शौचालयमा देवीदेवताका चित्र

न्युयोर्क । अमेरिकाको न्युयोर्कस्थित ‘हाउस अफ एस’ नामक नाइट क्लबमा हिन्दू देवीदेवताका चित्रहरू राखिएको विषय सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएको छ ।

ती चित्रप्रति अमेरिकाको ओहायो राज्यमा बस्ने भारतीय मूलकी एक अमेरिकी महिला अंकिता मिश्राले आपत्ति जनाएकी हुन् । मिश्राले आफ्नो इन्स्टाग्राम पोस्ट र ब्लगमा यस विषयमा लेखेकी छन् । उनले शौचालयको तस्बिर र भिडियो पनि प्रेषित गरेकी छन् । ती महिलाले ब्राउन गर्ल नामक एउटा साइटमा प्रकाशित ब्लगमा सो विषयबारे विस्तृतमा रूपमा लेखेकी छन् ।

मिश्राका अनुसार उनी गत महिना सो नाइट क्लबमा गएकी थिइन् । आफ्ना साथीहरूले महँगा खानेकुरा मगाएकाले उनले त्यहाँको भिआइपी बाथरुम प्रयोग गर्ने अवसर पाएकी थिइन् । पहिला शौचालयको भित्ताका भएका चित्रमा आफ्नो ध्यान नपुगेको भए पनि ट्वाइलेट पेपर निकाल्न लाग्दा महादेवको चित्र देखेको उनी बताउँछिन् । त्यसपछि चारैतिर हेर्दा अन्य देवीदेवताका तस्बिर चारैतिर देखेर आफू छक्क परेको उनले लेखेकी छन् । त्यहाँ गणेश, सरस्वती, काली र शिवका तस्बिरहरू राखिएका थिए ।

उनले ब्लगमा लेखेकी छन्, ‘एक तरिकाले म मन्दिरमा थिएँ, तर सबै कुरा उल्टो थियो । मैले जुत्ता लगाएकी थिएँ र म थुकिरहेकी थिएँ ।’ आफूले यस्तो परिस्थिति पहिला पनि भोगेको भन्दै उनले यस विषयलाई ‘उपनिवेशवाद’ सँग जोड्न खोजेकी छन् । उनी लेख्छिन्, ‘म रुबिन म्युजियम अफ आर्टमा शिक्षिका थिएँ जहाँ मेरो सांस्कृतिक पृष्ठभूमिका कारण ममाथि व्यंग्य गरिन्थ्यो । तर, यो घटना मैले बेवास्ता गर्न सकिनँ ।’

उनले सामाजिक सञ्जालमा पनि यसबारे लेखिन् र अन्तमा नाइटक्लबलाई इमेल लेखेर यसमा आफ्नो असन्तुष्टि व्यक्त गरिन् । गत महिना पठाइएको इमेलमा उनले ‘सार्वजनिक स्थानमा शान्ति कायम रहोस् भनेर आफू मौन रहने गरेको भए पनि फेसबुक र इन्स्टाग्राममा यसबारे आफ्नो अनुभव लेखेपछि म तपाईंहरूसँग सिधै कुरा गर्न चाहन्छु’ लेखेकी थिइन् । अंकिता मिश्राले गुनासो गरेपछि सो क्लबले क्षमायाचना गरेको छ ।

प्रतिक्रिया