काभ्रेका सुत्केरी भैँसीलाई भत्ता

लामो समयदेखि एकै ठाउँमा केन्द्रित हुँदै आएको जिल्ला पशु सेवा कार्यालय संघीयतामा गएपछि स्थानीय तहहरूमा विभाजित भएर गाउँगाउँमा गएसँगै उनीहरूको प्रभाव देखिन थालेको छ । काभ्रेका १३ वटा स्थानीय तहका पशुपन्छी सेवा शाखाहरू यतिवेला आफ्नो रचनात्मक कामलाई कृषकको गाउँगाउँमा सेवाहरू दिइरहेका छन् ।

गाउँमा जाने प्राविधिकहरूलाई बासस्थान पहिलो समस्या छ । यो अधिकांश गाउँमा देखिएका सामूहिक समस्या हुन् । उपचारमा प्रयोग गर्ने उपकरणहरूको अभाव, भौगोलिक विकटता, पशु उपचारबारे अनविज्ञ र कृषकहरूलाई उपचार प्रक्रियाबारे बुझाउनै कठिन छ । केही स्थानीय तहहरूमा जनप्रतिनिधिहरूले नै पशु विकास सेवा र पशु उपचारबारे बुझ्न नसक्दा बजेट विनियोजनमा समेत समस्या छ ।

प्राविधिक रूपमा बिजुली, यातायात, सञ्चार लगायतका सेवा नपुगेका ठाउँहरूमा निःशुल्क औषधि वितरण, स्वास्थ्य शिविरहरू, विभिन्न विषयअनुसारको व्यवसायिक तालिम, जनचेतनाका कार्यक्रमहरू, अन्तक्र्रियातर्फ केन्द्रित भएका छन् । नस्ल सुधारको लागि उन्नत जातका बोका, राँगा वितरणदेखि कृत्रिम गर्भधान सेवालाई विस्तार गर्नेसम्मका कार्यक्रमहरू स्थानीय तहहरूमा सञ्चालन हुँदै आएको दाबी स्थानीय तहको छ ।

यता काभ्रेको पनौती नगरपालिका शाखाले भने नयाँ खालको सेवा सुरु गरेको छ । पाडापाडीको जन्मदर्ता, भैँसीलाई ‘सुत्केरी भत्ता’ स्वरूप ५ हजार, पाडीलाई २० हजार रुपैयाँ कृषकहरूलाई दिइँदै आएको छ । नगरमा भैँसीपालन गर्ने किसानलाई प्रोत्साहित गर्ने उद्देश्यले भैँसीबाट जन्मिएका पाडापाडीको जन्मदर्ता गर्दै किसानको सुत्केरी खर्च बोकेर गोठमै मेयर भीम न्यौपानेसहित शाखा प्रमुख मणिप्रसाद सापकोटा पुग्ने गरेका छन् ।

परम्परागत पशुपालन गर्दै आएका किसानलाई व्यावसायिक पशुपालनमा लाग्न प्रोत्साहन स्वरूप नगरपालिकाले भैँसी सुत्केरी खर्च उपलब्ध गराउन थालेको पनौतीका नगरप्रमुख भीम न्यौपानेले बताए । भैँसीपालनलाई व्यवसायिकतामा लैजान र आत्मनिर्भर बनाउने उद्देश्यका साथ भैँसी सुत्केरी भत्ताको कार्यक्रम सुरु गरेको उनको भनाइ छ ।

