सम्झिएनन् विश्वयुद्ध लडेका नेपालीका परिवारलाई ?

पहिलो विश्वयुद्ध समाप्त भएको सय वर्ष पूरा भएको छ । विश्वयुद्धबाट नेपालले लाभ वा हानि नलिए पनि हजारौँ नेपाली विदेशीका लागि ज्यानको बाजी लगाएर विश्वयुद्धमा होमिएका थिए । त्यस क्रममा कैयौँले ज्यान गुमाए र कैयौँ घाइते पनि भए । अरूका देशको स्वतन्त्रताका लागि लडेका ती वीर योद्धाहरू अहिले जीवित छैनन् । तर, उनका परिवारका सदस्यहरू भने आफन्त गुमाएको पीडा अहिले पनि सम्झन्छन् ।

विश्वयुद्ध समाप्त भएको सय वर्ष मनाइरहँदा युद्धमा लडेकाका परिवारलई पनि वीर सेनाका परिवारलाई सम्झने आवश्यकता ठानेन् वा चाहेन ! जे भए पनि उनीहरूलाई सम्झनासमेत गरेनन् ती देशहरूले । आफ्ना बाबुबाजेले ज्यानको बाजी मारेर लडाइँ लडेर स्वतन्त्र भएका देशहरूले आफ्ना अभिभावक नसम्झेकोमा लडाइँमा ज्यान गुमाएका नेपालीका छोराछोरीले दुःख व्यक्त गरेका छन् ।
पहिलो विश्वयुद्ध समाप्त भएको सय वर्ष पूरा भएको अवसरमा ब्रिटेन, फ्रान्स, अस्ट्रेलिया, न्युजिल्यान्ड लगायतका देशहरूमा भव्य र भावुक कार्यक्रमहरू भए । उनीहरूले त्यसलाई एक उत्सवको रूपमा मनाउँदै खुसी साटे । नसाटून् पनि किन ? विश्व युद्धको कारण लाखौँ मान्छेले ज्यान गुमाएका थिए । कराडौँ घरबारविहीन र अंगभंग भएका थिए । एउटा त्रासदी पूर्ण अवस्थाबाट पाएको सफलतालाई उत्सवको रूपमा मनाउनु वा सम्झनु स्वाभाविक पनि हो ।

विश्वयुद्धमा ब्रिटेनको पक्षबाट लड्ने क्रममा हजारौँ नेपालीहरूले युद्ध मैदानमा नै ज्यान गुमाएका थिए । युवा अवस्थाका जोस, जाँगर र इमानदारीलाई उनीहरूले अरूको स्वतन्त्रता र हितमा खर्चेका थिए । महिनौँ भोकै बसेर जंगलको बासमा उनीहरूले अरूका लागि अरू नै सँग लडेका थिए । युद्धबाट स्वतन्त्रता पाउनेका अघि नेपालीले पाएको तलब वा पेन्सन सामान्य हो । कैयौँ नेपालीले आफ्ना अभिभावकको अनुहारसम्म हेर्न पाएनन् । जवानीमा कैयौँ महिला विधवा भए त्यही विश्व युद्धका कारण ।

तर, केही दिन अघि विश्वका कैयौँ देशले पहिलो विश्वयुद्धको शतवार्षिकी मनाइरहँदा ती साहसी नेपालीका परिवारलाई सम्झनासम्म गरेनन् । उनीहरूले युद्धमा होमिएका परिवारका सदस्यलाई बेवास्ता गरेका कारण सामाजिक सञ्जालहरूमा आलोचना निकै भयो । कैयौँले आफ्ना बाबुबाजेलाई सम्झँदै उनीहरूलाई गरेको बेवास्ताप्रति आक्रोश पनि पोखे ।

भारतीय सेनाका पूर्व सुबेदार मेजर कृष्णबहादुर गुरुङले अहिले ब्रिटिस गोर्खाबाट पहिलो र दोस्रो विश्वयुद्ध लडेका आफ्ना बुबा सुबेदार मेजर मनिराज गुरुङको सम्झना गरिरहेका छन् । मनिराज गुरुङ प्रथम र द्वितीय विश्वयुद्धमा सहभागी भएका थिए । उनले आफ्नो जवानी ब्रिटिस स्वतन्त्रता र उनीहरूको हितमा खर्चे । उनी जस्ता नेपालीको साहसिक लडाइँले ब्रिटिसका लागि हित भयो । तर, आज उनका परिवारलाई ब्रिटिस सरकारले सम्झन पनि सकेन ।

स्वर्गीय मेजर मनिराजका छोरा कृष्णबहादुर गुरुङका अनुसार उनका बुबा सम्भवतः सन् १९१०–१९११ तिर ब्रिटिस सेनामा भर्ती भएका थिए । आफ्ना बुवाले सुनाएको संस्मरणबारे सम्झँदै ८६ वर्षीय गुरुङले भने, ‘पहिलो विश्वयुद्धका वेला उहाँ सुएज कनाल क्षेत्रमा खटिनु भएको थियो । त्यहाँको लडाइँमा उहाँसँगै लडेका थुप्रै नेपालीले ज्यान गुमाएका थिए ।’

अहिले प्रथम विश्वयुद्ध समाप्तिको सम्झना भइरहँदा ब्रिटेन सरकारले लडाइँमा ज्यान गुमाएका गोर्खा सैनिक र उनीहरूका परिवारजनलाई बेवास्ता गरेको भन्दै उनले दुखेसो पोखेका छन् । उनले भने, ‘मेरा तीन जना (काका) बुबाहरू विश्वयुद्धमा ब्रिटिस सरकारका पक्षमा लड्नु भएको थियो । दुई जना काकाहरू ब्रिटिसका लागि लड्दालड्दै लडाइँमै बित्नुभयो । मेरो बुबा मात्रै अधिकृत भएर फर्किनुभयो । उहाँहरूले ज्यानको बाजी लगाएर लडेका कारण उनीहरू स्वतन्त्र भए । तर, यस्तो वेला सैनिकका छोराछोरीलाई नसम्झिएकोमा मन दुख्छ ।’ उनले आफ्ना भावना सुनाए ।

बुबाले विश्वयुद्ध लडेको अनुभव उनले बुबाको मुखबाट कथा जस्तै सुनेका थिए । युवा अवस्थामा बेलायती सेनामा भर्ना भएर विश्वयुद्ध लडेका मनिराज परिवारका अरू सदस्यले मैदानमा ज्यान गुमाए पनि उनी भने बाँचेर फर्किएका थिए । नेपाली युवाको बहादुरीका कारण स्वतन्त्र भएका ती राष्ट्रहरूले तिनका परिवारलाई बेवास्ता गरेको भन्दै गुनासो बढिरहेको छ ।

विश्वयुद्धको शतवार्षिकी मनाइरहँदा गुरुङ भन्छन् । ‘विश्व युद्धमा हजारौँ नेपालीले ज्यान गुमाए सय वर्ष पूरा भयो कैयौँ कार्यक्रम भएको सुनियो तर, उनीहरूले कसैलाई सम्झिएनन् । उनीहरू कैयौँ देशमा ब्रिटिसको पक्षमा लडे । उनी जस्तै लड्ने धेरैले ज्यान गुमाए । कम्तीमा यस्तो वेला परिवारका सदस्यलाई सम्झनु त पथ्र्यो नि ।’

उनले बाल्यकालमा बुवाले सुनाएका युद्धको अनुभव सम्झँदै भने, ‘बुबा भन्नु हुन्थ्यो हामीले तोपको गोलाको सामना गर्नुपथ्र्यो कैयौैँ पटक मरिएला झँै हुन्थ्यो । झोलामा बोकेका खाना र तुम्लेटमा बोकेको पानी खाएर बस्नुभएको थियो । आफ्नै अघि साथीभाइ ढलेका दुःखका कुरा पनि सुनाउनु हुन्थ्यो, उहाँ ।’

तर, गोर्खा सैनिकका परिवारले कहिलेकाहीँ ब्रिटेन सरकारबाट अपमानको समेत सामना गर्नुपरेको छ । ब्रिटेनका पक्षमा विश्वयुद्ध लडेका ८१ वर्षीय बुबा नरबहादुर आलेको स्याहारसुसार गर्न ब्रिटेन जान धनबहादुर आलेले दिएको आवेदन ब्रिटेनको गृह मन्त्रालयले अस्वीकार गरिदिएको थियो । उनले गत वर्ष उक्त निवेदन दिएका थिए । निवेदन अस्वीकृत भएपछि नाता प्रमाणित गर्न धनबहादुरले काठमाडौंमा र उनका बुबाले ब्रिटेनमा डिएनए परीक्षण गराएका थिए । डिएनए परीक्षणको नतिजा मिलेपछि अदालतले उनलाई ब्रिटेन जाने आदेश दिएको थियो ।

डिएनए रिपोर्ट मिलेर ब्रिटेन पुगेपछि उनले उक्त प्रक्रिया निकै झन्झटिलो र खर्चिलो भएको गुनासो गरेका थिए । त्यसरी डिएनए परीक्षण गर्नुपर्दा त्यसको खर्चसमेत सम्बन्धित निवेदकले नै व्यहोर्नुपर्ने नीति रहेकाले सो प्रक्रिया झन्झटिलो र खर्चिलो भएको परिवारका सदस्यहरूले गुनासो गरेका थिए ।

त्यति मात्रै होइन आफूहरूप्रति पेन्सन लगायतका विषयमा भेदभाव भएको भन्दै वेलावेला भूतपूर्व गोर्खा सैनिकका परिवारले माग गर्दै आएका छन् । उनीहरूले १८ वर्ष नाघेका आफ्ना छोराछोरीहरूलाई पनि ब्रिटेन आउन सहज रूपमा अनुमति दिन माग गर्दै आएका छन् । (एजेन्सीको सहयोगमा) ।

प्रतिक्रिया