कलाकारकाे अाँखामा खप्तड

हामीले पश्चिम नेपालमा पर्ने खप्तड राष्ट्रिय निकुञ्ज घुम्ने र त्यहाँको सुन्दर दृश्यको अवलोकन गर्नका लागि खप्तडको यात्रा काठमाडौंबाट धनगढी हुँदै बझाङको तमेलबाट तय गरेका थियौँ । म अनि दुई जना साथी थियाैँ । एकजना साथी दृश्यचित्र बनाउन जान्ने कलाकार र अर्का चाहिँ भाञ्जा बाबु थिए । भाञ्जा बाबुको कलेज बिदा थियो ।

बझाङ पुगेर हामी खप्तड छान्नामा बस्यौँ । त्यहाँबाट पाँच घण्टाकोे पैदल हिँडेर पुलपुला पाटन पुगिन्थ्यो । हामी कति वेला पुलपुला पुगौँला र त्यहाँको मनोरम दृश्यमा रमाउँला भन्ने चाहना मनभित्र थियो । लगातार पाँच घण्टा हिँड्दाखेरी पनि हामी थाकेका थिएनाैँ । मनभित्र उत्साह र चाहना भयो भने शरीर थाक्दो रहेनछ भन्ने कुरा आभास भयो ।

पुलपुला पाटनमा पुग्दा हामी तीन जना चकित भयौँ । पाटन देखेर कलाकार विनोद र भाञ्जा बाबुले एकै स्वरमा भने, ‘वाहा ! क्या सुन्दर प्रकृतिको संरचना । आहा ! कति राम्रो अनि कस्तो हरियो फाँट ? मानौँ स्वर्ग नै यहीँ भेटाएजस्तो लागिरहेछ ।’

‘प्रकृतिको सिर्जना हो यो । अब यहाँबाट दुई घण्टा हिँडेर छोटी पाटनमा बास बस्नुपर्छ,’ भन्दै मैले यात्रा अगाडि बढाएँ । विनोद र भाञ्जाले थुप्रै तस्बिर खिचे ।

भोलिपल्ट हामीलाई सहस्रलिंग पुग्नु थियो । यो स्थल धार्मिक रूपमा अति प्रसिद्घ हो । पुलपुला पाटनबाट सहस्रलिगं पुग्न दुई घण्टा लाग्दथ्यो । दुई घण्टाको बाटो सहज बनाउन विनोदलाई बाँकी कुराहरू सुनाउन अनुरोध गरेँ।

‘केही समयअघि सुजिता र म भागेर कोलकाताबाट नेपाल पसेका थियौँ । नेपालको धरानमा हाम्रा काका निकै वर्षदेखि विज्ञान पढाएर बस्नुभएको थियो । पब्लिक हाइस्कुलमा निकै प्रसिद्घ हुनुहुन्थ्यो । केही वर्षअगाडि उहाँ बित्नुभयो । धरान–४ मा हामी काकाकै घरमा बस्थ्याँै । काकाले नै मलाई पब्लिक हाई स्कुलमा चित्रकला सिकाउने शिक्षकका रूपमा नोकरी मिलाई दिनुभएको थियो ।

सुनितालाई पनि काममा लगाइ दिनुभएको थियो । हाम्रो आम्दानी भएपछि हामीले छुट्टै डेरा लिएर बस्याँै । धरान साह्रै रमाइलो अनि सुन्दर नगरी पनि हो । पवित्र तीर्थस्थल पनि हो । यहाँबाट बराहा क्षेत्र, चतरा, रामधुनी, चक्करघट्टी, दन्तकाली, पिण्डेश्वर, बुढासुब्बा, भत्ताभुगे राजाको दरबार, भेडेटार, धनकुटा, मूलघाट र बिपी मेमोरियल हस्पिटल आदि हे¥यौँ । मैले धरानमा तीन वर्ष बस्दा प्रायः सबै स्थलहरूको दृश्यचित्रहरू बनाएँ ।’

