सामाजिक संकीर्णताले हौसायो हिमाल चढ्न

सुदूरपश्चिमको बझाङ जिल्लाको साइपाल गाउँपालिकामा रहेको साइपाल हिमालको आरोहण आजसम्म कसैले पनि गर्न सकेका छैनन् । समुद्र सतहदेखि ७ हजार ३१ मिटरको उचाइमा रहेको उक्त हिमाल आरोहण गर्न गएको महिना बझाङकै चार युवतीले प्रयास गरे । त्यसको नेतृत्व गरेकी थिइन् लक्ष्मी बुढाले । उनीहरूको प्रयास सफल भएको भए तीनवटा इतिहास रचिने थियो । पहिलो बझाङी आरोही, पहिलो साइपाल आरोही र पहिलो महिला साइपाल आरोही । तर, उनीहरूको प्रयासमा बाधक बन्यो, मौसम । हिमाल आरोहीहरूका लागि प्रायः मौसम बाधक बन्ने गर्छ । ५ हजार ५ सय मिटरको उचाइमा पुगेपछि उनीहरू फर्किन बाध्य भए । समाजमा रहेका अनेकौँ अन्धविश्वास चिर्ने र चुनौतीपूर्ण काम गर्ने आकांक्षा लिएका पूर्व माओवादी लडाकुसमेत रहेकी हिमाल आरोहण दलकी प्रमुख लक्ष्मीसँग सौर्य दैनिकका लागि चमिना भट्टराईले गरेको टेलिफोन संवादको सम्पादित अंशः

बझाङ जिल्लाको साइपाल गाउँपालिकामा रहेको साइपाल हिमाल सुदूरपश्चिमकै प्रमुख पर्यटकीय गन्तव्य मध्येको एक हो । समुद्र सतहदेखि ७ हजार ३१ मिटरको उचाइमा रहेको उक्त हिमालको अहिलेसम्म कसैले पनि सफल आरोहण गर्न सकेका छैनन् । तर, प्रयास गर्नेहरू भने थाकेका छैनन् । यही प्रयासमा जुटेका थिए, अघिल्लो महिना बझाङका चार युवतीसहित ६ विदेशी नागरिक ।

१५ वर्षअघि १४-१५ वर्षको कलिलो उमेरमा समाज परिवर्तन गर्न हिँडेकी बझाङ साइपाल गाउँकी लक्ष्मी बुढालाई आफ्नै गाउँको सामाजिक संकीर्णताले मन कुडाउँने गथ्र्यो । आफूले भोगेको सामाजिक वातावरणले सधैँ केही चुनौतीपूर्ण काम गरूँ भन्ने लागिरहन्थ्यो, उनलाई । अन्धविश्वास र धर्मका नाममा आफू र वरपरका महिलाले भोगेको दुःखले उनलाई सधैँ पोल्ने गर्दथ्यो । एक दिन केही न केही गरेर यी सबै अन्धविश्वास गलत हुन् भनेर प्रमाणित गर्ने मन थियो, उनलाई ।

समाजमा सांस्कृतिक क्रान्ति गरेर सबै प्रकारका अन्धविश्वास र कुरीति हटाउने अभियानमा लागेकी उनी अहिले पनि ती कुरीतिको जञ्जिरबाट आफैँ निस्कन सकेकी छैनन् । ‘छाउ कु–प्रथाका नाममा महिलाले महिनावारी भएका वेला नारकीय जीवन भोग्नुपर्छ । हाम्रो समाजमा अन्धविश्वासभन्दा ठूलो केही छैन महिनावारी भएका वेला घरदेखि टाढा बनाइएको सानो झुपडीमा जाडोमा पनि सामान्य कम्बलको भरमा रात काट्नुपर्छ’ उनले आफू र आफ्नो समाजमा महिलाले भोग्दै आएको भोगाइ यसरी सुनाइन् ।

‘हजार चोटि प्रयास गरेँ, समाज फेर्न सकिनँ । मेरो समाजका कैयौँ छाउ गोठ भत्किए । तर, यहाँको त्यो गलत सोचाइ भने भत्किएन । ‘कैयौँ कुरा आफूले चाहेर मात्रै पनि नहुँदो रहेछ, जतिवेला म क्रान्ति गर्ने र समाजका सबै प्रकारका विभेद र कुुंस्कार हटाउने भनेर लागेकी थिएँ, थाहा थिएन मलाई तिनै कुरीतिले बाँधी राख्छ भन्ने,’ उनले भनिन्, ‘मेरो समाज र यहाँको सामाजिक सोच मभन्दा पनि धेरै बलियो रहेछ, त्यसलाई कुनै राजनीतिक परिवर्तनले बदल्न सकेन, यहाँको धार्मिक अन्धविश्वास मैले बुझेको दर्शनभन्दा निकै शक्तिशाली रहेछ, फेर्ने सकिएन ।’

