कांग्रेसको चियापान

काठमाडौं । नेपाली कांग्रेसभित्र गुटगत रूपमा देखिएको विवाद चियापानमा समेत देखा परेको छ । दशैँ, तिहार, नेपाल सम्वत र छठको अवसर पारेर पार्टी कार्यालय सानेपामा भएको चियापानमा कांग्रेसकै नेताहरू महासमिति बैठक सर्ने वा के हुने अन्योलका कुरा गर्दै थिए ।

मंसिरको ५ गतेदेखि ९ गतेसम्म राजधानीमा बोलाइएको महासमिति बैठक सभापति शेरबहादुर देउवाले सार्ने तयारी गरेपछि अन्य नेताहरू रुष्ट बन्न थालेका हुन् । चियापानमा उपस्थित नेताहरूले समेत महासमिति बैठक सर्न सक्ने कार्यकर्तालाई बताइरहेका थिए ।

चियापानमा भेटिएका कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले पार्टीको आसन्न महासमिति बैठक केही दिनपछि सर्ने सम्भावना रहेको बताएका छन् । सञ्चारकर्मीसँग पनि महामन्त्री कोइरालाले प्राविधिक कारणले महासमितिको बैठक एक-दुई हप्ता पछाडि सर्ने सम्भावना रहेको जानकारी गराए ।विशेषतः विधानको मस्यौदा बन्न नसकेको कारण देखाउँदै देउवाले महासमिति बैठक सार्ने तयारी गरेका छन् ।

बैठक सुरु हुनुभन्दा कम्तीमा १५ दिनअघि विधान संशोधन मस्यौदा तयार भइसक्नुपर्छ । महासमितिका सदस्यहरूले विधान संशोधन मस्यौदा अध्ययनका लागि कम्तीमा १ साताको समय माग गर्दै आएका कारण महासमितिको बैठक सुरु हुनुभन्दा कम्तीमा १५ दिनअघि विधान संशोधन मस्यौदाको अन्तिम टुंगो लाग्नुपर्छ । त्यसका लागि २० गते नै मस्यौदा तयार भइसक्नुपर्ने भए पनि अहिलेसम्म अन्तिम टुंगो लाग्न सकेको छैन । जसका कारण महासमिति बैठक सर्ने सम्भावना रहेको हो ।

महामन्त्री कोइरालाले पार्टीमा आन्तरिक कलह चुलिएको स्वीकार गरेका छन् । ‘पार्टी एक हुनुपर्छ भन्ने मेरो धारणा पहिलेदेखि नै हो, महाधिवेशनभन्दा पहिले पार्टी मिलाउने सम्भावना कम देखिएको छ । मेरो निरन्तर प्रयास छ ।’

चियापानले जुराएको एकताको जोड

चियापानमा उपस्थित नेपाल कम्युनिस्ट पार्टी र कांग्रेसका शीर्ष नेताहरूले भने एकता गरेर देशलाई विकासको गतिमा डो¥याउनुपर्ने बताएका छन् ।

कांग्रेस सभापति देउवाले चियापान विगतदेखिको परम्परा भएको बताउँदै यसले बिपीले प्रतिपादन गरेको मेलमिलापको नीतिलाई सहयोग गर्ने बताए । उनले मुलुकमा अहिले पनि मेलमिलापको नीति आवश्यक रहेको बताउँदै यसले आपसी सदभाव बढाउने उल्लेख गरे ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले चियापानले आपसी एकता र सद्भाव बढाउने बताउँदै एकता र मेलमिलाप आज पनि उत्तिकै आवश्यक रहेको बताए । उनले भने, ‘चियापानको सुरुआत विगतमा बिपी कोइरालाले गरेका हुन् यो त्यसैको निरन्तरता हो ।

यसले आपसी सदभाव र एकता ल्याउन मद्दत गर्छ । एकता र मेलमिलाप आज पनि आवश्यक छ ।’ उनले अहिलेको राजनीतिक परिवर्तन पनि पार्टीहरूबीचको एकताले मात्र सम्भव भएको बताए । अध्यक्ष दाहालले भने, ‘राजनीतिक स्थिरताका लागि कांग्रेससँगै मिलेर शान्ति प्रक्रिया सम्भव भयो ।

