नेकपा सचिवालय बैठक : प्रदेश नेतृत्व अनुमोदन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले प्रदेश नेतृत्व चयनको पुरानो निर्णयलाई नै अनुमोदन गरेको छ । लामो समयपछि बिहीबार बसेको सचिवालयको बैठकले प्रदेश कमिटी नेतृत्वमा यसअघि गरिएको निर्णयलाई सदर गरेको हो । ५ असोजमा तोकिएको प्रदेश इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिवमा वरिष्ठ नेता माधवकुमार नेपालपक्षले असन्तुष्टि जनाएको थियो ।

सो विषयमा उनले महासचिव विष्णु पौडेललाई लिखित असहमतिसमेत राखेका थिए । तर, बिहीबारको बैठकमा नेता नेपालले कुनै आपत्ति नजनाएपछि त्यसलाई स्थायी समितिमा लैजाने निर्णय भएको छ । बिहीबारको बैठकमा सांगठनिक एकीकरणको एजेन्डामा बृहत् छलफल गरिएको र प्रदेश कमिटीलाई पूर्णता दिने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बिहिबारको बैठकमा महासचिव पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादल सम्मिलित दुई सदस्यीय कार्यदलले प्रदेश सदस्य तथा केन्द्रीय सदस्यहरुको कार्य विभाजनसम्बन्धी प्रस्ताव पेस गरेको छ । कार्यदलको प्रस्तावप्रति प्रारम्भिक छलफल गरी शुक्रबार पुनः विस्तृत रूपमा छलफल हुने भएको छ ।

प्रवक्ता श्रेष्ठले शुक्रबारको बैठकले सदस्यको नाम तोक्ने र केन्द्रीय सदस्यको कार्यविभाजन गर्ने बताए । सचिवालय बैठकले स्थायी समिति बैठक बोलाउने निर्णयसमेत गरेको छ । सचिवालयबाट पारित भएका विषयलाई स्थायी समितिले अनुमोदन गर्ने बताइएको छ ।

प्रतिक्रिया