सुदूरपश्चिमका जिल्लामा सबैभन्दा अन्धविश्वासको रूपमा रहेको ‘छाउ कुप्रथा’ उनका लागि अहिले पनि बाध्यकारी छ । उनको मनले ‘छाउ’ महिनावारी भएका वेला गोठमा बस्नु र खानपानमा बार्नुलाई गलत ठान्छिन्, तर, के गर्नु उनी बसेको समाज र अदृश्य भगवान् रिसाउने नाममा महिलालाई महिनावारी भएका वेला गाठमा बस्न लगाउँछन् । उनले बुझेको राजनीतिक चेतना र दर्शन समाजका अघि त्यसै फिक्का भई दिन्छ । जसको सिकार हाम्रै आमा, दिदी अनि सबै चेली बनिरहेका छन् ।

मुलुक सशस्त्र द्वन्द्वको उत्कर्ष पुगेका वेला उनी माओवादीको सांस्कृतिक विभागमा आबद्ध भइन् । त्यतिवेला आफूले समाज परिवर्तन गर्न ‘क्रान्तिको सपना’ देखेको उनी बताउँछिन् । सुदूरपश्चिमको दुर्गम गाउँमा हुर्किएकी उनलाई माओवादी बन्दा कुनै दिन हिमालमा चढौँला भन्ने अनुमान पनि थिएन । आफू हुर्केको समाजको संकीर्णता र सामाजिक सोच देखेर केही नयाँ काम गर्ने ईच्छा भने उनमा थियो । यस्तैमा उनको मनमा लाग्यो आफ्नै गाउँमा पर्ने साइपाल हिमाल आरोहण किन नगर्ने ?

उनी हुर्केको समाजमा हिमालमा ‘देउता’ त्यो उच्च ठाउँ र पवित्र भूमिमा छोरी चेलीले टेक्नु नै हुँदैन जानै हुँदैन भन्ने धारणा बलियो रूपमा रहेको उनले बताइन् । त्यसमा पनि महिनावारी भएको समयलाई अपवित्र मानिने भएकाले पनि त्यो समयमा त झनै जानै नहुने सोचाइ छ ।

त्यो सोचाइलाई तोड्नका लागि पनि उनले हिमाल चढ्ने दह्रो योजना बनाइन् । उनी आफ्नो योजनामा सफल भएको भए बझाङ जिल्लाकै पहिलो हिमाल आरोही र साइपाल टेक्ने पहिलो व्यक्ति, साइपाल टेक्ने पहिलो महिला बन्ने थिइन् । तर, उनले त्यो पूरा गर्न सकिनन् उनका चाहनामा बाधक बन्यो मौसम । जसका कारण उनीलगायत उनका टिममा रहेका सबै बाटैबाट फर्किए ।

नयाँ र चुनौतीपूर्ण काम गर्ने सोच बानाइरहेकी लक्ष्मीका लागि ‘मिसन साइपाल’ नामको संस्था योजना सफल बनाउने सहयात्री बनेर आयो । कैयौँ कामका लागि योजना बनाएर मात्रै हुँदैन । लक्ष्मीसँग पनि हिमाल चढ्ने सपना थियो तर स्रोत र साधन थिएन । त्यसैले, उनको योजना मनमा मात्रै थियो व्यवहारमा प्रयोग हुन सकेको थिएन ।

उनले आरोणका लागि बझाङकै अन्य तीनजना महिलालाई साथमा लिएर टोलीको नेतृत्व आफै गर्दै थिइन् । सुदूरपश्चिमको विकट गाउँमा हुर्केका उनीहरूको सपना सामान्य थिएन । कठिन र चुनौतीपूर्ण पनि थियो । कतिले हिमाल चुम्ने कुरा सोच्नसम्म सक्दैनन् थिए तर उनीहरू भने चुम्न आतुर थिए ।

०७४ को चैत्रमा उनले ‘मिसन साइपाल’ मार्फत उक्त अवसर पाइन । त्यसपछि उनमा साइपाल चुम्ने कुराले आकर्षित गर्दै गयो । उनका अघि स्रोत र साधन थिए, साथमा उच्च आकांक्षा बाँकी थियो, आरोहणका बारेमा लिनुपर्ने प्राविधिक ज्ञान र तालिम । त्यसका लागि उनले काठमाडौंमा आएर १५ दिनको आधारभूत तालिम लिइन् । पासाङ ल्हामु ट्रेनिङ सेन्टरबाट । हिमाल आरोहणका बारेमा जानकारीसम्म नभएका उनीहरूका लागि १५ दिने तालिम पर्याप्त थिएन । तर, पनि उनीहरूले त्यसैको आधारमा आरोहण गर्ने आफ्नो दृढता जारी राखे ।

