डिपिएलको निर्देशकमा दास

काठमाडौं । तेस्रो संकरणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को निर्देशकमा नेपाली क्रिकेट टोलीका पूर्व कप्तान विनोद दास नियुक्त भएका छन् । माघ तेस्रो साताबाट फाप्ला क्रिकेट मैदानमा प्रतियोगिता सुरु हँुदैछ ।
आयोजक धनगढी क्रिकेट एकेडेमीले हाल यू–१९ टिमका प्रमुख प्रशिक्षक दासलाई प्रतियोगिता निर्देशकको रूपमा नियूक्त गरेको हो । मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै दासलाई नियुक्त गरेको जानकारी गराएको छ । दासको नियुक्तिसँगै डिपिएलले थप उचाइ लिने विश्वास गरेको एकेडेमीका अध्यक्ष सुवास शाहीले विज्ञप्तिमा व्यक्त गरेका छन् ।

दासले यसअघि पनि एभरेष्ट प्रिमियर लिगमा सोही भूमिकामा रहेर जिम्मेवारी बहन गरिसकेका छन् । पोखरा प्रिमियर लिगको विजयी टोली पोखरा पल्टनका प्रशिक्षक रहेका दासले डिपिएलको अघिल्लो संस्करणमा महेन्द्रनगर युनाइटेडमा थिए । उनले यसपटकको एभरेस्ट प्रिमियर लिगमा काठमाडौं किंग्स ११ को प्रशिक्षकको जिम्मेवारी सम्हाल्दैछन् ।

प्रतियोगितामा देशभरका ६ वटा फ्रेन्चाइजी टोलीको सहभागिता रहनेछ । सहभागी टिम चौराहा धनगढी, सिवाइसी अत्तरिया, रूपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्स टोलीलाई प्राथमिकता दिइनेछ । डिपिएलका प्रत्येक टिममा १५—१५ खेलाडी हुनेछन् त्यसमा दुई विदेशी र धनगढीमा हुने ट्यालेन्ट हन्टबाट आएका सुदूरपश्चिमका एक खेलाडी प्रत्येक टिममा अनिवार्य समावेश गर्नुपर्ने प्रावधानलाई निरन्तरता दिइएको छ ।

प्रतियोगितामा कुल १९ खेल हुनेछन् । प्रतियोगिता टी–२० को आधारमा हुनेछ । लिग चरणमा प्रत्येक टिमले अरू टिमसँग एक–एक खेल खेल्ने छन् । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ ।

प्रतिक्रिया