६,७९० नेपालीको मृत्यु

फाइल तस्बिर

आव ०६७-६८ देखि ०७४७५ सम्म विभिन्न देशमा पाँच हजार ८३२ कामदारको मृत्यु तथा ७८७ कामदार अंगभंग तथा गम्भीर बिरामी

काठमाडौं । ८ वर्षअघि युनाइटेड अरब इमिरेट्स पुगेका पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीका यामप्रसाद रिजालले भदौ २७ गते सडक दुर्घटनामा परी ज्यान गुमाए । तिजका दिन सवारी चलाएर नेपालमा रहेकी आमासँग कुराकानी गरिरहेका बेला उनको गाडी दुर्घटनामा परेको थियो ।

विपरीत दिशाबाट आएको गाडीले ठक्कर दिएपछि दुर्घटना भएको उनी कार्यरत ब्लुराइन्ड इन्टरनेसनल कम्पनीले पछि परिवारलाई जानकारी दिएको थियो । तर, परिवारले केही समयपछि मात्र उनको मृत्यु भएको खबर पाएको थियो । विदेशमा कति नजानेर त कति जानेर यस्ता र अन्य प्रकारका दुर्घटनामा परी नेपालीको मृत्यु हुने गरेको छ ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार अहिले दैनिक करिब तीन नेपालीको विदेशमा मृत्यु भइरहेको तथ्यांकले देखाएको जानकारी गराएको छ । रोजगारीका लागि खुला गरिएका ११० गन्तव्य मुलुकमा श्रम गरिरहेका वेला वा भवितव्य परी ६ हजार ७९० नेपालीको मृत्यु भएको छ । यो आधिकारिक नेपालीको भए पनि अवैध रूपमा बसोबास गरिरहेका नेपालीको संख्या पनि रहेको हुन सक्ने बोर्डले जानकारी दिएको छ ।

आव ०६७-६८ देखि ०७४-७५ सम्म विभिन्न देशमा पाँच हजार ८३२ कामदारको मृत्यु तथा ७८७ कामदार अंगभंग तथा गम्भीर बिरामी परेको बोर्डले जानकारी दिएको छ । आर्थिक वर्ष ०७३÷७४ मा वैदेशिक रोजगारीमा ज्यान गुमाउनेको संख्या ६ सय ७८ पुगेको छ । यसमा महिला १७ जना छन् । जुन पाँच वर्ष यताकै सबैभन्दा कम संख्या हो । आर्थिक वर्ष ०६८÷६९ मा ६ सय ४६ जनाले ज्यान गुमाएका थिए । त्यसपछि यो संख्या प्रत्येक वर्ष बढ्दै गएको थियो ।

कुन देशमा कतिको मृत्यु

०६७-६८ यता मलेसियामा दुई हजार १२५ पुरुष र २७ महिला गरी दुई हजार १५२ नेपाली कामदारको मृत्यु भएको बोर्डले जनाएको छ । यसैगरी, साउदी अरेबियामा एक हजार ६३४ पुरुष र तीन महिला, कतारमा एक हजार १९१ पुरुष र आठ महिला, युएईमा ४५६ पुरुष र २९ महिला, कुवेतमा १४९ पुरुष र ३७ महिला, बहराइनमा ७५ पुरुष र दुई महिला, दक्षिण कोरियामा ७४ पुरुष, लेबनानमा चार पुरुष र १६ महिला तथा श्रीलंकामा दुई पुरुषको रोजगारीका क्रममा मृत्यु भएको छ ।

विशेषगरी हेलचेक्रयाइँ र विदेशीभूमिको हावापानी र खानपानका विषयमा राम्रोसँग ज्ञान नहुँदा मृतकको संख्या बढ्ने गरेको बोर्डको भनाइ छ । म्यानपावर कम्पनीहरूले पनि कामदारमा दक्षता हासिल नहुन र विशेष गरी खानपानमा ध्यान नदिँदा ज्यान गुमाउनेको संख्या अत्यधिक हुने गरेको बताउँछन् । विदेश गएका नेपालीहरूमा विशेष गरी सुतेकै ठाउँमा मृत्युवरण गर्ने पनि धेरै रहेका छन् । यसैगरी, गम्भीर रूपमा अंगभंग हुने तथा बिरामी पर्नेको संख्या पनि उल्लेख्य छ ।

मृतकका परिवारलाई बोर्डले क्षतिपूर्ति र बिमा बापतको रकम पनि उपलब्ध गराउँदै आएको छ । विगतको १० वर्षमा बोर्डले मृतकका परिवारलाई बिमा र कल्याणकारी कोषको रकम गरी रु डेढ अर्ब आर्थिक सहायता उपलब्ध गराएको छ । यस्तै, वैदेशिक रोजगारीका क्रममा गम्भीर बिरामी तथा अंगभंग भएका एक हजार २०२ जनालाई सहायता प्रदान गरेको छ । कामदारको मृत्यु तथा अंगभंग हुँदा प्रदान गरिने आर्थिक सहायता र उपचार खर्च रु एक लाख ५० हजारबाट वृद्धि गरी रु सात लाख पु¥याइएको कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए ।

जीवन बिमा १५ लाख

बोर्डले वैदेशिक रोजगारमा जानेको बिमा बढाएको छ । कामदारका परिवारका सदस्यलाई गम्भीर प्रकृतिको रोग लाग्दा बोर्डबाट रु ५० हजार औषधोपचार खर्च उपलब्ध गराउन थालेको छ । रोजगार जीवन बिमा वृद्धि गरी रु १५ लाख पु¥याइएको, वैदेशिक रोजगारीमा हुँदा नेपाली कामदारलाई लाग्न सक्ने १५ प्रकारका रोगको उपचारका लागि रु पाँच लाखको स्वास्थ्य उपचार बिमाको व्यवस्था मिलाएको बोर्डले जनाएको छ ।

‘बोर्ड स्थापनादेखि बिमामा लाग्दै आएको बिमा मृत्यु कर हटाइएको छ, विदेशमा विविध अभियोग लागि जेलमा रहेका नेपालीलाई निःशुल्क कानुनी प्रतिरक्षाका लागि सहयोग प्रदान गर्न निर्देशिका जारी गरिएको छ ।’, कार्यकारी निर्देशक श्रेष्ठले भने ।

कल्याणकारी कोषमा साढे चार अर्ब

कामदारलाई विपद् पर्दा तथा रोजगारीका लागि अभिमुखीकरण दिनका लागि भनेर बोर्डले वैदेशिक रोजगार कल्याणकारी कोषको सञ्चालन गर्दै आएको छ । आव ०७४-७५ सम्म उक्त कोषमा रु चार अर्ब ५० करोड सञ्चित भएको छ । चालु आवको अन्त्यसम्म कोषमा रु पाँच अर्ब ७८ करोड ५० लाख रकम संकलन हुने बोर्डको अनुमान छ ।

बोर्डले आव ०७५-७६ मा रु एक अर्ब २८ करोड ५० लाख आम्दानी र रु एक अर्ब २३ करोड ७५ लाख ५० हजार खर्च हुने प्रक्षेपण गरेको छ । बोर्डले वैदेशिक रोजगारीमा जाने कामदारको मृत्यु भएमा परिवारलाई आर्थिक सहयोग, विदेशमा अलपत्र परेको अवस्थामा उद्धार, मृतक कामदारको शव स्वदेश ल्याउन, वैदेशिक रोजगारीमा जाने कामदारलाई सीपमूलक तालिम प्रदान गर्न कल्याणकारी कोषमा सञ्चित रकमबाट सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया