कांग्रेसलाई कसैले जित्न सक्दैनः कोइराला

चितवन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले कांग्रेसभित्र गुटबन्दी हावी भएको बताएका छन् । कोइरालाले एकवद्ध बनाएर अगाडि बढेको खण्डमा नेपाली कांग्रेसलाई कसैले पनि जित्न नसक्ने दाबी गरे ।

नेपाली कांग्रेसको शक्ति अहिले पनि बलियो रहेको उल्लेख गर्दै कोइरालाले कांग्रेस भित्रको एकता जरुरी रहेको बताए । नेपाल प्रेस युनियन चितवन शाखाद्वारा भरतपुरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री कोइरालाले नेपाली कांग्रेस ठूलो इतिहास बोकेको पार्टी भएकोले आगामी निर्वाचनमा नेपाली कांग्रेस प्रमुख ठूलो दल बन्ने दाबी गरे ।

एमाले र माओवादी लोकतन्त्रमा विश्वास नराख्ने पार्टी भएकाले दुवै पार्टी मिलेर पनि कांग्रेसलाई हराउन नसक्ने कोइरालाको तर्क थियो ।

महामन्त्री कोइरालाले आगामी मंसिर ५ देखि १० गतेसम्म आयोजना गरिएको नेपाली कांग्रेसको महासमिति बैठक सर्न सक्ने बताएका छन् । महासमिति बैठकका बारेमा केन्द्रीय समितिमा कुनै पनि छलफल सुरु नभएकोले १० दिनजति महासमिति बैठक सर्ने संकेत पाएको कोइरालाले बताए ।

महाधिवेशन आउन दुई वर्ष अझै बाँकी रहेकोले सभापति पदमा को उठ्ने भन्ने विषयमा अन्य समर्थकहरूसँग सल्लाह लिएर अगाडि बढ्ने कोइरालाको भनाइ थियो ।

त्यसैगरी विराटनगरमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले, अब बस्ने महासमितिको बैठकपछि कांग्रेसले नयाँ विचारका साथ संगठित भएर अघि बढने बताएका छन् ।

मोरङको रतुवामाई नगरपालिकाको झुर्कियामा सोमबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता शर्माले कांग्रेसको आवश्यक व्यवस्थापनका लागि नेतृत्वतह एकतावद्ध भएर अघि बढनुपर्नेमा जोड दिए । उनले नेपाली कांग्रेसको चाहना पाँच वर्षसम्म यही सरकार सञ्चालन होस् भन्ने रहेको भन्दै जनताको हितमा सरकारले काम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य गगन थापाले संविधान कार्यान्वयन र संघीयता व्यवस्थापन नै अहिलेको प्रमुख चुनौती रहेको बताए । विगतको निर्वाचनको पराजयबाट पाठ सिकेर कांग्रेसले आफूलाई परिमार्जन गर्दै जानुपर्ने उनले बताए । उनले संविधानप्रति असन्तुष्ट व्यक्त गर्ने पक्षलाई समेटेर अघि बढन सरकारलाई आग्रहसमेत गरे ।

अर्का केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले दुईतिहाइको बहुमतको सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको आरोप लगाए । उनले मुलुकमा शान्ति सुरक्षाको अवस्था दयनीय रहेको, महँगी वृद्धि भएकोले जनतामा नैरश्यता छाएको बताए ।

नेपाली कांग्रेस रतुवामाई नगरसमितिका अध्यक्ष जीवन पनेरुको सभापतित्वमा भएको उक्त कार्यक्रममा रतुवामाई नगरपालिकाका प्रमुख रविन राई, नेकां केन्द्रीय सदस्य डा. डीला संग्रौला, राष्ट्रिय सभाका सदस्य रमेशजंग रायमाझी, प्रदेशका नेकां सचेतक केदार कार्की, पूर्वमन्त्री दिलीप गच्छदार, नेका मोरङ सचिव मोदराज घिमिरेले पार्टी एकतामा जोड दिए ।

प्रतिक्रिया