हिक्मतबहादुर नेपाली । दैलेखको नारायण नगरपालिका–१० भवानीका राजकुमार बस्नेत र मन कुमारी बस्नेतको सानो र खुसी परिवार थियो । उनीहरूको परिवारमा आठ वर्षअघि पहिलो सन्तानको रूपमा अर्जुन बस्नेत जन्मिए । सन्तान जन्मिएकोमा उनीहरू अत्यन्तै खुसी थिए । उनीहरूमा हर्षको सीमा थिएन । तर, उनीहरूको हर्षमा केही समयपछि बादलको घेरा लाग्यो । पहिलो सन्तान अर्जुन सुस्त श्रवणशक्ति भएको थाहा पाएपछि ।
त्यसको तीन वर्षपछि पुनः दोस्रो सन्तानको रूपमा प्रवीण बस्नेतको जन्म भयो, उनमा पनि त्यही समस्या । दुइवटै छोरा जन्मजातै सुस्त श्रवणशक्ति भएर जन्मिएपछि अर्जुन र प्रवीणका बुबा कान्छी पत्नी लिएर भारत हिडँे । त्यसपछि सुरु भयो अर्जुन र प्रवीणका दुःखका दिन । कान्छी पत्नी लिएर भारत हानिएका बुबा फर्केर आएनन् । दुई दाजुभाइ अर्जुन र प्रवीण आमासँगै थिए । आर्थिक अवस्था कमजोर भएपछि आमा मनकुमारीलाई दुई सन्तानलाई शिक्षा दिन हम्मेहम्मे प¥यो ।
सुस्त श्रवणशक्ति भएर जन्मिएका छोराहरूलाई अन्य बालबालिका सरह विद्यालयमा पढाउन त्यति सम्भव थिएन । आमा मनकुमारी माइतीघरको शरणमा पुगिन् । अहिले दुई दाजुभाइ नै सुस्त श्रवण तथा बहिरा स्रोत कक्षा–केन्द्रको संरक्षणमा छन् ।
अर्जुन र प्रवीणजस्तै भगवतीमाई गाउँपालिका–५ पगनाथका गंगा र जमुनाको कथा भने अलि फरक छ । गंगा र जमुना जुम्ल्याहा छोरीहरू हुन् । पगनाथमा बसोबास गर्दै आएका कुल बहादुर विष्ट र शितला विष्टबाट लगातार पाँच सन्तान सुस्त श्रवणशक्ति लिएर जन्मिए । तीन छोरा र दुई छोरीमा सबै त्यही कमजोरी लिएर जन्मिएपछि पहिलो छोरालाई आर्थिक अभाव र सांकेतिक भाषाको पढाइ हुने विद्यालय थाहा नपाएर पढाउन पाएनन् ।
उनी अहिले भारत जाने गर्छन् । दोस्रो र तेस्रो सन्तानका रूपमा जन्मिएका प्रेम विष्ट र निर्मल विष्ट सुस्त श्रवण तथा बहिरा स्रोत कक्षा–केन्द्रको संरक्षणमा कक्षा ५ सम्मको अध्ययनपछि माथिल्लो कक्षा अध्ययनका लागि अन्यत्र पठाइसकिएको छ । पछिल्ला दुई छोरीहरू गंगा र जमुना पनि सुस्त श्रवण भएर जन्मिएपछि त्यही स्रोत कक्षा–केन्द्रमा अध्ययन गर्छन् ।
उनीहरू जस्तै दैलेखको पश्चिममा पर्ने चामुन्डाविन्द्रासैनी नगरपालिकाका–१३ वर्षीय टोपेन्द्रबहादुर शाही पनि सुस्त श्रवण तथा बहिरा स्रोत कक्षा केन्द्रको संरक्षणमा पढिरहेका छन् । टोपेन्द्रका बुबाको पाँच वर्ष अघि मृत्यु भयो । भर्खरै केन्द्रको संरक्षणमा आएका टोपेन्द्रका बाबुको मृत्युपछि घर पुगे । हिन्दू परम्पराअनुसार काजकिरिया सकेर पुनः केन्द्रमा फर्किएका उनी अहिले पनि स्रोत कक्षा–केन्द्रको संरक्षणमा बसेर आफ्नो भविष्य खोज्दै छन् ।
यी सबै सुस्त श्रवणशक्ति भएका बालबालिका हुन् । जिल्लाभर १६ जना बालबालिका अहिले स्रोत कक्षा–केन्द्रको संरक्षणमा छन् । १० जेठ ०६२ सालदेखि दैलेखको नारायण नगरपालिका–६ भुतीस्थित रेडक्रस माध्यमिक विद्यालय सञ्चालनमा ल्याइएको यो केन्द्रमा रहेका बालबालिकाले पढाइमा विभिन्न समस्या झेल्दै आएका छन् । उज्ज्वल भविष्यको सपना देखेर केन्द्रमा आएका ती बालबालिकाले केही सुविधा पाएको भए पनि आफूहरूको पठनपाठनमा समस्या हुँदै आएको गुनासो गर्दै आएका छन् ।
