बोडियाको गम्भीर चासो रहेको बताए । कम्बोडिया सानो अर्थतन्त्र भएको मुलुक हो र समावेशी आर्थिक वृद्धिका लागि शान्ति र सुरक्षा महत्वपूर्ण हुने आफूहरूको अनुभव रहेको उनले अवगत गराए ।

विगतमा आन्तरिक द्वन्द्व र गृहयुद्धको सामना गरी आर्थिक गरीबीको चपेटामा परेको कम्बोडियाले हाल तीव्र आर्थिक वृद्धिदर गरिरहेको अवगत गराउँदै उनले कम्बोडियाको आर्थिक विकास विश्वमै सफल उदाहरण बनेको बताए ।

यस क्षेत्रको विकास र भविष्यका लागि कम्बोडिया उच्च आशाका साथ प्रतिबद्ध रहेको बताउँदै उनले सबै मुलुकबीच शान्ति, सुरक्षा र समृद्धिका लागि स्थिर र सकारात्मक सम्बन्ध हुनुपर्नेमा जोड दिए ।

सम्मेलनको उद्घाटन सत्रमा युनिभर्सल पिस फेडेरेसनका संस्थापक डा हाक जा हान मुनले संस्थाका काम कारवाहीमाथि प्रकाश पार्दै विश्वमा शान्ति स्थापना गर्ने आफूहरूको प्रमुख उद्देश्य भएको धारणा व्यक्त गरे । युनिभर्सल पिस फेडेरेसन (युपिएफ) का अन्तर्राष्ट्रिय अध्यक्ष डा थोमस जि वाल्सले युपिएफ गैरसरकारी संस्था भएको र यसले विश्वभर आस्थामा आधारित र नागरिक समाजसँग मिलेर १ सय ५० देशमा काम गरिरहेको बताए ।

प्रतिक्रिया