नृत्य उर्जा र सिर्जनाको स्रोत

नृत्य विभिन्न किसिमका कलामध्ये निकै पुरानो कलाको रूपमा चिनिन्छ । यस कलाको बयान विभिन्न कालखण्डमा व्यापक रूपमा गरिँदै आएको पाइन्छ । प्राचीन समयमा भाषा साहित्य तथा वाद्ययन्त्रको सिर्जना हुनुभन्दा नै पहिला नृत्यकलाको विकास भएको र यसको माध्यमबाट नै मानिसहरू आफ्ना मनका भावना अभिव्यक्त गर्दथे ।

सर्वप्रथम मानिसले आफूलाई मनोरञ्जन लिनको लागि आफ्ना मनभित्रका भावहरू जसरी कला पूर्णरूपमा अभिव्यक्त गरिन्छ त्यो नै नृत्य हो । वर्तमान समयमा आफ्ना मनका भावना सङ्गीत र तालको माध्यमबाट सहयोग लिइ आफ्ना शरीरका अंगप्रत्यंगको परिचालनद्वारा जून कुराको अभिव्यक्त गरिन्छ त्यसलाई नृत्य भनिन्छ ।

प्रकृतिमा रहेका प्रत्येक जीवहरू आफ्नो प्रकृति (स्वभाव) अनुसार नृत्य गर्ने गर्दछन् । कोही ईश्वर प्राप्तिको लागि त कोही प्रसन्नता व्यक्त गर्न त कोही विलासिता प्राप्त गर्नको लागि नृत्य गर्दछन् । नृत्यमा गीत र वाद्यधुनको महत्वपूर्ण भूमिका हुन्छ । वास्तवमा संगीतको तालमा भाव र मुद्रासहित अभिनय गर्नु नै नृत्य हो । नृत्यका बारेमा विभिन्न विद्वानका भिन्न भिन्न मत रहेको पाइन्छ । ती यस प्रकार छन्,

अङ्गवि क्षेपवैशिष्टयं जनचितानुरञ्जनम् ।
नटेन दशिंत यत्र नर्तन कथ्येत तु स ।।
‘नटले विशिष्ट अंग सञ्चालनको प्रदर्शनद्वारा जनताको चित्तलाई प्रसन्न गराउछ भन्ने त्यस्तो क्रियालाई नर्तन (नृत्य) भनिन्छ ।’ –नृत्य शास्त्र

भावनामा गीतको नाम नै नृत्य हो । –इन्साइक्लोपिडिया ब्रितानिका

मानिसले जब आफ्ना गहनतम मनोभावहरूलाई शब्दमा व्यक्त गर्दछ । त्यसलाई काव्य भनिन्छ जब शारीरिक चेष्टाद्वारा मनोभावलाई व्यक्त गर्दछ, त्यसलाई नृत्य भनिन्छ । अझ यसो भनौ कि नृत्य काव्यको शारिरिक रूप हो । मानिसले युगैयुगदेखि कहिले शब्दद्वारा र कहिले शारीरिक चेष्टाद्वारा आफ्ना करुण, वीर तथा रौद्र भावनालाई व्यक्त गर्दै आएको छ । यिनै शारीरिक चेष्टाको परिष्कृत रूप नै नृत्य हो । –वीरेन्द्रमोहन रतुडी

सांगीतिक धुन र गीतका साथमा शरीरका अङ्ग, प्रत्यङ्ग र उपाङ्गको समुचित सञ्चालन गर्दै आफ्नो मनका भावना अभिव्यक्त गरिने कला नै नृत्य हो । –कृष्णप्रसाद पौडेल
नृत्यको वर्गीकरण

‘नृत्’ धातुमा ‘क्त’ प्रत्यय लागेर नृत्य शब्द निर्मित हुन्छ । यसको शाब्दिक अर्थ हो नाच्नु, अभिनय गर्नु, हाउभाउ गर्नु, शरीरका अंगहरूलाई सुन्दर ढंगबाट प्रदर्शन गर्नु आदि हो । नृत्य शास्त्रका अनुसार संगीतका साथमा विभिन्न सुन्दर अंग मुद्रासहित भावको सूक्ष्म अभिनय गर्नुलाई नृत्य भनिएको छ । नृत्यशास्त्रीहरूले नृत्यको वर्गीकरण निम्न अनुसार गरेका छन् ।

(क) विश्वव्यापी रूपमा नृत्यलाई मुख्यगरी तिन भागमा विभाजन गर्न सकिन्छ ।
(१) लोक नृत्य (२) शास्त्रीय नृत्य (३) आधुनिक नृत्य
(ख) शैलीको आधारमा नृत्यलाई मुख्य रूपले दुई भागमा विभाजन गर्न सकिन्छ ।
(१) ताण्डव नृत्य (२) लास्य नृत्य

(ग¬) नृत्यमा रहने कलाकारको संख्याको आधारमा नृत्यलाई तिन भागमा विभाजन गर्न सकिन्छ ।
(१) एकल नृत्य (२) युगल नृत्य (३) सामूहिक नृत्य

(घ) दश रूपककार धनञ्जयका अनुसार नृत्य दुई भागमा विभाजन गर्न सकिन्छ ।
(१) मार्गी नृत्य (२) देशी नृत्य

(ङ) स्टान्डर्ड डिक्सनरी अफ फोकलोर मिथोलोजी एन्ड लिजेन्डको अनुसार नृत्यलाई चार भागमा वर्गीकरण गरिएको छ ।
(१) आदिम तथा लोक नृत्य
(२) जातीय नृत्य
(३) सामाजिक नृत्य
(४) राष्ट्रिय नृत्य

(च) नृत्य विश्लेषक एवं नृत्य शास्त्री के.पी. पौडेलका अनुसार नृत्यलाई निम्न सात भागमा विभाजन गर्न सकिन्छ ।
(१) लोक नृत्य
(२) आधुनिक लोक नृत्य
(३) शास्त्रीय नृत्य
(४) अर्धशास्त्रीय नृत्य
(५) परम्परागत नृत्य
(६) आधुनिक नृत्य
(७) अत्याधुनिक नृत्य

नृत्यका विशेषता एवं तत्वहरू
मानव सभ्यताको विकासक्रम सँगसँगै विभिन्न सस्कृति र कलाको सिर्जना मानिसले गर्दै आएका छन् । तिनै सिर्जना गरिएका कलामा जुन लालित्य युक्त अर्थात् सौन्दर्ययुक्त कला छ, त्यसलाई हामी ललितकला भन्दछौ । मानव मनका सुक्ष्मतम भावलाई सुकुमार एवं सौन्र्दयपूर्ण बनाएर व्यक्त गरिने कलालाई ललितकला भनिन्छ । मानव सिर्जित ती सबै वस्तुहरू ललितकला होइनन् ।

ललितकला त त्यो कला हो, जसले सत्यम्, शिवम् र सुन्दरम्को अभिव्यक्ति दिन्छ र उसमा प्राकृतिक सृष्टिबाट अपुग भएको नवीन सौन्र्दयको सृष्टि गर्ने क्षमता रहन्छ ।

नृत्य कला पनि ललितकलाको उत्कृष्ट विधाभित्र पर्दछ । जुनसुकै कलामा पनि आ–आफ्नै मौलिक विशेषताहरू रहने गर्दछ । पृथक अस्तित्व कायम गर्न यी विशिष्टताले विशेष भूमिका खेल्दछन् । नृत्य ललितकला भित्रकै एक महत्वपूर्ण एवं चर्चित कला हो । नृत्यमा लोक कला र ललितकलाको आफ्ना मौलिक विषेशताहरू पाइन्छन् । मानव समाजमा नृत्य लोकप्रिय हुनुमा नृत्यको आफ्नै विशेषताहरू छन् । तिनको व्याख्या निम्नानुसार गर्न सकिन्छ ।

(१) मनोरञ्जनः
मानिसलाई सुख होस् या दुःख जुन सुकै अवस्थामा पनि मनोरञ्जन र पीडाहरूबाट मुक्ति दिनु नृत्यको प्रमुख विशेषता हो । मनका पीडा र कुण्ठालाई पन्छाई स्वतन्त्र, उन्मुक्त एवं हार्दिक भावनाको उद्दीप्ति गराई मानव मनलाई शान्त बनाउने कार्य नृत्यले नै गर्दछ ।

सुखको बेलामा पनि खुसियाली बाँड्न मानिसले नृत्यको साहारा लिएको हुन्छ भने दुःखको बेलामा पनि उसले सबै पीडालाई नृत्यको साहारा लिएर बिर्सन चाहन्छ । पीडा बिर्सनु तथा आनन्द प्राप्ति गर्नु नृत्यको मूल कार्य हो । अतः मनोञ्जनलाई नृत्यको मूल विशेषता मान्न सकिन्छ ।

(२) जातीय सस्कृतिको संरक्षणः
प्रत्येक जातिहरूमा आ–आफ्नै मौलिक सस्कृति रहेको हुन्छन् । जातीय सस्कृतिको एक महत्वपूर्ण रूप नृत्य संस्कृति हो । नृत्यको माध्यमबाट मानिसहरू आफ्नो परम्परा, रीतिरिवाज आदिको प्रस्फुटन गर्दछन् । मानव मनमा रहेका देवी देवताप्रतिको स्वरूप आस्था र श्रद्धालाई दृश्यरूपमा प्रकट गर्ने काम नृत्यले गरेको हुन्छ । लोकपरम्परा र रीतिरिवाजको प्रदर्शन तथा संरक्षण नृत्यको महत्वपूर्ण योगदान रहेको हुन्छ ।

गीत, संगीत, वाद्ययन्त्रहरू, भेषभुषा, गरगहना, चालचलनको तथा जातीय पहिचान हुने अन्य विषय वस्तुलाई पनि नृत्यको माध्यमबाट संरक्षण गरिएको हुन्छ । अन्तमा, हामी के बुझ्न सक्छौँ भने जातीय संस्कृतिको संरक्षणमा नृत्यको महत्वपूर्ण योगदान रहेको छ ।