जिल्लाको एक मात्र सुस्त श्रवण तथा बहिरा स्रोत कक्षा–केन्द्रमा सांकेतिक भाषाको पढाइ सुरु भएको १३ वर्ष बित्यो । सुस्त श्रवण र बहिरा स्रोत कक्षा सञ्चालन गरिरहेको नारायण नगरपालिका–६ भुतीस्थित रेडक्रस माध्यमिक विद्यालयमा सांकेतिक भाषाको दरबन्दीका शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको छ । ०६२ सालदेखि सुरु भएको स्रोत कक्षामा १३ वर्षदेखि शिक्षक दरबन्दी रिक्त छ । स्रोत कक्षामा एकदेखि कक्षा ५ सम्म १६ जना विद्यार्थी अध्ययनरत छन् । सांकेतिक भाषाको दरबन्दी नहँुदा विद्यार्थीलाई पठनपाठनमा समस्या भएको काजमा बसेर सांकेतिक भाषा पढाइरहेका स्रोत शिक्षक लक्ष्मीप्रसाद रेग्मीले बताए । काजमै भए पनि एकजना शिक्षकले पढाउँदै आएका छन् ।
यसअघि धन बहादुर केसी काजमा आएर अध्यापन गराएका थिए । विगत दुई वर्षदेखि शिवशक्ति माध्यमिक विद्यालय सल्लेरीमा दरबन्दी भएका शिक्षक रेग्मीले स्रोत कक्षा धानिरहेका छन् । स्रोत कक्षामा अहिलेसम्म दरबन्दीको व्यवस्था नगरेको स्रोत शिक्षक रेग्मीले बताए । विद्यार्थीले चाहेका वेला खाद्यान्न, शैक्षिक सामग्री खरिदका लागि खर्च लगायतका सुविधा पाउन नसकेको उनको भनाइ छ ।
विद्यालयमा पर्याप्त पूर्वाधार नहुँदा विद्यार्थीहरू विद्यालय जान मान्दैनन् । बालबालिका पनि नियमित आउँदैनन् । कक्षा पाँचसम्म मात्र पठनपाठनको व्यवस्था भएकाले माथिल्लो तहको शिक्षा लिन उनीहरूलाई समस्या छ । जिल्लामा माथिल्लो तहको कक्षा सञ्चालन नहुँदा पढाइ छोड्ने क्रमसमेत बढेको छ । ‘विद्यालयका अन्य विद्यार्थीलाई कम्प्युटर, खेलकुद सामग्री, शैक्षिक सामग्री दिइन्छ,’ टोपेन्द्र बहादुर शाहीले सांकेतिक भाषामार्फत भने, ‘हामीलाई पनि ती सुविधा भए पठनपाठनमा सहज हुन्थ्यो ।’ स्रोत कक्षा सञ्चालन गरिए पनि त्यसको व्यवस्थापन हुन नसक्दा पठनपाठनमा समस्या भइरहेको स्रोत शिक्षक रेग्मीले बताए ।
कक्षा एकदेखि पाँचसम्म पढाइ हुने स्रोत कक्षामा एक दिनमा एक विषय मात्रै पढाइ हुनेगरेको छ । कुल १६ जना बालबालिका रहेको उक्त स्रोत कक्षामा शिक्षक अभावका कारण एक दिनमा एक विषय मात्रै पढाउनुपर्ने बाध्यता रहेको छ । शिक्षक रेग्मीका अनुसार स्रोत कक्षाका लागि बहुकक्षा शिक्षण विधिबाट अध्यापन गराइन्छ । कक्षा एकदेखि पाँचसम्म आइतबार अंग्रेजी विषय पढाइ हुन्छ । यस्तै, सोमबार नेपाली, मंगलबार गणित, बुधबार विज्ञान, स्वास्थ्य तथा शारिरीक शिक्षा र बिहीबार सामाजिक शिक्षा पढाइ हुन्छ । यसैगरी, शुक्रबार अंग्रेजी, गणित पढाइ हुनाका साथै अतिरिक्त क्रियाकलापमा चित्रकला तथा खेलकुद सिकाउने गरिएको छ ।
केन्द्रमा जिल्लाका ११ वटै स्थानीय तहका १६ बालबालिका रहेका छन् । नारायण नगरपालिका–२ का १६ वर्षीया बालिका मीना कुमारी बुढा भर्खरै एक कक्षामा भर्ना भएकी छन् । उनी जस्तै महाबु गाउँपालिकाकी सीता कुमारी कार्की र लछुमन विष्ट पनि केन्द्रकै संरक्षणमा छन् । नौमूले गाउँपालिकाका राहुल गुरुङ, नारायण नगरपालिकाका अर्जुन बस्नेत र प्रवीण बस्नेत र दुल्लु नगरपालिकाकी उमा खड्का, नारायण नगरकी सदिक्षा बुढा, पश्चिममा पर्ने आठबिस नगरपालिकाका कल्पना बुढामगर र कलम बहादुर शाही पनि केन्द्रकै संरक्षणमा छन् । यस्तै, गुराँस गाउँपालिकाका वृषबहादुर सुनार, चामुन्डाकी पद्मकला रेग्मी, भगवतीमाई गाउँपालिकाका गंगा विष्ट, जमुना विष्ट, टोपेन्द्र बहादुर शाही र नारायण–६ का गीता कुमारी बुढा पनि केन्द्रमा बसेर उज्ज्वल भविष्य खोजिरहेका छन् ।
प्रतिक्रिया