नगरले चालु आर्थिक वर्षमा ८ लाख बजेट विनियोजन गरेर भैँसीको सुत्केरी भत्ता वितरण गर्दै छ । किसानले भैँसी सुत्केरी भत्ता लिनका लागि अनिवार्य रूपमा बिमा गर्नुपर्ने प्रावधान नगरपालिकाले बनाएको छ । जसमा पाडीको जन्मदर्ता गरी त्यसको स्याहार सुसार गरेर सोही पाडी सुत्केरी भएमा २० हजार पालन पोषण भत्ता पाउने पनौती नगरका पशुपन्छी सेवा शाखाका प्रमुख मणिप्रसाद सापकोटाले बताए । नगरमा ४ हजार ६ सय ४७ वटा भैँसी रहेको र तीन वर्षभित्रमा १० हजारभन्दा बढी पुर्याउने लक्ष्य रहेको सापकोटाले बताए । अहिले भैँसी सुत्केरी भत्ता लिन २ सय ४७ वटा निवेदन आएको उनले जानकारी दिए ।

यस्तै, धुलिखेल नगरपालिकाका पशुपन्छी सेवा शाखाका प्रमुख राजकुमार हुमागार्इंका अनुसार उक्त नगरपालिकामा पशु विकास, पशु प्रजनन (कृत्रिम गर्भधान), पशु आहारा विकास कार्यक्रम, पशुको गोठ निर्माण सुधार कार्यक्रम, पशुपन्छीजन्य उत्पादनका लागि बजारीकरण र जनचेतनामूलक कार्यक्रमहरू गर्दै आएको छ ।

उक्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइटेलको परामर्शमा विगतका कार्यक्रमहरूलाई निरन्तरता दिई पशु बिमाको कृषकले तिर्नुपर्ने प्रिमियम रकमको २५ प्रतिशतमा साथै नगरपालिकाबाट १५ प्रतिशत थप अनुदानको व्यवस्था गरी पशु बिमाका लागि कृषकलाई आकर्षक कार्यक्रम सञ्चालन गरेको र गत आवमा दुग्धजन्य पदार्थको सुरक्षण र बजारीकरण गर्न चिलिङ भ्याटका लागि धुलिखेल–२ स्थित सेतिदेवी दुग्ध उत्पादक सहकारी संस्थालाई ६ लाख ५० हजार अनुदान दिई, उक्त संस्थाको समेत सहभागितामा स्थापना भएको दूध चिस्यान केन्द्रको साधारण सभाको अवसरमा नगरप्रमुख अशोककुमार व्यञ्जु श्रेष्ठले हस्तान्तरण गरेका थिए ।

विगतमा धुलिखेल नपा–१, २ र १२ मा पशुमा देखिएको संक्रामक सरुवा रोग खोरेत देखिएको जानकारी पाउनासाथ नगर उपप्रमुख बिमला शर्मासहितको पशु चिकित्सकको टोलीले अनुगमन गरी सबै पशुहरूलाई निःशुल्क खोप लगाई रोग नियन्त्रणमा तदारुकता देखाएको बताए ।
बनेपा नगरपालिकाका पशुपन्छी सेवा शाखाका श्याम नारायण महतोका अनुसार यस वर्ष २६ लाख बजेट कार्यक्रम सार्वजनीकरण गरिएको छ । जसमध्ये गत वर्ष कृत्रिम गर्भधान सेवा, हिउँदे तथा वर्षे घाँसका बिउ वितरण, गाईभैँसी गोठ सुधार, निःशुल्क पशु खोप सेवा, बिमा अभिमुखीकरणलगायत दिवसहरू रेबिज दिवस, दुग्ध दिवसहरू मनाइँदै आएको बताएका छन् ।

मण्डन देउपुर पशुपन्छी सेवा शाखाका प्रमुख चिरञ्जीवी शर्माका अनुसार नपाभित्र नियमित सेवाहरू र आकस्मिक सेवाहरूसँगै कृत्रिम गर्भधानको सेवालाई विशेष प्राथामिकताका साथ सुरु गरिएको बताएका छन् । उनले नगरपालिकामा पशु आहार व्यवस्थापन, र दिवसका कार्यक्रमहरूलाई अगाडि बढाइएको बताए । यो आवमा ५० लाख बजेट विनियोजन गरिएको छ जसमा पशु विमाको कार्यक्रम र नस्ल सुधारका कार्यक्रम प्राथामिकतामा परेको बताए ।

नमोबुद्ध नगरपालिकाका पशुपन्छी सेवा शाखाका प्रमुख जगदेवका राउतका अनुसार जै घाँस वितरण, शिविर, निःशुल्क खोप सेवा, दिवसहरू मनाइने काम भइसकेको बताएका छन् । पाँचखाल नगरपालिकाका पशुपन्छी सेवा शाखाका प्रमुख दत्त प्रसाद गौतमले नगरपालिका भित्र कृत्रिम गर्भधान सेवा, एआई गोष्ठी, आकस्मिक उपचार सेवा, पशु आहारा व्यवस्थापन लगायतको कार्यक्रम भइरहेको र यस वर्ष २० लाख बजेट पशुपन्छी सेवा शाखाका लागि नगरपालिकाले विनियोजन गरेको बताए ।

यस्तै, तेमाल गाउँपालिकाका पशुपन्छी सेवा शाखाका प्रमुख पुरुषोत्तम हुमागाईंका अनुसार गाउँपालिकाले यो वर्षका लागि मात्रै १० लाख रकम विनियोजन गरेको र सो रकमले कार्यालय व्यवस्थापन र आकस्मिक उपचार सेवामा समेत रकम अपुग हुने बताएका छन् । यसअघि गाउँपालिकामा निःशुल्क खोप सेवा, शिविरहरू र चेतनात्मक कार्यक्रमहरू गरिएको बताए ।

भुम्लुमा पनि निःशुल्क औषधी वितरण सेवा, कार्यालय व्यवस्थापन, ५० नमुना गोठ सुधारलगायत नियमित सेवाहरू भइरहेको ध्रुव पराजुलीले जानकारी दिए । रोशी गाउँपालिका रघुनी शाहका अनुसार गाउँपालिकामा नस्ल सुधार, औजार खरिद लगायतको काम भएको छ भने गाउँपालिकाले पशु बिमा, दुग्ध चिस्यान केन्द्र स्थापना गर्न विभिन्न कार्यक्रमहरू गर्दै आएको बताए । चौरी देउराली गाउँपालिकाका विजय थापाले पनि कृत्रिम गर्भधान सेवालाई तीव्र रूपमा सञ्चालन गर्ने प्रयास भइरहेको बताए । उनले भौगोलिक विकटता भएकोले सवारी साधन अपर्याप्त भएको बताए ।

यस्तै, खानीखोला गाउँपालिकाका मंगल चौधरीले गाउँपालिकामा निःशुल्क औषधी वितरण सेवा, निःशुल्क आकस्मिक उपचार सेवा, व्यावसायिक रूपमा पशुपालनका लागि विशेष किसिमका तालिमहरू र दिवसहरू मनाउने काम भइरहेको बताए । उनले निकट भविष्यमा कृत्रिम गर्भधान सेवालाई विस्तार गर्न पहल भइरहेको बताए । महाभारत र बेथानचोक गाउँपालिकाको शाखाहरूमा पनि नियमित पशु सेवाका कामहरू भइरहेको बताएका छन् । बेथानचोकले ३५ लाख रकम विनियोजन गरेको र सो रकमको विभिन्न शीर्षकमा कामहरू गर्ने तयारी भइरहेको लिलानाथ सापकोटाले बताए ।

काभ्रेको बिकट मानिने डाँडापारिका दुई गाउँपालिकाहरू खानी खोला र महाभारतमा बाख्रा पालनको राम्रो सम्भावना रहेको छ भने धुलिखेल, बनेपा, पनौती, नमोबुद्ध, पाँचखाल र मण्डन देउपुर नगरपालिका दूधमा आत्मनिर्भर भइसकेको छ । यस्तै, तेमाल, बेथानचोक रोशी र भुम्लुमा दुग्धजन्य, अण्डा र मासुजज्य उत्पादनका लागि विशेष क्षेत्रको रूपमा लिने गरिन्छ ।

प्रतिक्रिया