नेकपाको सचिवालय बैठक आज बस्दै

फाइल तस्बिर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ।

बैठक दिउँसो तीन बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा डाकेको छ । बैठकमा जिल्ला, प्रदेश र जन वर्गीय संगठनको एकता प्रक्रिया टुंग्याउने विषयमा छलफल हुने जनाइएको छ ।

एकता कार्यदलले बुझाएका नाम तथा संख्यालाई रुजु गरी महासचिव विष्णु पौडेलले बैठकमा पेस गर्नेछन्। नाम तथा संख्या रूजु गर्न सचिवालयका दुई सदस्य महासचिव पौडेल र राम बहादुर थापा रहेको कार्य दल गठन गरिएको थियो।

प्रदेश,जिल्ला र जनवर्गीय संगठन एकताका लागि गठित कार्यदलले संख्या टुंग्याएर पनि नाम र नेतृत्व चयन गर्न सकेका छैनन्।

बैठकले केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँड र पोलिटब्यूरोमा रहने सदस्यहरूको नाम पनि तय गर्ने बताइएको छ।

तत्कालीन एमाले र माओवादी केन्द्र एकता भएर नेकपा बनेको लामोसमय बित्दा पनि सांगठनिक संरचना अलमलको अवस्था छ । पार्टी केन्द्रीय समितिको बैठक अहिलेसम्म बस्न सकेको छैन भने तल्ला कमिटीको एकता पनि अन्योलमा छ ।

यस्तै माधवकुमार नेपाल पक्षीय २१ केन्द्रीय सदस्यले एकता अन्योलमा परेको भन्दै बुधबार मात्रै केन्द्रीय समिति बैठक बोलाउन ज्ञापनपत्रमार्फत् अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालसँग माग गरेका थिए । अाज बस्ने नेकपा बैठकमा उक्त ज्ञापनपत्रगायतका सांगठनिक विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

प्रतिक्रिया