निर्मलाका आमाबुवा अनिश्चितकालीन धर्नामा

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका आमाबावु अनिश्चितकालीन धर्नामा बसेका छन् ।

छोरीको हत्यारालाई हत्यारा पक्राउ गरी सार्वजनिक गर्न दवाव दिँदै आईतबारदेखि पीडित परिवारले अनिश्चित्कालीन धर्ना दिन सुरु गरेका छन । निर्मलाकी बुबा यज्ञराज, आमा दुर्गालगायत परिवारका सदस्यहरुले न्यायका लागि सरकारलाई दवाव दिन महेन्द्रनगरस्थित जिल्ला प्रशासन कार्यालयको मूलगेटमा धर्नामा बसेका छन् ।

धर्नामा बस्नु अघि निर्मलाको हत्यारालाई पक्राउ गरी कडा कार्वाही गर्न माग गर्दै अधिकारकर्मीहरुसहितको ¥याली निकालिएको थियो ।

सरकारले न्याय दिन्छ भन्ने विश्वास नरहेपछि नागरिक समाज र संचारकर्मीहरुकै उपस्थितिमा थप दवाव दिन धर्ना अभियान सुरु गरिएको पनि यज्ञराजले बताए । नागरिक समाज र संचारकर्मीहरुको पहलमा निर्मलाले न्याय पाउने पीडित परिवारले विश्वास गरेको बताएका छन् ।

निर्मलाले न्याय नपाए आमरण अनसन बस्ने उनीहरुले चेतावनी दिएका छन । बुवा यज्ञराजले छोरीलाई बलात्कारपछि हत्या गर्ने अपराधिलाई पक्राउ गरी कार्वाही नगरे आफूहरु आमरण अनसन बस्न बाध्य हुने चेतावनी दिए । सरकारले अपराधि पत्ता लगाउन नसकेको भन्दै उनले आक्रोश व्यक्त गरेका थिए ।

धर्नामा निर्मलाका बुबाआमासँगै बहिनी सरस्वती, भाई मोहित पनि बसेका छन् । त्यसैगरी उनको कान्छी आम लक्ष्मी र आफन्तहरु पनि धर्ना बसेका छन् ।

धर्नामा बस्नु अघि निर्मलाका बुबा यज्ञराजले प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई भेटी धर्ना बस्ने बारे जानकारी गराएका थिए । उनले भेटमा प्रजिअलाई छोरीको हत्यारा पत्ता नलागे आफूहरु मर्न तयार हुने चेतावनी दिएका थिए ।

प्रतिक्रिया