नेकपा एकता मंसिरभित्रै पूरा !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सुस्त रहेको पार्टी एकताको काम दु्रत गतिमा बढेको छ । पार्टी एकता भएको तीन महिनाभित्र सबै तल्ला तहको पार्टी एकीकरण गर्ने भने तापनि ६ महिनासम्म एकता सुस्त गतिमा रहेको थियो ।

पार्टी एकताका लागि पटक–पटक सचिवालय बैठक बस्न नसक्ने र बसे पनि निर्णय गर्न नसक्ने भएपछि एकता लम्बिएको थियो । महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ रहेको कार्यदलले पार्टी एकतालाई दु्रत गतिमा अघि बढाएका छन् । उनीहरूले केन्द्रीय सदस्यको कार्यविभाजन टुंग्याएका छन् भने प्रदेश पदाधिकारीले पनि आफ्ना मातहतका कमिटीको एकता प्रक्रियासमेत अगाडि बढाएका छन् ।

यसै महिनाभित्र सबै कमिटीको एकता प्रक्रिया टुंगने गरी सचिवालयले काम गरिरहेको छ । केन्द्रीय सचिवालय र स्थायी कमिटीका सदस्यहरूलाई महत्वपूर्ण विभाग प्रमुख तथा प्रदेश इन्चार्ज बनाइने भएको छ । यस्तै, स्थायी कमिटीमा नरहेका तर, वरिष्ठ नेताहरू (पोलिटब्युरो)लाई पनि विभागीय प्रमुखको जिम्मेवारी दिने तयारी छ । संघीय सरकारका मन्त्रीहरूलाई भने पार्टीमा विभागीय प्रमुख नबनाइने भएको छ । त्यस्तै, मुख्यमन्त्रीहरूलाई पनि पार्टीकै कार्यकारी जिम्मा नदिइने भएको छ ।

यसअघि, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र गण्डकी प्रदेशका पृथ्वीसुब्बा गुरुङलाई प्रदेश इन्चार्ज बनाइएकोमा माधव नेपाल लगायतका नेताहरू असन्तुष्ट छन् । उनीहरूले सो निर्णय फिर्ता लिन अझै पनि दबाब दिइरहेका छन् । पोलिटब्युरो र केन्द्रीय कमिटीका सदस्यहरूलाई जिल्ला इन्चार्जको जिम्मा दिइने भएको छ ।

१० निर्वाचन क्षेत्र भएको काठमाडौंलगायत धेरै निर्वाचन क्षेत्र भएका जिल्लाको इन्चार्ज सिनियर पोलिटब्युरो सदस्यबाट बनाउनेबारे छलफल भइरहेको नेकपाले जनाएको छ । त्यसो गर्दा अधिकांश जिल्लाको इन्चार्ज पोलिटब्युरो सदस्यहरू नै हुनेछन् । कतिपय जिल्लामा सिनियर केन्द्रीय सदस्यलाई इन्चार्ज र जुनियरलाई सहइन्चार्ज बनाउने प्रस्ताव गरिएको छ ।

महानगरपालिकालगायत कतिपय ठूला र रणनीतिक महत्वका स्थानीय तहको इन्चार्ज पनि केन्द्रीय सदस्यहरूलाई बनाउनेबारे छलफल भइरहेको नेकपाले जानकारी दिएको छ । यसैगरी, नेकपाको सबै तहका कमिटी एकीकरण टुंग्याउन मंसिर ६ गते सचिवालय र त्यसपछि स्थायी कमिटी बैठक बस्ने भएका छन् ।

सचिवालय बैठकमा पार्टी एकीकरणका सबै मोडल र प्रस्तावहरूमाथि छलफल हुने र त्यसलगत्तै स्थायी कमिटी बैठक बसेर एकीकरण अघि बढाइने महासचिव पौडेलले जानकारी दिए । उनका अनुसार बैठकलगत्तै प्रदेश, जिल्ला र जनवर्गीय संगठनहरूको एकीकरण अघि बढाइनेछ । स्थानीय तह र वडा तथा प्रारम्भिक कमिटीहरूको एकीकरण भने प्रदेश र जिल्ला कमिटीहरूले गर्नेछन् ।

यसैगरी, मंसिर महिनाभित्र वडादेखि प्रदेशसम्म र जनसंगठनहरूको एकीकरण सकेर नेकपाले पुसबाट देशव्यापी जनपरिचालन अभियान सञ्चालन गर्ने तयारी थालेको छ । सरकार र पार्टीको विरुद्धमा सबैखाले शक्तिहरू एकजुट भएर गलत प्रचार गरिरहेको तर पार्टी एकीकरण नभएका कारण आफूहरू रक्षात्मक हुनुपरेको भन्दै कम्तीमा एक महिना अभियान सञ्चालन गर्ने भएको छ ।

एकीकरणको सन्देश दिने गरी मेचीदेखि महाकालीसम्म कार्यकर्ता परिचालन गरेर शीर्ष नेताको सहभागितामा विशेष योजनासहित अभियान सञ्चालन गर्ने प्रस्ताव रहेको छ । सातै प्रदेशका मुख्य सहरमा ठूला सभासहित सबै जिल्ला र स्थानीय तहसम्म पार्टी एकता सन्देशसभा तथा सरकारको राम्रो कामबारे सर्वसाधारणलाई जानकारी गराउन अभियान सञ्चालन गर्न थालिएको हो ।

प्रतिक्रिया