‘हामीले कात्तिक १ गते बझाङबाट यात्रा सुरु गरेका थियौँ । फर्किएर घर पुग्दा कात्तिकको २५ गते भएको थियो । हाम्रो सपना साइपालको चुचुरो चुम्ने थियो । हेर छोरी पनि हिमाल चढ्न सक्छे तिमीहरूको देवता बस्ने ठाउँ टेक्न सक्छे भनेर प्रमाणित गर्नु थियो । तर, मौसमका कारण हाम्रो सपना पूरा भएन । ५ हजार ६ सय मिटरको उचाइमा पुगेर फर्कनु पर्यो ।

हामीसँग उचाइ नाप्ने यन्त्रसम्म थिएन । हाम्रो टोलीमा रहेका विदेशीहरूसँग उचाइ नाप्ने यन्त्र थियो उनीहरूले भने, अहिले हामी ५ हजार ६ सयको उचाइमा छौँ । त्यहाँबाट अघि बढ्न हामीलाई मौसमले साथ दिएन । हामी सफल भएको भए बझाङबाट हिमाल आरोहण गर्ने पहिलो हुने थियौँ र साइपाल टेक्ने पहिलो महिला पनि भनेर । हामीले सपना पूरा गर्न सकेनौँ र इतिहास रच्न पनि सकेनौँ । यसमा भने दुःख लाग्छ,’ उनले भनिन् ।’

‘हाम्रो टोलीमा चारजना बझाङी महिला थिए । अन्त्यसम्म विदेशी ६ जना र हामी चार गरी १० जनाको टोली थियो फकिँदा । त्यहाँ पुग्दासम्म हाम्रो शारीरिक र मानसिक अवस्था ठीकै थियो । जतिमाथि जान्थ्यौँ, हामीमा उत्साह पनि बढ्दै थियो । शरीरमा चिसो र हामीमा रोमाञ्च बढ्दै थियो । अनेक चुनौतीलाई चिर्नु थियो ।

समाजमा उदाहरण बनेर देखाउनु थियो । त्यसपछि राष्ट्रका लागि नाम राख्नु अनि इतिहास रच्नु पनि थियो । अर्कातिर हामीले समाजलाई हामी ठीक छौँ तिमीहरूले लिएका सोचाइ पूरा गलत हुन पनि भन्नुथियो ।’ उनले भनिन् । तर, हाम्रा ती सुन्दर सपना ५ हजार ६ सय मिटरभन्दा माथि जानै सकेनन् । यही समाजका चेली हामै्र समाजको हिमाल चढेर आए भनेर सुनाउन पाएनौँ ।’

‘जहाँबाट फर्कियौँ, त्यसको भोलिपल्टमाथि चुचुरोमा पुग्ने योजना थियो । तर, रातीदेखि हिउँ पर्न थाल्यो । हामी बसेको वरपर तिन फिटभन्दा बढी हिउँ प¥यो । हिँउसँगै हावा चल्न थाल्यो । त्यहाँको मौसमका कारण हामी फर्कन बाध्य भयौँ । त्यो मौसममा हिमाल आरोहण खतरा हुन्छ भन्ने विदेशीहरूको पनि धारणा रहेपछि हामी पर्किएका हौँ ।’ ‘त्यहाँको मौसम बिग्रिएपछि लाग्यो बाँचियो भने पो केही गरौँला मरियो भने त कसरी गर्ने भनेर फिर्कियौँ ।’

‘हिमाल आरोहण गर्ने सोचमा पुगेपछि परिवारमा भने, पतिलगायत परिवारका अन्य सदस्य मेरो कुरा सुनेर हाँसे । अहिलेसम्म कसैले साइपाल टेकेको छैन । कसैले नगरेको काम तँलाई किन गर्नुपर्यो । तँ पनि हिमाल चढ्ने भनेर हाँसे । उनीहरूका लागि हामी छोरी बुहारी हिमाल चढ्ने कुरा गर्नु पनि अनौठो थियो । सामाजिक अन्धविश्वासको चौघेराभित्र हामी पनि बसून भन्ने उनीहरूको चाहना थियो । तर, हामी भने मानसिक रूपमा साइपाल टेक्ने कुराबाट तलमाथि हुने अवस्थामा थिएनौँ । उनीहरूलाई हामीले जसरी पनि साइपाल चढ्ने भनेपछि पतिलाई सम्झाउन सफन भएँ । अरूले सहमति दिएनन् ।’

