देउसीभैलोबाट देशको मौलिक, संस्कृती बचाउँ

सुर्खेत । आज यमपञ्चकको अन्तिम दिन भाइटीका । ११:५५ बजेको समयलाई उत्तम साइत मानेर दिदीबहिनीले दाजुभाइको दीर्घायु र प्रगतिको कामना गर्दै सप्तरङ्गी टीका लगाएर दोस्रो ठूलो पर्व तिहार सम्पन्न गरिँदै छ ।

यही पर्वको अवसरमा देउसी भैली खेलेर कर्णाली प्रदेशका विभिन्न जिल्लामा संस्कृति संरक्षण र सरसफाइ प्रवर्धनको सन्देश दिन थालिएको छ । कर्णाली प्रदेश भाषा, संस्कृति, कला, साहित्यको उद्गमस्थल हुँदा पनि यसको इतिहास ओझेलमा पर्न थालेकोप्रति चासो देखाउँदै संस्कृति र स्रष्टा संरक्षणको सन्देश दिएर देउसी भैली खेलिएको छ ।

संस्कृतिको धनी कर्णालीमा समेत बाह्य संस्कृति आयात हुन थालेपछि यहाँको मौलिक संस्कृति झल्काउने देउसी भैली खेलेर संस्कृति संरक्षणको अभियान थालिएको सम्पदा मल्टिप्रपोज प्रालि कालीकोटका प्रबन्ध निर्देशक दुर्गाप्रसाद काफ्लेले जानकारी दिए । हामी संस्कृति, मौलिकता र स्रष्टा संरक्षणको अभियान थालेका छौँ”, प्रबन्ध निर्देशक काफ्लेले भने, “यसको संरक्षण मात्र नभई उजागर पनि गर्छौं ।

प्रालिले मध्य तथा सुदूरपश्चिमेली देउडा, लोकभाका, लोक सांस्कृतिक नाच, हुड्के नाचलाई देउसी भैलीमा प्रस्तुत गरिरहेको छ । नृत्यका साथै कर्णाली प्रदेशका प्रचलित भाका, लय, ताल र मौलिक शैलीका गीतसङ्गीतलाई समेत देउसीमा समावेश गरिएको छ ।

त्यसैगरी, कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिकाका प्रत्येक घरबेटीलाई देउसी भैलीबाटै आफ्नो घर आँगन स्वच्छ, सफा र सुन्दर राखी सभ्य नागरिकको परिचय दिन सन्देश प्रवाह गरिएको छ । ‘गो ग्रिन, गो क्लिनका अभियन्ता प्रतिमा चपाईले वीरेन्द्रनगरलाई प्लास्टिकरहित शहर, हरित नगर’ निर्माणमा सहयोग पुर्याउने उद्देश्यका साथ यो अभियान थालिएको बताए ।

हाम्रो देउसी भैलीमा हामीले यहाँका घरबेटीलाई डोको उपहार दिएर उनीहरुबाट सगुन लिएका छौँ, चपाईले भने, “उनीहरुले डोकोमा फोहोर सङ्कलन गरी उचित व्यवस्थापन गरुन् । जसबाट सफा र सुन्दर नगर निर्माणमा सहयोग पुगोस् । देउसी भैलीबाट प्राप्त गरेको सगुन सफा, सुन्दर र हरियाली शहर निर्माणमा खर्च गर्ने उनको भनाइ छ ।

यो वर्षमा नव युवापिँढीले देउसी भैलीबाट सिर्जनशील काम गर्दा निकै खुशी लागेको कर्णालीका सामाजिक अभियन्ता दुर्गाप्रसाद पाण्डेले बताए । नव युवापिँढीको यो कदम सराहनीय छ, अभियन्ता पाण्डेले भने, यो सकारात्मक र प्रशंसनीय कदमलाई सबैले साथ दिनुपर्छ ।

प्रतिक्रिया