मेस्सी पेलेको कीर्तिमान नजिक

एजेन्सी, अर्जेन्टिना । बार्सिलोनाका कप्तान एवं अर्जेन्टिना सुपरस्टार लिओनेल मेसीले ब्राजिलियन लेजेन्ड पेलेको कीर्तिमान नजिक पुगेका छन् । एकै क्लबका लागि ५ सयभन्दा बढी गोल गर्ने खेलाडीको सूचीमा रहेका खेलाडीमध्ये अब मेसीले पेलेलाई मात्र उछिन्न बाँकी छ ।

मेसीले गतसाता रियल बेटिसविरुद्ध ४–३ को हारमा दुई गोल गर्दै जर्मन लेजेन्ड गर्ड मुलरलाई उछिनेका हुन् । बार्सिलोनाले उक्त खेलमा पराजय बेहोरे पनि मेसीले भने दुई गोल गर्दै व्यक्तिगत रूपमा कीर्तिमान तोड्न सफल रहे । उनले बेटिसविरुद्ध गरेको गोल क्लबका लागि ५ सय ६५औं र ५ सय ६६औं गोल थियो ।

यससँगै उनी एकै क्लबका लागि सर्वाधिक गोल गर्ने सूचीमा दोस्रो स्थानमा छन् । यसअघि दोस्रो स्थानमा गर्ड मुलर रहेका थिए । उनले बायर्न म्युनिखबाट खेल्दै ५ सय ६५ गोल गरेका थिए । मेसीले बार्सिलोनाका लागि ६ सय ५० खेल खेल्दै ५ सय ६६ गोल गरिसकेका छन् । यस क्रममा उनले सन् २०११÷१२ को सिजनमा सर्वाधिक ७३ गोल गरेका थिए ।

मेसीले अहिलेसम्म लिगमा ३ सय ९२, च्याम्पियन्स लिगमा १ सय ५, कोपा डेल रेमा ४८, स्पेनिस सुपर कपमा १३, क्लब विश्वकपमा ५ र युरोपेली सुपर कपमा ३ गोल गरेका छन् । एकै क्लबका लागि सर्वाधिक गोलको कीर्तिमान भने ब्राजिलियन फरवार्ड पेलेको नाममा छ । उनले १८ सिजन ब्राजिलियन क्लब सान्टोसका लागि खेल्दै ६ सय ४३ गोल गरेका थिए ।

मेसी अब पेलेको कीर्तिमान तोड्नबाट जम्मा ७७ गोल पछाडि छन् । मेसीले जुन लयमा पछिल्लो सिजनहरू खेलिरहेका छन्, बार्सिलोनामा नै करिअर सकेको खण्डमा उनले उक्त रेकर्ड आफ्नो नाम गर्नेमा दुईमत छैन । अहिलेको लयमा खेल्ने हो भने मेसीले अबको दुई सिजनपछि यो कीर्तिमान तोड्ने आँकलन गरिएको छ ।

प्रतिक्रिया