दुनै पुग्यो ट्रयाक, सवारी कहिले ?

दुनै । डोल्पालीको भाग्य र भविष्यसँग जोडिएको जाजरकोट–दुनै सडकको ट्रयाक खोलिएसँगै हिमालपारिको जिल्ला पनि राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । ०६६ मा सरकारले नेपाली सेनालाई जिम्मा दिएपछि उसले लगातार सो सडकको ट्रयाक खोलेको हो ।

सडक भेरी नदीको किनारै किनार दर्जनौँ अक्कर र भिर, पहरा छिचोल्दै तथा रिम्ना, मनमाइतहरा, तल्लो बजार, गोतामकोट, घाडथला, त्रिवेणी, खदाङ, श्रीविन्दे बस्ती र बजार हँुदै दुनै पुग्नेछ । तर, ट्रयाक खोले पनि सडकमा तत्काल सवारीसाधन भने चल्ने छैनन् ।

उक्त खण्डमा ६ वटा ठूला र केही साना पुल निर्माण गर्नुपर्नेमा रिम्ना पुल मात्र बनिसकेको छ । जाजरकोटको दल्ली, कालीमाटीबीच नलगाड नदीमा, रुकुमको राडी र जाजरकोटको मन्मै बीचमा रहेको भेरीमा, जाजरकोट तल्लु र रुकुम छरेबग्रीबीचको भेरी नदीमा, डोल्पाको खदाङमा भेरी नदीमै, त्रिपुराकोट जुफाल जोड्ने भेरी नदीमाथि बनाइनुपर्ने पुलको निर्माण कार्य नै सुरु भएको छैन ।

ट्रयाक खोले पनि सडकमा तत्काल सवारीसाधन भने चल्ने अवस्था छैन । उक्त खण्डमा ६ वटा ठूला पुल निर्माण गर्नुपर्नेमा रिम्ना पुल मात्र निर्माण, सवारी चलेपछि मात्र उद्घाटन गर्न स्थानीयको दबाब

जाजरकोटको पासागाढबाट सुरु भई डोल्पाको त्रिपुरासन्दरी सुपानीसम्मको १०३ किलोमिटर खण्डको सडकको ट्रयाक सेनाले खोलेसँगै सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा समेटिएको हो । एकसय १८ किलोमिटर लामो उक्त सडकको सुपानीबाट दुनैतर्फको खण्ड १४ किलोमिटर सडक भने स्थानीय निकाय र संसाद कोषको खर्चमा यसअघि नै ट्रयाक खोलिएको थियो ।

छिमेकी मुलुक चीन र भारतलाई सडक सञ्जालमार्फत जोड्ने उत्तर दक्षिणको सामरिक महत्व बोकेको उक्त राजमार्गले तिब्बतस्थित मरिम्ला र भारतको रुपेडियाबीच सीधा सम्पर्क जोड्न योगदान दिनेछ । ट्रयाक खुलेपछि नलसिंहगाड, भेरी नदीमा चिसापानी, तल्लुबगर र रुपाने-त्रिपुराकोट पुल निर्माणका लागि सडक विभागले बोलपत्र आह्वान गर्ने जनाएको छ ।

जाजरकोट-दुनै सडकमा झन्डै ४७ किलोमिटर जाजरकोट खण्ड छ । त्यस्तै, त्रिवेणीबाट ३० किलोमिटर रुकुम खण्ड छ भने खदाङदेखि ४१ किलोमिटर डोल्पा खण्ड पर्छ । त्यसमध्ये पासागाड, मन्माई–राडीज्युला, तल्लुबगर, त्रिवेणी बजारसम्म सवारीसाधन चल्न थालेका छन् । खदाङसम्म पनि ट्रयाक्टर लगायतका सवारी चल्ने गरेको छन् ।

कर्णाली प्रदेश अन्तर्गतको प्राकृतिक विविधताले परिपूर्ण तथा भूगोलका हिसाबले मुलुककै सबैभन्दा ठूलो डोल्पामा सडक सञ्जाल विस्तार भएसँगै कर्णाली क्षेत्रको विकासमा कायपलट हुने विश्वास गरिएको छ । जाजरकोट, रुकुम र डोल्पा समेट्ने उक्त राजमार्ग पहाडी फिडर रोडको अवधारणाअनुरूप निर्माण भएको नेपाली सेनाले जानकारी दिएको छ ।

जाजरकोट–डोल्पा सडकको ट्रयाक खेलेपछि सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम भए पनि स्थानीय जनताले सडकमा सवारी चल्न सक्ने अवस्था भएपछि मात्र गर्नुपर्ने भन्दै विरोधमा उत्रिएका छन् । नेपाली सेनाले सरकारलाई हस्तान्तरण गर्न मंगलबार उद्घाटन गर्ने कार्यक्रम राखेको छ ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले उक्त सडकको त्रिपुरासुन्दरीमा उद्घाटन गर्ने कार्यक्रम तय भइरहेका बेला स्थानीय भने असन्तुष्ट बनेका छन् । मंगलबार उद्घाटनसगै सडक सरकारलाई हस्तान्तरण गरिने सडक आयोजना कार्यदल प्रमुख प्रमुख सेनानी विश्वबन्धु पहाडीले जानकारी दिए ।

सरकारले मुलुकका सबै जिल्ला सदरमुकाममा सडक सञ्जाल पु¥याउने नीति भए पनि अहिलेसम्म हुम्लामा मोटर बाटोको पहुँच पुगेको छैन । डोल्पामा सडकको पहुँच पुगेसँगै स्थानीय जडीबुटीदेखि पर्यटन विस्तारमा पनि ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया