चित्रमा पुरानो गुह्येश्वरी

काठमाडौं । हरेक हप्ताको शनिबार हुँदै आएको प्लेन एअर वर्कसपमा डेढ दर्जन कलाकारले गुह्येश्वरी परिसरमा बसेर चित्र बनाएका छन् । तारकेश्वर नगरपालिकाको पुरानो गुह्येश्वरी पुगेर चित्रकारले ऐतिहासिक र पुरातात्विक महत्व झल्कने दृश्यचित्र क्यानभासमा उतारेका हुन् ।

नेपाली कला र संस्कृतिलाई जगेर्ना गर्ने लक्ष्यका साथ गरिएको उक्त कार्यशालामा कलाकारले ऐतिहासिक तथा सांस्कृतिक महत्व झल्काउने सम्पदालाई चित्रमा उतारेको आयोजकले जनाएको छ । दृश्य चित्रमा रुचि हुने कलाकार स्वतस्फूर्त रूपमा ‘स्थलगत चित्रकला कार्यशाला’ सहभागी हुन सक्ने कार्यक्रमका संयोजक दिवेश प्रधानले बताए ।

उक्त कार्यशालाको सन्दर्भ पारेर नगरपालिका–५ का वडा सदस्य तथा कलाकार अनन्त आचार्यले कलामार्फत संस्कृति जोगाउने कार्यमा कलाकारले सिर्जनात्मक भूमिका निर्वाह गर्न सक्ने भनाइ राखे । उनले मुख्य मन्दिर मूलद्वारसहितको चित्र बनाउँदै सम्पदा सबै नागरिकको राष्ट्रिय सम्पत्ति भएको बताए । उनले भने, ‘यहाँका ऐतिहासिक महत्व हराउँदै छन् । यस्ता चिजवस्तु चित्रमा भने पनि जोगाउनुपर्छ भनेर कार्यशाला गरेका हौँ ।’

उनले थपे, ‘यहाँ पुरानो नेवार बस्ती थियो । तर, अहिले ती बस्ती हराउँदै गएका छन् । अन्य ऐतिहासिक तथा धार्मिक अवशेष तथा मूर्तिसमेत संरक्षणमा चुनौती भएकाले अस्तित्व जोगाई राख्न कलामार्फत चेतनाका लागि चित्र बनाइएको हो ।’ उनले स्वस्थानी कथामा समेत पुरानो गुह्येश्वरी भगवान् शिवसँग जोडिएको कथा पुराणमा रहेको सुनाउँदै महादेवले एक पाइला गुह्येश्वरीमा टेकेर अर्को पाइला गोसाइँकुण्डमा टेकेको भन्ने किंवदन्तीसमेत रहेको बताए ।

कार्यशालामार्फत कलाकारले सांस्कृतिक सम्पदा जोगाउने र कलाको विकासमा टेवा पु¥याउने गरी काम गरिरहेको कार्यशालाका संयोजक प्रधानले बताए । उनले भने, ‘नेपाली समपदाको संरक्षण र कलाप्र्रतिको माहोल सिर्जना गर्न नियमित रूपमा कार्यशाला गर्दै आएका हौँ ।’

कार्यशालामा सहभागी कलाकार तथा नेपाल ललितकला पत्रकार समाज ९सोफाज० का अध्यक्ष केशव राज खनालले पुरानो गुह्येश्वरीमा मल्लकालदेखिका कलाकृति रहेको बताए । उनले पछिल्लो समयमा यहाँको सौन्दर्यमा ह्रास देखिएको चिन्ता व्यक्त गर्दै भने, ‘हामीले सांस्कृतिक तथा पुरातात्विक सम्पदा जोगाउन र तिनको महत्वलाई व्यापक बनाउन काम गर्नुपर्दछ ।’ उनले गुह्येश्वरीको दृश्यचित्र बनाउँदै भने, ‘यहाँको पुरानो नेवारी बस्तीमा अहिले नयाँ घर बनेकाले पनि सौन्दर्यमा ह्रास आएको छ । यसलाई जीवन्त बनाउन सरकारले पहल लिनुपर्दछ ।’

उक्त कार्यशालामा कलाकार चित्र उतार्ने मात्रै होइन आफैँ पनि प्रकृतिका अनेकौँ रूप उतार्न र त्यसबाट नयाँ ज्ञान लिन त्यहाँ पुग्ने गरेको कलाकार खनालले बताए । उनी थप्छन्, ‘कलाकारले सिक्ने भनेकै प्रकृतिबाट हो । यसको गहन अध्ययन रङ र रेखाबाट गर्दै त्यसमा जीवन दर्शन थप्ने कार्य कलाकारले गर्दछन् ।’

उनीहरूले स्थलगत रूपमा चित्रमा उतार्न अहिले विभिन्न स्थानका छनोट गर्दै कार्यशालामा सहभागी हुँदै आएका छन् । कार्यशालाका अभियन्ता प्रधान भन्छन्, ‘प्रकृतिमा यति धेरै कला हुन्छन्, छानेर चित्रमा उतार्नुपर्छ, कोठामा बसेर कोरेको चित्रभन्दा प्रकृति हेरेर उतार्दा नयाँ अनुभूति हुन्छ, अनि नयाँ कुरा आउँछ ।’

कार्यशाला तारकेश्वर नगरपालिका ४ र ५ का वडाध्यक्षद्वय नरेन्द्रदास श्रेष्ठ र वासुप्रसाद गौतमको समन्वयमा भएको हो । उक्त मन्दिर त्यसको पुरातात्विक तथा सांस्कृतिक महत्वका बारेमा पुरातत्व विभागका पुरातत्व अधिकृत प्रकाश खड्काले जानकारी गराएका थिए । कार्यशालामार्फत कलाकार नयाँ ऊर्जा प्रवाहित भएको अनुभव अर्का अभियन्ता राकेशचन्द्र श्रेष्ठले बताए । उनले भने, ‘कलामार्फत समाजमा केही योगदान दिन सकिन्छ भन्ने अभिप्रायका कार्यशाला आयोजना गर्दै आएका हौँ । यसमा कलाकारको उत्साहजनक सहभागिता रहँदै आएको छ ।’

यो अभियानका लागि अहिले कलाकारले एउटा फेसबुक समूह बनाएर विभिन्न स्थानमा पुगेर कार्यशाला गर्दै आएको कलाकार दस्पेन्द्रमान बनेपालीले सुनाए । उनले भने, ‘कलाकारलाई प्रकृतिको मोहकताको सामिप्यमा लैजान र त्यसबाट नयाँ ज्ञान हासिल गर्न स्थलगत चित्रकला कार्यशाला फलदायी हुने भएकाले नियमित रूपमा कार्यक्रम गरेका हौँ ।’
११औँ शृंखलामा पुरानो गुह्येश्वरीलाई छानेको जानकारी दिँदै अभियन्ता दिवेश प्रधानले भने, ‘कार्यशालामा सहभागी हुन सबै कलाकारलाई आह्वान गरेका छौँ । यो अभियान स्वस्फूर्त अभियान हो ।’

यो अभियानको परिकल्पना दिवेश प्रधान र राकेशचन्द्र श्रेष्ठले गरेका हुन् । नयाँ, पुराना र कला छाडेर फेरि फर्किएका कलाकारका सबै पुस्ता यो समूहमा आबद्ध रहेको प्रधानले जानकारी दिए । करिब ४ सय फेसबुक सदस्य रहेको समूहमा हरेक शनिबार कहाँ गएर चित्र कोर्ने भनेर मतदान हुन्छ । त्यही मतको आधारमा ठाउँ छनोट हुने अभियन्ता राकेशचन्द्रले बताए । यो अभियानअन्तर्गत यसअघि हनुमानढोका, ललितपुरको दरबारक्षेत्र, भक्तपुर, ठिमी, चन्द्रागिरि, टेकु, गुह्येश्वरी, खोकनामा कार्यशाला सम्पन्न गरिसकिएको छ ।

प्रतिक्रिया