मैले बीचैमा रोकेर सोधैँ, ‘अनि कलाकारहरूसँग कतिको आत्मीयता भयो ?’
‘धरानका कलाकारहरू कर्ण मास्के, रमेश खनाल, स्वंय प्रकाश, प्रमोद दत्त, शिशिर सुब्बा, प्रेम श्रेष्ठ, योगेन्द्र लिम्बू, उता पथरिकी सरोजा खड्गी र विराटनगरकी कलाकार अनुराधा दिदीसँग प्रायः कला कार्यशालाका बारेमा भेटघाट भइरहन्थ्यो ।’
‘धरानमा तीनवर्ष बसेपछि काठमाडौं पस्न मन लाग्यो ।’

‘धरानमा किन बस्न मन लागेन ?’
‘आर्टको मार्केट प्रायः न्यून थियो, त्यहाँ । फेरि मलाई बिएफए पनि पढ्नु थियो । त्यसैले, हामी सुनिता र म काठमाडौंमा पस्यौँ । यहाँ संघर्ष गर्यौँ । स्कुल–स्कुलमा आर्ट पढाइदिने काम पाएँ । सुनिताको अंग्रेजी राम्रो थियो । उनले पनि मन्टेस्वरीमा काम पाइन् । बस्ने डेरा र खाने व्यवस्था भएपछि मैले ललितकला क्याम्पसमा बिएफए पढ्न खोजेँ तर आइएफए नगरी बिएफए पढ्न नपाइने
रहेछ ।

आइएफए नै भए पनि पढेँ । दुई वर्षपछि बिएफए ज्वाइन भए । बिएफए पढ्दापढ्दै म काठमाडौंको कलाको दुनियाँभित्र परिचित भएँ । काठमाडौंमा आयोजना हुने कलाको प्रदर्शनी, कला कार्यशाला, कला अन्तत्र्रिmयाहरूमा सहभागी हुँदै गएँ ।

‘कस्तो छ त काठमाडौंको आर्ट मार्केट ?’
‘यहाँको आर्ट मार्केट भर्जिन छ । आर्ट मार्केट एक्सप्लोर भएकै छैन भने पनि हुन्छ । आर्ट मार्केट खोज्ने काम भएको पनि छैन । व्यक्तिगत चिनजानको भरका केही कलाकारको मार्केट छ तर त्यसको प्रतिशत न्यून नै छ ।’

‘कलाको मार्केट एक्सप्लोर गर्न के गर्नुपर्ला ?’
‘त्यो त मलाइभन्दा तपाईंहरूलाई धेरै थाहा छ । तैपनि, क्वालिटी प्रोडक्सन, आर्ट जर्नालिजम, राष्ट्रिय कला नीतिजस्ता कुराहरूमाथि हामीमा ध्यान जानुपर्छ । आर्ट क्षेत्रमा पत्रकारिताको व्यापक विकास हुन आवश्यक छ । जति धेरै कलाको प्रचारप्रसार हुन्छ त्यति नै मार्केट एक्सप्लोर हुन्छ ।

फेसनलाई पत्रकारिताले कत्रो स्पेस दिन्छ । आज फेसनले अन्तर्राष्ट्रिय मार्केट पाइसकेको छ’ भने एकै सासमा विनोदले । विनोदका कुराहरू भाञ्जा बाबुले बुझेकी बुझेनन् ।

‘लौ सहग्रलिंग आइपुगियो । अछाम जिल्लामा पर्ने यो ठाउँ ढुंगैढुंगाले घेरिएको स्थान रहेछ । सहस्रलिंगको धार्मिक मान्यताअनुसार भाकल बुझाउन यहाँ आउँछन् । पूजा सामग्री आफैँ बोकेर ल्याउनुपर्छ । जाडोमा हिउँ पर्छ । कमै मानिस आउँछन् । आफैँ पुग्न नसक्नेले फूल अछेता भए पनि अरूका हातमा पठाउँदा रहेछन् भन्ने छान्न गाउँपालिकाका पण्डित देवीदत्त उपाध्यायले भने ।

उनका अनुसार ०२२ सालमा स्थापना भएको निकुञ्जको क्षेत्रफल २२५ वर्ग किलोमिटर छ । यो राष्ट्रिय निकुञ्ज बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगम स्थलमा छ । समुद्र सतहबाट २४ सय देखि ३७ सय मिटरको उचाइमा फैलिएको खप्तड क्षेत्र बीचमा उभिएको छ । १२ हजार फिट अग्लो खप्तड लेक, जुन अर्को महत्वपूर्ण स्थान हो ।