‘हामीले यात्राका लागि सबै तयारी गर्याँ । हाम्रो योजनामा हाँस्ने र हसाउने क्रम जारी थियो । संयोगवश भन्नुपर्छ । हिमाल आरोहणमा निस्कने दिन म महिनावारी भएकी थिएँ । जुन कुराको म सधैँ विरोध गर्ने महिनावारी महिलाका लागि सामान्य प्रक्रिया हो भन्थेँ र छाउका नाममा महिलाले भोग्दै आएको गलत सोचाइ फेर्नु पर्छ भन्थेँ । म आफैलाई भने त्यो दिन महिनावारी भएकोमा खुसी लागेको थियो । सोचेकी थिएँ अर्को पनि प्रमाणित गर्नेछु महिनावारी हुनु अपवित्र होइन भनेर ।’

तर, म र मेरा साथीहरूले जुन–जुन कुरा प्रमाणित गर्न खोजेका थियौँ पूर्ण रूपमा सकेनौँ । यात्राका क्रममा हामी चारै जना महिनावारी भयौँ । साइपालको चुचुरो टेक्न नसकेर फर्किएका हामीलाई आफन्त र समाजले भन्ने गरेका छन्, हामीले भनेका थियौँ, नि । नजाओ, महिलाले हिमाल टेक्नु हुँदैन हिमालमा देउता बसेका हुन्छन् । उनीहरूका सोचाइमा देउताले नचाहेका कारण हामी माथि जान सकेनौँ भन्ने छ । भगवान् बस्ने ठाउँमा तिमीहरू कसरी जान सक्थ्यौ भन्छन्, उनीहरूका अघि तिनै कुरा अहिले बलिया भएका छन् ।

मौसमका कारण शिखरमा पुग्न नसके पनि उनले आफ्नो प्रयासलाई नै सफलता मानेकी छन् । उनी भन्छिन, ‘हाम्रो समाजमा छाउ भएका वेला महिलाले धारा, कुवा-पधेँरो, नदी आदि छुनु हुँदैन भन्छन् तर, म छाउ भएकै वेला हिमालको छेउसम्म पुगेर आएँ । यहाँका पुरुषले आँट नगरेको काम हामीले गर्यौँ । समाजले जे भने पनि महिनावारी भएका कारण असफल भएको कुराले केही फरक पारेको छैन । महिनावारी हुनु सामान्य ठान्थेँ, अहिले पनि त्यसै ठान्छु,’ उनले भनिन्, ‘छाउ भएका वेला हिमाल चढ्दा केही हुँदैन भन्ने सबैलाई देखाउनु थियो ।’

पहिलो आरोहण असफल भए पनि उनको ईच्छा भने मरेको छैन, ‘म आफैँ लगानीमा त आरोहण गर्न सक्दिनँ, रोयल्टी नै महँगो रहेछ,‘ मिसन साइपाल’ ले जस्तै सहयोग गरिदिने संस्था पाएमा अधुरो प्रयास पूरा गर्नेछु, उनले भनिन्, साइपाल त मेरो गाउँठाउँको हिमाल हो अवसर पाए सगरमाथा चढ्ने थिएँ’ लक्ष्मीका लागि आरोहण नयाँ कुरा थियो । तर, साइपाल आरोहणको प्रयासले अवसर पाएमा जे पनि गर्न सकिने आत्मविश्वास उनमा पलाएको छ ।

समाजको कुरीति र अन्धविश्वास हटाउने अभियानमा लागेर जीवनका महत्वपूर्ण समय खर्चेकी लक्ष्मीलाई चुनौतीपूर्ण काम गरेर समाज र राष्ट्रको नाम राख्ने आकांक्षाले सधैँ पिरोल्ने गर्छ । ‘पहिला त छाउ गोठमा महिलालले भोेगेका कष्ठ, महिलाका समस्या, सामाजिक कुरीति मात्रै देखेकी थिएँ ।

साइपालको छेउसम्म पुगेर आएपछि धेरै कुरा देखेँर र बुझेँ अब हामीले अझ धेरै गर्नु पर्नेरहेछ भन्ने ठानेकी छु । आरोहणको तयारी र फर्किएपछि धेरैसँग सम्पर्क भयो, यति धेरै चर्चा होला भन्ने ठानेकै थिइनँ । चर्चा पनि पाइयो । आँट गरे हिमाल चढ्न सकिँदो रहेछ भन्ने थाहा पाइयो । त्यसैले, अब अवसर पाएमा साइपाललगायत अन्य हिमाल चढ्न सकिन्छ भन्ने आँट दरिलो भएर आएको छ । तस्बिर लक्ष्मीको फेसबुकबाट

प्रतिक्रिया