(३) कलात्मकताः
नृत्य ललितकलाको महत्वपूर्ण भाग हो । आफ्नो मनभित्र रहेका भावलाई शारीरिक अंग सञ्चालनको माध्यमबाट प्रस्तुत गर्नु नै नृत्य हो । नवीन सौन्र्दयको सृष्टि नृत्य कलाबाट प्रस्तुत गर्न सकिन्छ । कुनै पनि व्यक्तिले आफ्ना भावनालाई कलात्मक ढंगबाट नृत्यकलाको माध्यबाट प्रस्तुत गर्न सक्छ । ललितकला एवं नृत्य लोककलाको उत्पति, विकास र संरक्षणमा नृत्यको विशिष्ट भूमिका रहेको छ ।

(४) रागात्मकताः
नृत्यको महत्वपूर्ण विशेषता रागात्मकता पनि हो । सबै प्रकारका नृत्य रसमय हुन्छ । नृत्यमा हुने गीत, संगीत र अभिनयले श्रृंगार, वीर, करुण, रौद्र, भयानक आदि भाव प्रस्फुटित गर्दछ । ती भावहरूबाट दर्शकको मनमा रागात्मक भाव सञ्चालन हुन्छ । दर्शकहरू कहिले रुने, कहिले हाँस्ने, कहिले डराउने गर्दछन् । नृत्यले मानिसको मानसिक परिवर्तन गर्दछ यो नृत्यको विशेषता हो ।

(५) व्यायामः
नृत्यबाट मानसिक आन्नद मात्रै प्राप्त नभएर यसबाट शारीरिक व्यायाम पनि हुने गर्दछ । शरीरलाई स्वस्थ र सुन्दर बनाउने काम नृत्यले गर्दछ । नृत्यले अनुशासन कायम गर्न पनि प्रेरणा दिइरहेको हुन्छ । नृत्यले समूहमा मिलेर बस्ने, मिलेर काम गर्न पनि नृत्यले सघाउ गरिरहेको हुन्छ । व्यायामले शारीरिक र मानसिक शुद्धि बनाउनुको साथै मर्यादित र अनुशासित बन्न प्रेरित गर्दछ ।

नृत्यका तत्वहरूः

नृत्य लालित्य गुणयुक्त कला हो । यसका विभिन्न तत्वहरू रहेका हुन्छन् । नृत्यका संरचक तत्वहरू के के हुन् ? यस विषयमा धेरै मन्थन भएको पाइन्छ । नृत्यका तत्वका बारेमा विभिन्न विद्दानको भनाइलाई हामी निम्नानुसार व्याख्या गर्न सक्छौ ।

पूर्वीय नृत्य शास्त्रमा नृत्यका तत्वका रूपमा गीत, वाद्य र अभिनयलाई लिइएको छ । यी तीन तत्वको त्रिवेणी नै नृत्य हो ।
भरतले नाट्य शास्त्रमा गीत, संगीत, अभिनय, रस, नायक नायिका, रंगमञ्च आदिलाई नृत्यको अनिवार्य तत्व मानेका छन् । केही नृत्य शास्त्रीहरूले भने गीत, वाद्य र अभिनयलाई मात्रै महत्व दिएका छन् ।

पश्चिमी नृत्य शास्त्रका विश्लेषक वाल्टर सरेलले नृत्यमा निम्नानुसारका तत्व रहेको मानेका छन् ।
— ताल र लयको अंगसँग समन्वय
— चारी (खुट्टाको चाल)
— अभिनय÷मुद्रा (हातको चाल)
— संगीत प्रविधि
— गतिशीलता÷गत्यात्मकता
— पाइला (कदम) चाल्नु
— गीत
— तालिम
— पोसाक र गरगहना
— स्वरलिपि
–इन्साक्लोपिडिया अमेरिकन –भाग ८
प्रोजेश बनजौले नृत्यमा मुख्य चार तत्वहरूको समन्वय हुने बताएका छ ।
— भाव र धुन
— राग
— ताल
— समय
–डान्स अफ इन्डिया
माथि व्याख्या गरिएको नृत्यको तत्व आ–आफ्नो ठाउँमा ठिक मानिए पनि केही नृत्य शास्त्री यसलाई अपुरो मान्दछन् र नृत्यमा निम्नानुसारका तत्वहरू रहन्छन् भन्दै व्याख्या गरेका छन् ।
— गीत
— संगीत
— अभिनय
— शैली
— रस
— उद्देश्य

मानिसलाई सिर्जनशील र उर्जाशील बनाउन नृत्यको महत्वपूर्ण भूमिका रहन्छ । मानव जीवनमा सकारात्मक भाव उत्पन्न गरी संवेगात्मक रूपमा सम्प्रेषण गर्नका लागि समेत यसको विशिष्ट भूमिका रहन्छ । तसर्थ नृत्य मानव जातिका लागि मनोरञ्जन, स्वस्थ जीवन, सकारात्मक भाव पैदा गर्न र समाजमा घुलमिल हुन अति आवश्यक सिर्जनशील माध्यम हो ।

प्रतिक्रिया