सेनाका शैक्षिक प्रमाणपत्र जाचिँदै

काठमाडौं । नेपाली सेनाका अधिकृतदेखि माथिका सबैले शैक्षिक प्रमाणपत्र र नागरिकताको विवरण पुनः सैनिक मुख्यालयमा पठाउन सुरु गरेका छन् । एकसाता अघि मुख्यालयले सबै शैक्षिक प्रमाणपत्र र नागरिकताको विवरण मुख्यालयमा पठाउन मातहतका सबै निकायलाई पत्रचार गरेको थियो ।

सेनामा नक्कली प्रमाणपत्र पेस गरेर लामो समय जागिर खाएको भन्ने प्रमाणहरू भेटिन थालेपछि त्यसमाथि छानबिन सुरु भएको हो । प्रधानसेनापति पूर्णचन्द्र थापाको आदेशमा सेनाले देशैभरका सबै अधिकृतहरूको शैक्षिक योग्यताको प्रमाणपत्र माग भएको स्रोतले जानकारी दिएको छ ।

थापाले सेनामा भ्रष्टाचार नियन्त्रणका लागि सैनिक अदालतलाई सक्रिय बनाउने, नक्कली प्रमाणपत्रधारीहरूको छानबिन गर्ने, फास्टट्रयाक बढुवा प्रणालीलाई सुधार गर्ने र खरिद प्रक्रियालाई पारदर्शी बनाउने बताइसकेका छन् । प्रधानसेनापति थापाको निर्देशनपछि सैनिक सचिवको कार्यालयले मातहतका सबै निकायमा लिखित पत्रचार गरेको हो ।

केन्द्रको पत्रचारअनुसार देशभरी रहेका पृतना तथा गुल्म लगायतले मातहतमा रहेका अधिकारीलाई जानकारी गराई प्रमाणपत्र संकलन कार्य सुरु गरेका हुन् । सेनाका प्रवक्ता सहायकरथी गोकुल भण्डारीले सबै सैनिक अधिकृतको शैक्षिक योग्यताको प्रमाणपत्र अपडेटका लागि पत्रचार गरिएको जानकारी दिए । उनले भने, ‘यो नियमित प्रक्रिया हो, अहिले पनि हामिले सबै अधिकृतहरूको विवरण माग गरेका छौँ ।’

अनलाइन डिग्रीको बढुवा रोक्का
लोकसेवा आयोगले अनलाइन र खुला विश्व विद्यालयबाट उत्तीर्ण भएको प्रमाणपत्रलाई मान्यता नदिएको सन्दर्भमा सेनाले पनि सोही नियम लागू गरेको छ । प्रधानसेनापति थापाले अनलाइन डिग्री भएकाहरूको हकमा पनि छानबिन गर्न निर्देशन दिएका छन् ।
जसका कारण रथीसम्मको बढुवा र सरुवासमेत रोकिएको सैनिक सम्बद्ध स्रोतले जानकारी दिएको छ । एक रथी पद खाली भएको करिब दुई महिना बित्न लाग्दासमेत कसैलाई बढुवा गरिएको छैन । २५ भदौमा थापा महाथरीमा बढुवा भएपछि खाली रहेको रथीमा कसैको बढुवा भएको छैन । बढुवाको सूचीमा रहेका उपरथी अनुज बस्न्यात रथी पदको दाबेदार हुन् । तर, उनलाई बढुवा नगर्नुको कारण अनलाइन डिग्री रहेको स्रोतले बताएको छ ।

यस्तै, अनलाइन डिग्री भएको भन्दै सहायकरथी नैनराज दाहालको बढुवासमेत रोकिएको थियो । नेपाली सेनाका केही सहायकरथी र दुईजना उपरथीहरूको शैक्षिक योग्यता र जन्ममितिमा कैफियत देखिएपछि बढुवा नै रोक्ने मनस्थितिमा प्रधानसेनापति पुगेको सैनिक स्रोतले बतायो । प्रधानसेनापति थापाले सैनिक मुख्यालयमा विदेशीहरूको प्रवेशलाई समेत कडाइ गरेका छन् ।

उनले अनावश्यक रूपमा विदेशीहरूसँगको भेटघाट नगर्नसमेत मातहतका निकायलाई सचेत गराइसकेका छन् । यसअघि, भर्ना छनोटमा भ्रष्टाचार गरेको भन्दै सेनाका केही अधिकृतसहित दुई दर्जनमाथि कोर्ट मार्सल गर्नसमेत सेनापतिले निर्देशन दिएपछि छानबिनको प्रक्रियासमेत अघि बढेको छ ।

प्रतिक्रिया