अब सबै मिलेरै संविधानको कार्यान्वयन गर्नुपर्छ, त्यसपछि मुलुकमा समृद्धि आउँछ ।’ कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले सबै पार्टीलाई साथमा लिएर अघि बढ्न सक्नुपर्ने बताए ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले कांग्रेसलाई बल्ल चियापानमा भेटेको बताए । ‘अपोजिसन पार्टी कता हरायो भन्ने लागिरहेको थियो । आज सानेपामा आउँदा भव्यताका साथ चियापान कार्यक्रम गरिरहेको भेटेँ, मलाई खुसी लागेको छ’ उनले भने । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले चियापानमा फरक–फरक दलका प्रतिनिधिहरू भेटघाट गर्नु सकारात्मक संस्कृति भएको बताए । ‘यसले आफ्नोपन विकास गर्न सहकार्यको विकास गर्न सहयोग गर्छ’ उनले भने ।

चार नेताको नमस्कार

०३४ बाट निरन्तर चियापान कार्यक्रमको आयोजना गर्दै आएको नेपाली कांग्रेसले यस वर्ष पनि कांग्रेसले दसैँ, तिहार र छठको अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको हो । सत्तारूढ दल नेकपाले चियापान गरेको ६ दिनपछि कांग्रेसले आप्mनै पार्टी कार्यालयमा चियापानको कार्यक्रम गरेको छ ।

कांग्रेसका तत्कालीन सभापति बिपी कोइरालाले ०३४ सालमा चियापान कार्यक्रम सुरु गरेका थिए । स्वागतका लागि सानेपाको रिङरोडमा मुख्य प्रवेशद्वार बनाइएको थियो । प्रवेशद्वारसँगै कार्यकर्ता पनि आगन्तुकहरूलाई स्वागत गर्न खटेका थिए । कार्यक्रमस्थलको मुख्य मञ्चको आसपास केन्द्रीयस्तरका नेताले आगन्तुक र पाहुनाहरूलाई स्वागत गरेका थिए भने मञ्चको पहिलो ‘रो’मा रहेर चार शीर्ष नेताले शुभकामनाका साथै नमस्कार गर्दै स्वागत पनि गरेका थिए ।

पार्टी सभापति देउवा, वरिष्ठ नेता पौडेल, उपसभापति विमलेन्द्र निधि र सहमहामन्त्री डा.प्रकाशशरण महत कार्यक्रम सुरु भएदेखि अन्त्यसम्म उभिएर आगन्तुकलाई स्वागत गरेका थिए । चियापानमा भारतीय राजदूत मञ्जीव सिंह पुरी, सत्तारूढ दलबाट नेकपा अध्यक्ष दाहाल, महासचिव विष्णु पौडेल, प्रवक्ता श्रेष्ठ, नेताहरू खनाल, वामदेव गौतम, पम्फा भुसाल, राजपाका महन्थ ठाकुर सहभागी भएका थिए ।

विकेन्द्रीकरण चियापान

चियापान कार्यक्रमको ४१ वर्षे इतिहासमा कांग्रेसले यो कार्यक्रमलाई पहिलोपटक विकेन्द्रीकरण पनि गरेको छ । प्रत्येक वर्ष दसैँ, तिहार, छठजस्ता पर्वका वेला पार्टी केन्द्रीय कार्यालयमा हुँदै आएको चियापान कार्यक्रम यस वर्ष भने देशभर केन्द्रीय कार्यालय र ७३ वटा जिल्लामा एकैसाथ आयोजना गर्यो ।

४१ वर्ष अघिदेखि तत्कालीन नेता विश्वेश्वरप्रसाद कोइरालाले सुरुआत गरेको चियापान नेपाली कांग्रेसले निरन्तरता दिइरहेको छ । कोजाग्रत पूर्णिमाका दिन गर्दै आएको चियापान कांग्रेस नेता चक्र बाँस्तोलाको मृत्युका कारण १० दिनपछि सारिएको हो ।

प्रतिक्रिया