‘कागजमा होइन काममा विकास देखाउनुहोस्’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका काम कागजमा मात्रै नभई व्यवहारमा पनि उतार्न मन्त्री र सचिवलाई निर्देशन दिएका छन् । तीन दिनसम्म भएको सरकारको चौमासिक समिक्षापछि उनले काममा केन्द्रीत र जवाफदेही हुन निर्देशन दिएका हुन् ।

सरकारको काम कारबाहीमा जनस्तर र स्वयं प्रधानमन्त्री रुष्ट बनिरहेका वेला भएको समिक्षामा हरेक दिन विकासको काम एक कदम अघि बढाउन पनि भनेका छन् ।

प्रधानमन्त्री ओलीले मन्त्रालयले पेस गरेका अहिलेका विवरण केही सन्तोषजनक भए पनि काम भने गरेर देखाउने वेला आएको बताए । काममा परिणाम नआउने, काम नगर्ने तर प्रतिवेदनमात्र चुस्त बनाउँदा जनताले सेवाको अनुभूति नगर्ने भएकोले परिणाम देखिने गरी काम गर्नसमेत निर्देशन दिए ।

कामको समिक्षा गरेपछि अब केही दिनमै प्रधानमन्त्रीले सबै मन्त्रिलाई मूल्याकंनका आधारमा अंक दिने, पछि परेका मन्त्रीहरूलाई पुनः एकपटक प्रधानमन्त्रीले निर्देशन दिने र त्यसमा पनि काम गर्न नसके कठोर विकल्प सार्ने

प्रगति प्रतिवेदन बैठक परिकल्पनाको समिक्षा नभई कार्यान्वयनको अवस्थाको जानकारी लागि भएकाले अझै तीव्र भएर काम गर्नुपर्नेमा उनले जोड दिए । ‘यो बैठक परिकल्पनाको समीक्षा होइन, सरकारका नीति, कार्यक्रम र बजेटको हालसम्मको कार्यान्वयनको अवस्था थाहा पाउनका लागि आयोजना गरिएको हो,’ प्रधानमन्त्री ओलीले भने, ‘मन्त्रालयहरू केही न केही रचनात्मक हुन खोजेका छन् ।

कार्यान्वयनको राम्रै सुरुआत भएको छ । तर, यसलाई तीव्रता दिनु पर्दछ ।’ आर्थिक वर्ष ०७५÷७६ को नीति तथा कार्यक्रम एवं बजेटको कार्यान्वयन समिक्षामा उनले वर्तमान सरकार गहन जिम्मेवारीसहित सफल हुनै पर्ने भएकोले सबैले त्यसै अनुसार काम गर्न स्मरण समेत गराएका छन् ।

प्रधानमन्त्री कार्यालयको उच्च स्रोतका अनुसार कामको समीक्षा गरेपछि अब केही दिनमै प्रधानमन्त्रीले सबै मन्त्रिलाई अंक दिने बताएको छ । सो अंकमा पछि परेका मन्त्रीहरूलाई पुन एकपटक प्रधानमन्त्रीले बोलाएर निर्देशन दिने भएका छन् । सो निर्देशनपछि पनि उनीहरूले काम गर्न नसके प्रधानमन्त्रीले कठोर विकल्प सार्न सक्ने स्रोतले दाबी गरेको छ ।

शनिबारको समीक्षाको बैठकमा प्रधानमन्त्री ओलीले मन्त्री र सचिवलाई समेत विदेश भ्रमण कम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले अनावश्यक र रहरका आधारमा विदेश भ्रमण नगर्न मन्त्री र सचिवलाई निर्देशन दिएका हुन् । सरकारले मितव्ययी नीति लिएकोले हरेक कुरा कम खर्चमा सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन छ ।

बैठकपछि अर्थमन्त्री डा. युवराज खतिवडाले प्रक्रियामा लामो समयसम्म मन्त्रालय अल्झिएको निष्कर्ष निकालिएको जानकारी दिए । ‘अब प्रक्रियालाई नजितामुखी बनाउने गरी छिटो अघि बढ्नुपर्यो’, उनले अगाडि भने, ‘केही कार्यक्रममा बजेट अपुग भएको देखियो ।

अधिकार क्षेत्रभित्र रहेर रकामान्तर गरेर कार्यक्रम अगाडि बढाइने छ ।’ थप रकम दिने अवस्था नभएको भन्दै उनले भएको बजेटबाट व्यवस्थापन गरी जनस्तरमा प्रभाव गर्ने राम्रा आयोजनाहरू तत्काल कार्यान्वयन गरिने बताए ।

समीक्षा बैठकमा गृह मन्त्रालयका सचिव प्रेम कुमार राई, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले आ–आफ्नो मन्त्रालयको प्रगति विवरण पेस गरेका थिए ।

यसैगरी रक्षा सचिव बिष्णु प्रसाद लम्साल, संघीय मामिला तथा सामान्य प्रशासन सचिव दिनेश थपलीया, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव बुद्धि बहादुर खड्का, कानुन, न्याय तथा संसदीय मामिला सचिव राजीव गौतम र अर्थ मन्त्रालयका सचिव राजन खनाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव सुशीलनाथ प्याकुरेलले मन्त्रालयको प्रगति विवरण पेस गरेका थिए । यसअघि गत बुधबार र बिहीबार पनि विभिन्न मन्त्रालय तथा प्राधिकरणको काम कारबाहीका विषयमा समीक्षा भएको थियो ।

प्रतिक्रिया