धार्मिक दृष्टिकोणले हेर्दा ५० वर्ष पहिले खप्तड बाबाले तपस्या गरेको पवित्र भूमि हो खप्तड ।

खप्तडको त्रिवेणीमा रहेको त्रिवेणी मन्दिरको दर्शन गरेर मन नै लोभ्याउने २२ वटा पाटनलाई देख्दा पाटन छाडेर आउन मन मान्दैन । ‘हेर त विनोद ! हरिया पाटनमा फूलेका ससाना सेता फूल, कुनै कालीगढले फूलबुट्टा भरेर बनाएको कृत्रिम कार्पेटभन्दा कम लाग्दैन । यस प्राकृतिक कार्पेटमा आकातिर फर्कि लमतन्न सुत्दा जस्तोसुकै थकाइ पनि बिर्सिन्छ भन्दै हामी केही समय पाटनमा सुत्यौँ । त्यतिखेरको आनन्द शब्दमा बयान गर्न सकिनँ ।

पण्डित देवीदत्त उपाध्यायका अनुसार ‘खप्तड यात्रा वैशाख÷जेठमा झनै सुन्दर हुन्छ । यहाँ रंगीबिरंगी फूल फूलेर स्वप्नलोक जस्तो देखिन्छ ।’

जंगलको बाटो हिँड्दा आउने फूलको मन्दमन्द सुगन्ध, स्वच्छ हावापानी र हल्का बादलले ढाकेको नीलो आकाशले मोहित बनाइरहेको थियो । पाटनमा फाट्टफुट्ट भेटिने चरिरहेका घोडा, बाटो भेटिने फाट्टफुट्ट यात्री मग्न भएर हिँडिरहेका देखिन्थे । उनीहरूको अनुहारमा रत्तिभर थकान थिएन ।

खप्तड क्षेत्रमा दुई दिन बस्दा बाबुको कुटी, त्रिवेणी नदी, खापर दह, शिव मन्दिर, सहस्रलिंग, गणेश मन्दिर, नागंढुगा र केदार ढुगांजस्ता धार्मिक स्थल हेरेर साथै दर्शन गरेर मन्त्रमुग्ध नहुने को होला ? विनोदले त थुप्रै दृश्य चित्रहरूको रेखांकन गर्नसमेत भ्याएछन् ।

पण्डितजीले अगाडि सुनाए, ‘यहाँको सांस्कृतिक मेलामध्ये गंगा, दशहरा, मेला पनि एक हो । उक्त मेला हेर्न हजारौँ तीर्थयात्री भेला हुन्छन् । त्रिवेणी नदीमा स्नान गर्न र सुदूरपश्चिमकै प्रसिद्घ हुड्के नाच हेर्न स्थानीय र वरपरका सबै जम्मा हुन्छन् । खप्तड घुम्ने उपयुक्त महिना जेठ र असारदेखि मंसिरसम्म मात्रै हो ।’

खप्तडको अविस्मरणीय यात्रा सकेर हामी बझाङको तमेलबाट कालुखैतीसम्म गाडीमा छान्न हुँदै धनगढी फर्कियौँ । धनगढीबाट काठमाडौं फर्किंदा बाटोमा साह्रै सास्ती पनि खानु पर्यो ।

काठमाडौं फर्किएको दुई महिनापछि विनोदले नेपाल कला परिषद्मा ‘खप्तड–एक दृश्यचित्र’ नामक जलरंगीय एकल चित्र कला प्रदर्शनी आयोजना गरेको छ । उसको एकल दृश्य चित्रकला प्रदर्शनीको उद्घाटन द्घारिका होटेलकी प्रमुख अम्बिका श्रेष्ठले गर्दै छिन् । मलाई पनि विनोदले मन्तव्यका लागि निम्ताएका छन् । म त्यतै जाने तरखरमा छु ।

खप्तडको मनमोहन प्राकृतिक दृश्य चित्रलाई विनोदले कसरी उतारेका होलान् ? आफ्नै आँखाले देखेको त्यो विश्वप्रसिद्घ खप्तडलाई कलाकारका आँखाबाट हेर्दा कस्तो देखिएको होला भन्ने कुरा हेर्न मन तुलबुल भइरहेको छ ।

प्रतिक्रिया