कांग्रेसमा किचलो झनै थपियाे

काठमाडौं । पुरानै पार्टीमा फर्किएका विजयकुमार गच्छदारलाई विधान मिच्दै उपसभापतिमा मनोनयन गरेपछि नेपाली कांग्रेसको विवाद थप पेचिलो बन्दै गएको छ ।

सभापति शेरबहादुर देउवाले विधानविपरीत आफ्नौ कार्यशैली बढाउँदै लागेको भन्दै संस्थापनइतर पक्षले सार्वजनिक रूपमै विरोध जनाउन थालेका छन् । उनीहरूले देउवाको कार्यशैलीका कारण पार्टीमा अराजकता फैलिएको आरोप लगाउन सुरु गरेका छन् ।

संघीय निर्वाचनअघि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकसँग पार्टी एकीकरण गर्दा भएको सहमतिअनुसार देउवाले विधान मिच्दै गच्छदारलाई उपसभापति बनाएका हुन् ।

गच्छदारलाई उपसभापति बनाउन आफूले राजनीतिक निर्णय गरेको भन्दै सभापति देउवाले गरेको प्रस्तावलाई बैठकले सर्वसम्मतले पारित गरेको थियो । तर, सभापति देउवाको सो प्रस्तावको प्रक्रियाप्रति वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह र पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले असहमति जनाएका थिए । उनीहरूले व्यक्तिका बारेमा नभई प्रक्रियाका बारेमा बैठकमै कुरा उठाएपछि विवाद सुरु भएको थियो ।

उपसभापति मनोनयनको प्रक्रियाप्रति नेताहरूको चर्को असन्तुष्टि, सभापति देउवाको कार्यशैलीका कारण पार्टी नै खतरनाक अवस्थामा पुगेको नेताहरूको भनाइ ।

गच्छदारलाई उपसभापति बनाउने कुरा विगतमै सहमति भएकाले त्यसलाई विवादमा तान्न नहुने बताउछँन् । निर्वाचनअघि नै उपसभापति दिने भनेर सबै नेताले भनेकै हो, त्यसै आधारमा सभापतिले मनोनयन गरेको संस्थापन पक्षका नेताको भनाइ ।

कांग्रेसको विधान संशोधन मस्यौदा समितिमा पनि संस्थापन पक्षले सभापतिलाई एकलौटी अधिकार दिनेगरी बनाउने तयारी गरेपछि विवाद ।

सभापति देउवाले प्रक्रियाका विषयमा कुनै कुरा नभन्दै विगतमा सहमति भएअनुसार आफूले उपसभापति बनाएको मात्र बताएका थिए । कांग्रेसको विधानमा निर्वाचित केन्द्रीय सदस्यलाई मात्र उपसभापतिमा मनोनयन गर्ने व्यवस्था छ । सोही व्यवस्थातर्फ नेताहरूले सभापतिको ध्यानाकर्षण गराएका थिए । उनीहरूले विधान नमिच्न देउवासँग आग्रह गरेका थिए ।

नेता प्रकाशमान सिंहले पार्टी सभापति विधानअनुसार चल्न नसक्दा पार्टीभित्र विभिन्न समस्या आउन थालेको बताए । ‘सभापति विधान विपरीत चल्न थाल्नुभयो, उहाँले पहिला पार्टी सभापति, अनि मात्र विधान भने जसरी चलाउनु कांग्रेसका लागि दुर्भाग्य हो ।’

नेता सिंहले विधानभन्दा सभापति माथि कहिल्यै नहुने भन्दै यसमा सुधार नगरे आफूहरू जस्तोसुकै कदम चाल्नसमेत बाध्य हुने चेतावनी पनि दिएका छन् ।

कांग्रेसको विधान संशोधन मस्यौदा पनि संस्थापन पक्षले सभापतिलाई एकलौटी अधिकार दिनेगरी बनाउने तयारी गरेको थियो । सो विषयमा समेत कांग्रेसमा संस्थापन र इतर पक्षबीच विवाद भएको थियो । पछि सो विषयमा केही मध्यमार्गी बाटो खोजिए पनि त्यसले अन्तिम रूप भने अझै पाउन सकेको छैन ।

संस्थापन पक्षका नेताहरू भने गच्छदारलाई उपसभापति बनाउने कुरा विगतमै सहमति भएकाले त्यसलाई विवादमा तान्न नहुने बताउछँन् । निर्वाचनअघि नै उपसभापति दिने भनेर सबै नेताले भनेकै हो, त्यसै आधारमा सभापतिले मनोनयन गर्नुभएको हो,’ नेताहरूको धारणा छ ।

तर, संस्थापनइतर पक्षले भने कुनै समिति बनाएर त्यसको सुझाबका आधारमा मनोनयन गर्नुपर्ने धारणा राखेका छन् । युवा नेता गगन थापाले पार्टी सभापति देउवा पार्टीका लागि खतरनाक बन्दै गएको बताए ।

उनले गच्छदारलाई मनोनीत गर्ने सभापति देउवाको शैलीलाई अराजकताको संज्ञासमेत दिए । ‘विधानविपरीत सभापति जथाभाबी चल्दा पार्टीलाई अपूरणीय क्षति पुग्छ, त्यो पार्टीका लागि खतरनाक हुनेछ,’ नेता थापाको भनाइ छ ।

कांग्रेसले विधानसहित पार्टीमा देखिएको विवाद समाधान गर्न महासमिति बैठक बोलाएको छ । मंसिर ५ देखि बैठक बोलाए पनि सस्थापनको चाहनाका कारण बैठक २८ गतेसम्मलाई सारिएको छ । यस्तै, महाधिवेशन पनि निर्धारित समयमा नगर्ने मनस्थितिमा सभापति देउवा रहेको संस्थापनइतर पक्षले आरोप लगाउँदै आएका छन् ।

प्रतिक्रिया